रूपक कुलाल,धाे तराप डाेल्पा
डोल्पा भन्नेबित्तिकै आम नेपाली मष्तिष्कमा विकट कर्णालीको झल्को आइहाल्छ । त्यहाँको प्राकृतिक सौन्दर्य रस्वादन गर्नेहरु चैँ स्वर्गको एक टुक्रामै पुगेको अनुभूत पनि गर्छन् । डोल्पा क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला हो । समुद्री सतहबाट एक हजार तीन सयदेखि सात हजार छ सय २५ मिटर उचाइमा अवस्थित डोल्पा भौगोलिक र सांस्कृतिकरुपमा तल्लो डोल्पा र उपल्लो डोल्पा गरी दुई क्षेत्रमा विभाजित छ । संघीय संरचनाअनुसार डोल्पा आठ स्थानीय तहमा विभाजन गरिएको छ । उपल्लो डोल्पामा तीन वटा स्थानीय तहः शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्का ताङ्सोङ गाउँपालिका छन् । स्थानीय भाषामा यस क्षेत्रलाई ‘डाेल्पाे’ भनिन्छ ।
यसको अर्थ चारैतर्फबाट मानिस जम्मा हुनु हो अथवा प्रकृतिक स्रोतको भरिपूर्णता हो । विषम जलवायु र कठिन भूगोल भएकाले जाडो याममा यहाँको तापक्रम अधिकतम २० र न्युनतम माइनस ३० देखि माइनस ४० डिग्री सेल्सियससम्म पुग्दछ । भौगोलिक हिसाबले विकट भए पनि डोल्पाको प्राकृतिक सौन्दर्यसँग लुकामारी गर्न सालिन्दा स्वदेशी तथा विदेशी पर्यटक डोल्पा पुग्छन् ।

विशेष गरी पर्यटकको रोजाइको गन्तव्यमा डोल्पाको शे फोक्सुण्डो ताल र उच्च स्थानको मानव बस्ती धो तराप हुने गरेको छ । पछिल्लो समय धो तराप क्षेत्रमा जाने पर्यटकको संख्या बढिरहेको छ । धो तराप पुग्न डोल्पा सदरमुकाम दुनैबाट ३ दिन हिँड्नु पर्छ । धो तराप पुग्न सहज पटक्कै छैन तर रोमाञ्चक अवश्य छ । पहाडै पहाड हुँदै यात्रा, साँघुरो बाटो छिचोल्दै तीन दिन पैदल यात्राले लखतरान परेर धो तराप पुगिन्छ । पर्यटकहरु भने ५ दिनसम्म लगाउँछन् । राम्रो बाटो नहँदा यो बाटो भएर यात्रा गर्नेहरु जीवन नै हत्केलामा राखेर यात्रा गरेका महसुस गर्छन् । खाद्यान्नलगायतका सामान खच्चड, चौँरीबाटै ओसारपसारको विकल्प छैन ।
जीवन हत्केलामा राखेर जब धो तराप पुगिन्छ । अनि अनुभूत हुन्छ स्वर्गै पुगेजस्तो । आहा ! धो तराप । पृथ्वीलाई तलै छाडेर धर्तिमाथि बादलमा उडिरहेको भान हुन्छ धो तरापमा । पैदल यात्राको पीडा पनि भुलिन्छ । यो हो धर्तिको स्वर्ग उपनामले परिचित डोल्पाको धो तराप उपत्यका । समथर फाँट, लह–लह झुलेका उवाका बालाहरु, आफ्नै रहनसहनमा रमाइरहेका र कत्ति पनि पीडा अनुभूत नगर्ने ती कञ्चन र निर्दोष हसिला मान्छेहरु । शताब्दी पुराना गुम्वाहरु, वनमा चरिरहेका चौँरीगाई, कलकलाउँदो बस्ती नजिकैबाट छङछङ बगिरहेको खोला, जति हे¥यो त्यति हेरौँ हेरौँ लाग्ने सुन्दर हिमाली डाँडाहरुले जो कोहीको मन लोभ्याउँछ धो तरापमा ।
प्रकृतिको वरदान,तर अभावै अभाव
उपल्लो डोल्पा प्राकृतिक हिसाबले जति सुन्दर छ, पूर्वाधारका हिसाबले त्यति नै पछाडि पनि परेको छ । यस क्षेत्रको विकासका लागि सरकारको ध्यान जान नसकेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार पहिले धो तराप क्षेत्रमा नेपाली भाषा बोल्न नै समस्या थियो । अहिले पनि सीमित व्यक्तिले थारै मात्र नेपाली भाषा बोल्छन् । त्यस क्षेत्रमा बालीको रुपमा आलु र उवामात्र फल्छ । वर्षदिनसम्म खान नपुग्ने भएकाले यहाँका स्थानीय बहुमूल्य जडिबुटि यार्सा व्यापारबाटै जीवन चलाएको बताउँछन् । तर यार्साको पनि पहिलेजस्तो बजार नभएकाले जीवनयापनमै समस्या देखिएको छ ।

अभावै अभावमा संघर्ष गरिरहे पनि यहाँका बासिन्दा हिमालमा जन्मनु, हुर्कनु र यही माटोमा जीवन सकिँदा गर्व नै गर्छन् । यातायात, स्वास्थ्य, विद्युत् र सञ्चारबाट यहाँका जनता अहिले पनि वञ्चित छन् । तर चिनियाँ नाकाबाट नेपालसम्मको सडक बनेपछि सडक सञ्जालमा नजोडिए पनि धो तराप क्षेत्रमा चिनिया मोटरसाइकल हुइँकिरहेका छन् ।
राज्यको उपस्थिति नै निकै कमजोर छ यो क्षेत्रमा । सुरक्षाकर्मीहरु पनि ७ महिना मात्रै बस्ने गर्छन् । सुरक्षा व्यवस्था नभएकै कारण उपल्लो डोल्पाका बहुमूल्य पुराना मुर्ति चोरी भइरहेका छन् । कति मूर्ति चोरी भइसके अब बाँकी मूर्तिहरुको सुरक्षा कसरी गर्ने भन्ने यहाँका स्थानीयको चिन्ताको विषय बन्ने गरेको छ । सरकारले सुरक्षा प्रदान गरे गुम्बाहरुको मूर्तिहरु जोगिने स्थानीय बताउँछन् ।

भौतिक पूर्वाधार विकासमा सरकारले पहल नै गरेको देखिँदैन । यहाँका बासिन्दा अहिलेसम्म पनि नेपाल सरकारले नागरिकता दिने बाहेक अरु कुनै क्षेत्रमा सहयोग नगरेको आरोप लगाइरहेका छन् । डोल्पो क्षेत्रका स्थानीय अर्को देशको नागरिक जस्तो व्यवहार किन भनेर सरकारलाइ प्रश्न गर्छन् । मुलुक संघीयतामा गएर गाउँगाउँमा सिँहदरबार भनिय पनि यहाँका बासिन्दालाई सिंहदरबारको सेवासुविधाले आकर्षण गर्न सकेको छैन । सरकारले उपल्लो डोल्पाका बासिन्दालाइ राज्य भएको महसुस नै गराउन सकेको छैन ।
तस्वीरहरूः रूपक कुलाल




















