काठमाडाैँ, गत वैशाख २४ गते कैलाली प्रहरी प्रमुख भएर पुग्दा नेपाल प्रहरीका उपरीक्षक (एसपी) अनुपमशमशेर जबराले भारतबाट झोलीगुन्टा कसेर नेपाल छिर्नेको ताँती सम्हालेका थिए । भारतमा कोरोना महामारी बढ्दै गएपछि सीमावर्ती नाका हुँदै स्वदेश फर्किनेको भीड थेगिनसक्नु थियो । तर त्यो दृश्य एकाध महिनामै बदलियो ।एसपी जबराले त्यतिबेला सीमाको भीड सम्झिँदै भने, ‘त्यो बेला कैलालीका नाकाबाट मात्रै नेपाल छिर्नेको संख्या दिनहुँ सरदर साढे ५ हजार थियो ।’ नेपाल र भारतमा कोरोना संक्रमण तीव्र वृद्धि भइरहँदा अहिले सीमा नाकाको दृश्य ठ्याक्कै उल्टिएको छ । एसपी जबराले अहिले कैलालीबाट औसतमा सयदेखि डेढ सय जना नेपाल आइरहेका छन् । तर यो महामारीमा भारत जानको लर्को यसको दोब्बरजति रहेको एसपी जबरा बताउँछन् ।
कैलालीका सीमावर्ती क्षेत्र हुँदै भारत छिर्नेको लर्कोसँग ठ्याक्कै मिल्छ कञ्चनपुरको दृश्य पनि । कञ्चनपुरका एसपी मुकुन्द मरासिनी नेपाल–भारत सीमा नाकामा केही महिनाभित्रै बदलिएको दृश्य सम्झँदै तीनछक परे । उनले पछिल्लो तीन महिनाअघि र अहिलेको दृश्य ठ्याक्कै उल्टो भएको बताए । कञ्चनपुरका सीमावर्ती इलाका हुँदै पहिले नेपाल आउनेको लर्काे थियो । अहिले नेपाल छाड्नेको लर्को बढ्दो क्रममा छ । ‘सीमाबाट आउजाउ पूर्ण रूपमा निषेध हुँदा संक्रमणको त्रासले महाकाली नदीमा हेलिएर एक जना स्वदेश फर्किएका थिए, त्यो अवस्था पछिल्लो एकरडेढ महिनामै बदलिएको छ, रोजगारीलगायत विभिन्न कामका सिलसिलामा भारत जानेको भीड अहिले बढ्दो छ,’ उनले भने ।
२०७६ चैतमा बैतडीको डिलासैनी गाउँपालिका–१, कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री भारतमा संक्रमण फैलिँदै गएपछि नेपाल आउन खोजे । नाका सबै सिल भएकाले उनले प्रवेश पाएनन् । चार दिन भारतको धार्चुलास्थित सीमा क्षेत्रमा बसे । केही सीप नलागेपछि ज्यानको बाजी राख्दै महाकालीमा हेलिएर नेपाल छिरे । नाका सिल भएपछि सीमावर्ती इलाकाका करिब ३ दर्जनभन्दा बढी स्थानमा सुरक्षाकर्मीसँग झडप नै भएको थियो ।
पछिल्लो समय सीमा नाकामा फेरिएको दृश्यको एउटै कारण हो, रोजगारी र परिवारको लालनपालन । विगतका वर्ष चाडपर्व नजिकिँदै गर्दा स्वदेश फिर्नेको लर्को नाकामा हुन्थ्यो । अहिले दसैंरतिहारलगायत पर्व नजिकिँदै छन् तर सर्वसाधारण भने बाहिरिइरहेका छन् । यो बीचमा खर्चको जोहो गर्न कतिपय मानिस भारत गएको एसपी मरासिनीले बताए । महामारीका बीच भारत जानेमा सबैभन्दा बढी उताको आधारकार्ड, रोजगारी र दैनिक ज्यालादारी मजदुर तथा पेन्सनवाहकहरू रहेको उनको भनाइ छ । नाकाबाट आधारकार्ड, पेन्सनपट्टा, जागिरको पत्र भएकाबाहेकलाई आवश्यकता र औचित्य हेरेर मात्रै जान दिइएको उनको भनाइ छ ।
