सुर्खेत, फराकिलो मतान्तरसहित गुलावजंग शाह नेकपा एमाले कर्णालीको प्रदेश अध्यक्ष निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाउँदा ३६९ मत ल्याएर शाहले अध्यक्ष जितेका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले भने चार मत मात्रै पाएका छन् ।
अरु पदमा पनि गुलावजंगकै प्यानलका उम्मेदवारहरुले जिते । उपाध्यक्षमा टेकराज पछाई र सचिवमा ध्रुव शाहीले प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराए । पछाइले ३४२ मत ल्याएर जित्दा प्रतिस्पर्धीहरु लालबहादुर महताराले १७६ र दानसिंह परियारले ५९ मत पाए ।
सचिवमा ध्रुव शाहीले ४०६ पाउँदा प्रतिद्वन्द्वी रुद्रबहादुर शाहीले १६९ मत पाए । कर्णालीमा गुलावजंग र मीनबहादुरले प्यानल बनाएर चुनाव लडेका थिए । गुलावजंगलाई स्थायी कमिटी सदस्य रहेका कर्णालीकै नेता यामलाल कँडेलले साथ दिएका थिए भने मीनबहादुरलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीकै साथ थियो । तर पार्टी अध्यक्षकै उम्मेदवार बनाएर प्रतिस्पर्धामा उत्रिएका मीनबहादुरको प्यानलबाट कुनैपनि पदाधिकारीले जित्न सकेनन् ।