spot_img

प्रचण्डकाे संकेतःभीषण संघर्ष गर्ने अवस्था आउन सक्छ,केन्दीय समितिमा गरेकाे दमदार भाषणकाे अंश

spot_img

एकथरी मान्छेहरू बडो अराजक र अनैतिक तरिकाले १०० को वरिपरि केन्द्रीय सदस्य लिएर ११ सयको घोषणा गरेर जुन विचलन कम्युनिष्ट आन्दोलनमा देखा परेको छ र पदका निम्ति जता पनि दौडिने मान्छेहरूलाई आकर्षित गर्ने षडयन्त्र भएको छ, हामी त्यसलाई चुनौति दिन चाहन्छौं । पूर्वगुटतिर फर्काउने कुनै पनि षडयन्त्र हामीलाई मान्य छैन । त्यसका निम्ति जरुरी प¥यो भने सडकमा, अदालतमा, जहाँ पर्छ जान सक्छौं । भीषण संघर्ष गर्ने अवस्था आउन सक्छ ।

मैले अस्ति पनि यहाँबाट अपिल गरेको थिएँ, हाम्रा आधिकारिक संस्थाहरूलाई जसले यसका बारेमा फैसला गर्दैछन्, सर्वोच्च अदालत होस् वा निर्वाचन आयोग, हाम्रो अरु केही भन्नु छैन । हाम्रो संवैधानिक व्यवस्था, कानूनी व्यवस्थाअनुसार, हामीले निर्माण गरेका नियमअनुसार काम होस् । षड्यन्त्रको कुनै पनि डिजाइनसँग नर्तसियोस् । हामीलाई निश्पक्षरुपले हाम्रो संवैधानिक र कानूनी व्यवस्थाअनुसार फैसला भए पुग्छ ।

संविधानले कहिँ पनि प्रधानमन्त्री वा अरु कसैलाई संसद विघटन गर्ने अधिकार दिएको छैन । यो दिउँसोको घामजत्तिकै छर्लङ्ग विषयलाई पनि बडो जञ्जाल र प्रपञ्चभित्र हाल्न खोजिँदैछ । के यो देशलाई राजनीतिक अराजकताको भूमरीभित्र फसाउन खोजिएकै हो त ? फेरि, निरंकुशतातिर धकेल्न खोजिएकै हो त ?

संविधान निर्माण गर्ने पार्टीहरू, नेताहरू, संविधान निर्माणमा सक्रिय भूमिका खेल्ने संविधानसभाका सबै सदस्यहरूले भनिराखेका छौं– संविधान विघटन गर्ने प्रचलनले देशमा जुन राजनीतिक अस्थिरता र अराजकता आयो, विकास र समृद्धिको यात्रा अवरुद्ध भयो, त्यसको अन्त्य गरिनुपर्दछ ।

प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार दिनुहुँदैन भनेर विभिन्न विकल्पहरू बनाइएको छ । तर, त्यो विकल्पतिर जाँदै नगईकन विघटन गरियो । यहाँ आधिकारिक पार्टी छ, प्रतिवेदन, विधान, केन्द्रीय कमिटी छ । फेरि, अर्को प्रपञ्च पनि गरिँदै छ । यो त नांगो आँखाले सजिलै देख्न सकिने कुरा छ नि ।

हामी कोही पनि शान्तिपूर्ण राजनीतिबाट बाहिर जानेवाला त छैनौं । हामी कोही भूमिगत जानेवाला पनि छैनौं । हामी कोही हिंसामा जानेवाला पनि छैनौं । हामी फेरि यही काठमाडौंमै छौं । अझै माइतीघर मण्डलाको अगाडिपट्टि छौं, अहिले । हामीले बडो खुलस्तरुपले भनेका छौं, संविधानले कल्पनै नगरेको संसद विघटन भएको छैन । हामी विघटित भएका छैनौं । जनताले निर्वाचित गरेर प्रतिनिधिसभामा पठाएका सांसदहरू कोही पनि विघटित भएका होइनौं । केपी शर्मा ओली सरकारको मात्रै विघटन भएको हो । बडो सिधा छ कुरा ।

