काठमाडाैँ,राष्ट्रिय सभामा प्रदेशहरूको न्यायोचित प्रतिनिधित्व र समावेशी चरित्र छ । तर, दलहरूले शक्ति मानकको थलो बनाउँदा विज्ञहरू भने यसपटक पनि अटेनन् ।
राष्ट्रिय सभामा अब माओवादी ः १८, कांग्रेस ः १६, एमाले ः १०, एकीकृत समाजवादी ः ८, जसपा ः ३, लोसपा ः १ र जनमोर्चा ः १
– राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम स्वतन्त्र सांसदको हैसियतमा छन् । राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ ।
– आयोगका अनुसार बिहीबार सम्पन्न निर्वाचनमा ९९.३२% मत खस्यो
– गठबन्धनलाई चकित पार्दै कोशीमा एमालेकी रुकमिणी कोइराला ९४ मतभारले विजयी, माओवादीलाई दोस्रोपटक ‘धोका’
– तीन स्वतन्त्र मेयर काठमाडौंका बालेन साह, धरानका हर्क राई र धनगढीका गोपाल हमाल मतदान गर्न गएनन्
१९ सिटका लागि बिहीबार भएको निर्वाचन परिणामले राष्ट्रिय सभाको शक्ति सन्तुलनमा व्यापक हेरफेर भएको छ । प्रतिनिधिसभामा तेस्रो शक्ति माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको छ । संसद्को पहिलो ठूलो दल कांग्रेस दोस्रो र एमाले तेस्रो भएका छन् ।
हाल राष्ट्रिय सभामा एमालेका १८, माओवादी १६, कांग्रेस १०, एकीकृत समाजवादी आठ, जसपा तीन, स्वतन्त्र दुई, लोसपा र जनमोर्चाका एक–एकजना छन् । तर, २० फागुनमा एमालेका नौ, कांग्रेस चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र एक बाहिरिँदै छन् ।
बिहीबार निर्वाचितमा कांग्रेसका १०, माओवादीका पाँच, एकीकृत समाजवादीका दुई, एमाले र जसपाका एक–एकजना छन् । यस आधारमा २० फागुनपछि राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी पहिलो, १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, आठ सांसदसहित एकीकृत समाजवादी चौथो, तीन सांसदसहित जसपा पाचौँ दल हुनेछन् । लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एकजना छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम स्वतन्त्र सांसदको हैसियतमा छन् । राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ । गठबन्धनबीच उक्त सिट जनमोर्चालाई दिने सहमति छ ।
प्रतिनिधिसभातर्फ भने कांग्रेस ८८ (प्रत्यक्ष ५६ ‘एक निलम्बित’÷समानुपातिक ३२), एमाले (प्रत्यक्ष ४४ ‘एक निलम्बित’÷समानुपातिक ३४), माओवादी (प्रत्यक्ष १८÷समानुपातिक १४), रास्वपा २१ (प्रत्यक्ष ८÷समानुपातिक १३), राप्रपा (प्रत्यक्ष ७÷समानुपातिक ७), जसपा (प्रत्यक्ष ७÷समानुपातिक ५), एकीकृत समाजवादी १०, जनमत (प्रत्यक्ष १÷समानुपातिक ५), लोसपा ४, नागरिक उन्मुक्ति ४, नेमकिपा, जनमोर्चा र आम जनता १–१, स्वतन्त्र २ र रिक्त एक सिट छ ।