काठमाडौँ, कांग्रेस महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई स्थापित गर्नुपर्ने बताएका छन् । सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन् ।
उनले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए । कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिए । उनले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने बताए ।
’संघीय शिक्षा ऐनजस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्छ र त्यसमा नै कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भनेर। होइन भने विश्वविद्यालय माथि उठ्न सक्दैन,’ उनले भने ।उनले उच्च प्राथमिकतामा राखेर संसद्मा तत्काल, संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षणसमेत गराए ।