यस्तो सिधा कुरा बुझ्न हाम्रा अधिकारीहरूलाई गाह्रो भएको हो र ? बुझ्न नसकिने कुरा देखिएको हो र ? थुप्रै पूर्वप्रधानन्यायाधीशहरू, न्यायाधीशहरू, नागरिक समाजका प्रतिनिधिहरू, पत्रकारहरू, सबैले भनिराखेका छन्, यो असंवैधानिक छ, अलोकतान्त्रिक छ । सदनभित्रका प्रमुख राजनीतिक दलहरू हाम्रो पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी सबैले भनिराखेका छन् ।

आन्दोलन पनि खासै भएन, अब जे गर्दिए पनि हुन्छ भन्याजस्तो कोही कोहीले भन्छन् रे भनेको पनि सुन्छु । त्यसो भएकाले कमरेडहरु चिज अलि गम्भीर छ । यो सामान्य छैन । पद निम्ति, व्यक्तिगत स्वार्थका निम्ति, उता गए केन्द्रीय सदस्य पाइन्छ कि, उता गए मन्त्री पाइन्छ कि भन्ने कोहीकोही मान्छेहरु भइराख्न सक्छन् । तर, यो आन्दोलन हो । यो पार्टी हो । यो कम्युनिष्ट पार्टी हो । हामी एउटा लक्षसहित एकता भएका हौं । एउटा मिसन लिएर एकतावद्ध भएका हौं । यो देशबाट राजनीतिक अस्थिरताको पनि अन्त्य गर्ने, विकास समृद्धि पनि समाजवाद उन्मुख, दलाल नोकरशाही र पुँजीवाद उन्मुख होइन, समाजवादी मोडेल निर्माण गर्ने, समाजवादतर्फको यात्रा अगाडि बढाउने भनेर गरिएको एकता हो यो ।

हिजो युद्धको अनि शान्तिको । संविधानसभाको, संविधान निर्माणका बेलामा जे भूमिका खेल्ने अवसर मलाई प्राप्त भयो । मलाई र नेता हामी सबैलाई लाग्यो– शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धा, समाजवादतिरको यात्रा र नियम, कानून र विधिअनुसार चल्ने भन्ने प्रतिवद्धता गर्नेबेला आयो भनियो । र, यो राष्ट्रिय आवश्यकता हो भनेर एकता गरिएको हो ।

म कमरेडहरुसँग बडो विनम्रतापूर्वक भन्न चाहिरहेको छु– ठूलो धोका भयो । ठूलो बेइमानी भयो । ठूलो जालझेल र षडयन्त्र भयो । केन्द्रीय कमिटीको दोस्रो बैठक सफल भएपछि पटक–पटक पार्टी फुटाउने षडयन्त्र गरियो । यो यथार्थ हो । यो तथ्य हो । इतिहासमा यो दर्ज भइसकेको छ । पाँच मिनेट रोक्नुहोस्, म विकल्प लिएर आउँदैछु भन्दा, म आउँदैछु क्याबिनेटभन्दा अगाडि पार्टी बचाउने दुईवटा विकल्प लिएर आउँदैछु भन्दा ‘हुन्छ’ भनेर पनि हत्त र पत्त गएर विघटन किन गरियो ?

म पार्टीको कार्यकारी अध्यक्ष हुनुको नाताले पार्टी एकता बचाउन पटक–पटक गरिएको धेरै नै पीडा र अपमान सहेर भए पनि बच्नु, बचाउनुपर्छ, किनभने यो व्यक्तिको कुरा होइन । यो आन्दोलनको कुरा हो, यो राष्ट्रको कुरा हो, यो जनताको कुरा हो भनेर पहल गर्दैगर्दा अन्तिम समयमा जादुगरी तारिकाले संवैधानिक परिषदको बैठक भएको छैन, पदाधिकारी नियुक्ति गरेको पनि छैन भनेर स्थायी कमिटीका झण्डै ५० जना कमरेडहरुसँग झुट बोल्ने आवश्यकता किन प¥यो ? गरिसक्या रहेछन् नि त । अनि, अर्को अध्यक्षले म विकल्पसहित आउँदैछु, पार्टी विभाजन हुन दिन भएन भन्दाभन्दै गएर संसद् विघटन गर्न किन प¥यो ?

