spot_img

चिसोका कारण भूकम्पपीडितको मृत्यु हुनेकाे संख्या बढ्दैःसुत्केरी र गर्भवती ४ हजारको बास बारीमै अनि बेखवर प्रशासन

spot_img

जाजरकोट,अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आज विहान मृत्यु भएको हो । उनी हाल त्रिपासको साहरामा बस्दै आएकी थिइन् । आज विहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए ।

यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । चिसोका कारण पछिल्ले एक सातामा सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भइ गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ ।

सुत्केरी र गर्भवती ४ हजारको बास बारीमै
स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । यस्तै १३ सय ६० जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने ९ सय सुत्केरी छन् । अन्य पालिकाको तथ्यांक संकलनको क्रममै रहेको उनले बताइन् ।

रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पका कारण प्रभावित भएको कार्यालयका सूचना अधिकारी कालीबहादुर वलीले बताए । उनका अनुसार जिल्लाभर ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक भूकम्पबाट प्रभावित भएका छन् । ५ सय ९६ दीर्घरोगी र ५ सय १६ अपांगता भएका पनि समस्यामा छन् । सल्यानमा भूकम्पबाट ज्यादै प्रभावित दार्मा गाउँपालिका हो । पालिकाले भूकम्पबाट प्रभावित बालबालिका, गर्भवती र सुत्केरीको लगत संकलन जारी रहेको बताएको छ । तीन सयभन्दा बढी बालबालिका प्रभावित भएको अनुमान गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । उनका अनुसार १ सयको हाराहारीमा गर्भवती र सुत्केरी प्रभावित भएका छन् ।

भूकम्पका कारण घर भत्किएपछि जाजरकोटका झन्डै ६७ हजार परिवार घरबारविहीन बनेका छन् । त्यसमध्ये ३० हजार ४ सय १३ परिवारले राहतस्वरूप एक÷एक थान त्रिपाल मात्र पाएका छन् । एउटा त्रिपाल र कम्बलको भरमा मंसिरको चिसो रात कटाउन सास्ती भएको छ । ‘यस्तो ठिहिरोमा ५÷६ जनाको परिवार एउटा कम्बलको भरमा त्रिपालमुनि कसरी रात कटाउने ?,’ लुहादहस्थित आधारभूत विद्यालयका शिक्षक प्रकाश नेपालीले भने, ‘यो हिमपात हुने ठाउँ हो, रातभरि शीत चुहिन्छ, बिहान तुसारो जमिरहेको हुन्छ ।’ उनका अनुसार कतिपय भूकम्प प्रभावित त चिसो छल्न रातभरि आगो तापेर जाग्राम बस्न बाध्य छन् ।

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले हिमपात हुने ठाउँमा भूकम्प प्रभावितलाई चिसो थेग्नै मुस्किल भइरहेको बताए । ‘यहाँ पुस÷माघमा सधैं हिउँ पर्छ, यस्तो ठाउँमा एकसरो त्रिपालले कसरी चिसो धान्ला ?,’ उनले भने, ‘अधिकांश पीडितको पालमुनि पनि शीत चुहिन्छ, स्वस्थ मान्छे पनि एक रात त्रिपालमुनि सुते बिरामी हुने अवस्था छ, कसरी बचाउने ?’ उनका अनुसार सबैजसो वडामा झन्डै ५० देखि एक सय जना भूकम्पपीडित चिसोका कारण बिरामी परेका छन् । भूकम्प प्रभावितको उपचारका लागि सबै वडामा औषधिसहित प्रत्येक वडामा २ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गरिएको उनको भनाइ छ ।

चिसोका कारण गाउँगाउँमा भूकम्प प्रभावितहरू थलिन थालेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले पनि बताए । एकसरो लुगाको भरमा रहेका भूकम्प प्रभावितलाई रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन थालेको उनले सुनाए । भने, ‘पालिकाभरि झन्डै ४ हजार ३ सय घर भत्किएर बाहिर खुला स्थानमा बसेका सबैजसो परिवारमा स्वास्थ्य समस्या नभएका मानिस भेट्टाउनै मुस्किल भएको छ । त्रिपालैपिच्छे बिरामी छन् ।’ अध्यक्ष गिरीले आइतबारदेखि उनीहरूको उपचारका लागि प्रत्येक वडामा २ जनाका दरले स्वास्थ्यकर्मी खटाएको बताए ।

भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएको नलगाड नगरपालिकामा चिसोका कारण झाडापखाला, ज्वरो, रुघाखोकी बढिरहेको छ । नलगाड नगर अस्पतालका डा. विशाल उप्रेतीले अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आइरहेको बताए । भेरी नगरपालिका प्रमुख चन्द्रप्रसाद घर्तीले पनि बालबच्चा, गर्भवती र ज्येष्ठ नागरिकको त्रिपालको बसाइ कष्टकर बनेको बताए ।

जिल्ला अस्पताल प्रमुख डा. प्रतीक्षा भारतीले दैनिक एक सय जनासम्म बिरामी जिल्ला अस्पतालमा उपचारका लागि आइरहेको बताइन् । चिसोका कारण दीर्घरोगीको स्वास्थ्य अवस्था झन् बिग्रिँदै गइरहेको उनको भनाइ छ । ‘चिसोका कारण फोक्सो र मुटुका बिरामीलाई बढी समस्या देखिएको छ,’ उनले भनिन्, ‘बालबालिकामा पनि निमोनिया, ज्वरो र रुघाखोकीको समस्या पनि बढिरहेको छ ।’

उनका अनुसार अस्पतालमा आउने झन्डै ८० प्रतिशत बिरामी चिसोकै बि
रामी छन् । ‘जटिल अवस्थाका झन्डै २ दर्जन बिरामीको इमर्जेन्सीमा उपचार भइरहेको छ,’ उनले भनिन्, ‘तर औषधि र स्वास्थ्यकर्मी पर्याप्त भएकाले तत्काल आत्तिनुपर्ने अवस्था भने छैन ।’ कान्तिपुरमा खवर छ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img