काठमाडाैँ,प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा जनताका पक्षमा दर्बिलो रूपमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले सरकारको काम र पार्टीको नीतिबारे संसद्मा दर्बिलो रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
‘तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,’ प्रचण्डले निर्देशन दिँदै भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोसिस गरिएको छ । सरकारले राम्रा काम गरेको छ । यी कामका विषयमा सदनमा आफ्ना विषय सशक्त रुपमा राख्नुहोस् ।’
उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख पनि गरे । ती विधेयक सहमतिका टुंग्याउँदा सबैको हित हुने उनको भनाइ छ । उनले भने, ‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुंग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।’
आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी पनि उनले दिए । तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने उनले बताए । संघीय लोकतन्त्रिक गणतन्त्रको रक्षा र सुदृढ गर्दै जानुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, ‘यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।’