त्यसो भएको हुनाले यो सामान्य कुरा छैन । अहिले पनि शब्दजालभित्र, मैले यो कुरा त्यतिकै भनेको होइन, बुर्जुवाहरु विज्ञानपनमा, राम्रो लेभल दिनेमा, राम्रो अभिव्यक्ति दिनेमा सिपालु हुन्छन् । सर्वहाराहरु, श्रमजिवीहरु अलि भद्दा हुन सक्छन् । उनीहरुको रुपचाहिँ त्यति नमिल्न सक्छ । तर, उनीहरुको साहसचाहिँ पवित्र हुन्छ, इमान्दार हुन्छ र वैज्ञानिक हुन्छ ।

शब्दजाललाई सधैं छोप्न सकिँदैन । अहिले पनि बल गरिँदैछ । उहाँ (ओली) लाई बाध्य पारियो अरे संसद विघटन गर्न । संसद विघटन गर्नुपर्ने बाध्यता आफ्नै पार्टीभित्र थियो भने संसदमै गए हुन्थ्यो नि । मलाई यसो गरियो भने के हुन्थ्यो ? त्यता जाने लोकतान्त्रिक मार्गलाई अवरुद्ध गरेर, अपमान गरेर गर्न के खोजिएको ? जान कता पट्टि खोजिएको ? त्यसकारण कमरेडहरु, यो बैठक हामीजस्तो मोडमा बस्दैछौं । हामीलाई कुनै जालझेल र षडयन्त्र गर्नुछैन । हामी एकताका बेला पारित प्रतिवेदन र विधानअनुसार, कम्युनिष्टहरुको समाजवादी रणनीतिप्रति इमान्दार हुँदै, जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार हुँदै, जरुरी पर्छ भने फेरि जेलनेल खान पनि तयार भएर हामी अगाडि बढेको हो ।

तपाइँहरुलाई कत्तिको डर लाग्या छ, मलाई थाहा छैन । फेरि जेल जान तयार हो कि होइन ? मलाई त के लागेको छ भने योपटकको लडाइँ पनि चानचुने हुने छैन । यदि, यो प्रतिक्रान्तिकारी डिजाइनलाई असफल पार्ने हो भने हामीले कानूनी र मुख्यरुपमा सडकमा एकपटक फेरि जुझारु संघर्ष गर्नैपर्ने छ ।

पहिले त यो हाम्रो केन्द्रीय कमिटी हो । मानसिकरुपले र भावनात्मकरुपले नेपालमा प्रतिक्रान्ति हुन खोज्दैछ, अझै भइसकेको छैन । विधिचाहिँ भेन्टिलेटरमा पुगेजस्तो भएको छ । त्यसबाट फिर्ता ल्याउनका निम्ति हामी जस्तोसुकै त्याग गर्न पनि तयार छौं भन्ने संकल्प हामीले गरेका छौं । गर्छौं । फेरि सानो सानो कुरा, फेरि कच्याककच्याकमै लाग्छौं ?

आज हामीले संकल्प गर्नु छ । कमरेडहरुलाई अपिल गर्छु– मैले अहिले हाम्रो कुनै वैधानिक संस्थालाई आरोपित गरेको छैन । तर, मैले खबरदारी चाहिँ गर्न चाहेको छु । खबरदार ! संविधानको अपहरण नगरियोस् ।

सात दशक लामो लोकतन्त्रवादी, गणतन्त्रवादी, मार्क्सवादीहरु मिलेर गरेको संघर्षको परिणामबाट बनेको संविधानलाई अपदस्त गर्न खोजिएकै हो त ? विभिन्न जातजाति, क्षेत्र, वर्ग, लिङ्ग, समुदाय सबैको समावेशी लोकतन्त्र खोस्नै खोजिएको हो त ? विभिन्न प्रदेश र स्थानीय तहमा गएको सिंहदरबारको अधिकार खोस्नै खोजिएको हो त ?