उनका अनुसार साउन ६ यता गड्डाचौकी नाका हुँदै ११ हजारभन्दा बढी र गौरीफन्टाबाट भदौ १२ पछि ८ हजारभन्दा बढी नेपाली भारत गएका छन् । महामारीकै बीच गड्डाचौकीबाट ३७ हजार २ सय १७ र गौरीफन्टा हुँदै १८ हजार १ सय ८९ जना भारतबाट फर्किएका थिए । कैलाली र कञ्चनपुरको तुलनामा बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट हुँदै आउजाउ गर्नेको संख्या भने कम छ ।
गत वर्ष फागुन २५ देखि असोज ४ गते साँझसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणको भयावह स्थितिमाझ भारतका विभिन्न ठाउँबाट ९ लाख १ हजार ६ सय ५ जना नेपाली स्वदेश छिरेका थिए । तीमध्ये सबैभन्दा बढी सुदूरपश्चिम, प्रदेश ५ र प्रदेश २ बाट आएका थिए । जेठ दोस्रो सातातिर त भारतबाट नेपाल छिर्नेको संख्या दिनहुँ औसत साढे दस हजारको हाराहारीमा थियो । सयौं किलोमिटर पैदल र जोखिमपूर्ण सवारी यात्रामार्फत भोकै प्यासै सीमामा आएर हप्तौंसम्म अड्किएपछि आएका नेपाली यति बेला भने तीन महिनाअघिकै झल्को सम्झाउने गरी लस्कर लागेर भारत फर्किरहेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सातै प्रदेशबाट संकलन गरेको आइतबार साँझसम्मको विवरणअनुसार भारतबाट फर्केकामध्ये झन्डै आधाजसो अर्थात् ४ लाख २१ हजार ८ सय ७५ नेपाली भारत फर्किएका छन् । फर्किनेको चाप सुदूरपश्चिम र प्रदेश ५ मा बढी छ । सुदूरपश्चिम र प्रदेश ५ को तुलनामा प्रदेश १ र २ बाट भारत फर्किनेको संख्या कम छ ।
कोरोनाको त्रासले स्वदेश फर्केकाहरू गाउँ–ठाउँमा गरिखाने मेसो नमिल्दा र खर्चको अभाव बढ्दै गएपछि फेरि उस्तै जोखिम मोलेर भारत फर्किन थालेका छन् । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बाट प्राप्त तथ्यांकअनुसार भदौ ५ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ७ हजार ४ सय ९४ नेपाली भारत गएको देखिन्छ । सीसीएमसी, प्रहरी र सशस्त्रबाट प्राप्त तथ्यांक केलाउँदा असारपछि घर फर्केका नेपाली फेरि घर खर्च टार्नदेखि नियमित रोजगारीका कारण पनि भारत जानेको लर्को छ । साउन महिनामा त्यो संख्या ह्वात्तै बढेको देखिन्छ ।
एक सातायता भारतमा दैनिक सरदर ९० हजारभन्दा धेरै कोरोना संक्रमित बढिरहेका छन् । तर नेपाली रोजीरोटीको खोजीमा महामारी र त्यसको जोखिम परवाह नगरी भारत गइरहेका छन् । भारतमा कोरोना संक्रमित र संक्रमणबाट मृत्युको दर दैनिक उच्च छ । आइतबार साँझसम्मको विवरणअनुसार सबैभन्दा धेरै अर्थात् २ लाख ८३ हजार १ सय ४५ जनाले सुदूरपश्चिम प्रदेशका विभिन्न नाका हुँदै भारत गएका छन् । जबकि फागुन २५ देखि असोज ४ सम्म सुदूरपश्चिम प्रदेशका विभिन्न नाका हुँदै २ लाख ८४ हजार हजार ५ सय ३१ जना फर्किएका छन् । सुदूरपश्चिममा फर्किने र भित्रिनेको संख्या बराबरी देखिन्छ ।
त्यस्तै प्रदेश १ का विभिन्न नाका हुँदै ३५ हजार ३ सय ४१, प्रदेश २ बाट २३ हजार ८ सय ३२ र प्रदेश ५ बाट ७९ हजार ५ सय ५७ जना मानिस भारत प्रस्थान गरेका छन् । यो अवधिमा प्रदेश १ बाट २ लाख २९ हजार ३ सय ६८, प्रदेश २ बाट ८१ हजार ४ सय ३ र प्रदेश ५ बाट २ लाख ९८ हजार ९ सय ४० जना भित्रिएका छन् ।
कैलालीका एसपी जबराले सुदूरपश्चिमबाट भारत जानेमध्ये धेरैजसो हिमाञ्चल प्रदेशमा स्याउ टिप्ने मौसमी काम गर्न गएको बताए । नेपाल–भारत करिब १ हजार ८ सय ८० किमि लम्बाइको सीमा रहेकामा अधिकांश खुला सिमाना छ । सुरक्षा निकायसँग भएको अभिलेख सुरक्षाकर्मी तैनाथ भएका नाकाको हो । पारि जानेको संख्या खुला सिमाना भएका कारण अझै बढेको हुन सक्छ ।
बदलिएको दृश्य
डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार कोरोना महामारी सुरु भएपछि भारतबाट ५ सय ६० जना गाउँमा फर्के । तीमध्ये कति भारत फर्के भन्नेबारे आफूहरूसँग जानकारी नभए पनि उनले छिमेकी गाउँपालिकामा भारतबाट फर्केकाहरू फेरि भारत नै फर्किन सुरु भएको खबर आफूले पाएको सुनाए ।
सीमावर्ती क्षेत्रमा खटिएका प्रहरीहरूका अनुसार जति धेरै जोखिम मोलेर र कष्ट उठाएर नेपालीहरू घर फर्केका थिए, त्यति नै कष्ट उठाएर भारत गइरहेको देखिन्छ ।
वैशाख १४ अघिको एक महिनामा मात्रै स्वदेश छिर्ने आसमा भारतका विभिन्न सहरबाट रोजगारी गुमाएर र कोरोना भयले फर्किएका २ सय ५५ जनाले जोखिमपूर्ण तरिकाले महाकाली नदीमा हेलिएर पनि नेपाल छिरेका थिए । त्यसरी महाकालीको पानीमा हेलिएकामध्ये कतिलाई प्रहरीले पक्राउ गरी अनिवार्य क्वारेन्टाइनमा राखेको थियो भने कतिपय प्रहरीको आँखा छलेर मूल बाटो छल्दै घरसम्मै पुगेका थिए ।
प्रहरीका अनुसार तिनै दिनको झल्को आउने गरी अहिले नेपालीहरू असाध्यै चर्को भाडा तिरेर दुर्गम गाउँबाट कैलाली र कञ्चनपुर झरिरहेका छन् । यसरी झरेकामध्ये धेरैजसोले संक्रमणबाट बच्न भौतिक दूरी पालना गर्ने, मास्क लगाउने र हात धुने वा सेनिटाइजर प्रयोग गर्नेजस्ता व्यवहार अपनाइरहेको देखिन्न । कञ्चनपुरको वनबसा नाकामा खटिएका एक प्रहरी हवल्दारले गाउँबाट भारत जान हिँडेकाहरूले दोब्बरभन्दा पनि बढी गाडी भाडा तिरिरहेको र तिनीहरू समूहमै लुकीछिपी होटलमा बस्ने गरिरहेको बताए । उनले भने, ‘खान, लाउनको दुःख भएपछि मान्छेले जस्तो पनि दुःख उठाउँदो रहेछ । कान्तिपुर दैनिकमा खवर छ ।