यिनी सबै थाकिसके, बिग्रिसके, विचलित भइसके, यिनीहरुले केही गर्न सक्दैनन्, फेरि पुरानैतिर फर्काउन सकिन्छ भनेर निरङ्कुशतातिर फर्काउन खोजिएकै हो त ? यदि, त्यसो हो भने यसको मूल्य निकै चर्को पर्नेछ । हामीले जनयुद्ध, जनआन्दोलन, सशस्त्र र शान्तिपूर्ण आन्दोलनका धेरै चक्र पार गरेर आएका छौं । हामीले धेरै ठूलो त्याग र बलिदान पार गरेर आएका छौं । यो तीन सय वरपरको केन्द्रीय समिति मात्रै होइन । यो सात दशक लामो कम्युनिष्ट आन्दोलनको, क्रान्तिकारी र प्रगतिशील शक्तिहरुको तागतको केन्द्रीकरण हो ।

यहाँबाट जो गए, म सबैलाई आरोप त लागाउँदिनँ तर, जसको नेतृत्व भयो, जसले नेतृत्व गरेर पार्टीलाई विभाजित गर्ने ठाउँमा लग्यो, तिनीहरु आफैं इतिहासको रछ्यानमा मिल्काइनगयो मैले महसुस गरेको छु । त्यसकारण तिनको पछि नेपाली जनता हुन सक्दैनन् । नेपालका क्रान्तिकारी कम्युनिस्टहरु, नेपालका सामाजिक न्याय र समानमताका निम्ति लड्नेहरु कोही पनि तिनको पक्ष हुन सक्दैनन् । ढिलो छिटो सबै जाग्नेछन् । हामीले त्यसको नेतृत्व गर्न पर्नेछ ।

कमरेडहरु, त्यसकारण हामीले आज साँच्चै इतिहासको यो बिन्दुमा प्रतिक्रान्तिको सामना भएको छ, हाम्रा अगाडि, प्रतिगमनको सामना भइराखेको छ हामीलाई, हामीले निरकुशतन्त्र अढाइ सय पुरानो राजतन्त्रलाई हटाएर गणतन्त्रमा मुलुक ल्याएको हो । अधिकारको अति केन्द्रीकरणको अन्त्य गरेर हामीले संघीयता, स्वायत्ततता र नयाँ थिति कायम गरेको हो । नेपालका सबै जाति, उत्पीडत वर्ग, क्षेत्र, लिंग, समुदाय सबैको राज्यमा स्वामित्व होस् भनेर समावेशिताको एउटा नयाँ मोडेल हामीले प्रस्तुत गरेको हो ।

यो वाक्य मैले योबीचको संघर्षका बेलामा भनेँ– गोपालप्रसाद रिमालको कविता – कमाउने एउटा छ, खाने अर्कै छ । उब्जाउने एउटा छ, धनी पूर्जा सबै ‘ भन्याजस्तै बडो बृहतर राष्ट्रिय हित, बृहत्तर कम्युनिस्ट आन्दोलनको हित हेर्छौं भन्दा जानीजानी पनि यो संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको संविधानको जिम्मा हामीले यो ल्याउनका लागि त्यति गम्भीर प्रयत्न नगर्नेको हातमा गयो, दिइएछ क्या । दिइयो । यसको मूल्य हामीले कति चुकाउनुपर्ने हो, हेर्दै जाउँ । दिइयो ।

मैले भन्ने गर्छु– जन्माउने एउटा परियो गणतन्त्र जन्माउने नेतृत्व, कार्यकर्ता, लडाईं लड्ने सबै त्यो गणतन्त्रको जिम्मा गणतन्त्र विरोधीलाई दिइयो क्या ! हामीले भूल त्यहीँ ग¥यौं । सबै दिइएछ क्या फेरि ! प्रधानमन्त्री मात्रै दिन पाएको भए पनि कम दुःख पाइन्थ्यो होला, सबै बुझाइएछ । तर, हामीले हाम्रो विचारचाहिँ बुझाएका छैनौं । हामीले राजनीति बुझाएका छैनौं, एजेण्डा बुझाएका छैनौं । हामीले नेपाल राष्ट्र र नेपाली जनताप्रतिको हाम्रो जिम्मेवारी बुझाएको होइन । हामीले बृहत राष्ट्रिय एकताका लागि भनेर त्याग गरेको हो । फेरि एउटा त्याग गरेको हो, यसमा कमजोरी नठानियोस् ।

कमरेडहरु, संकल्पसहित भोलिदेखि आन्दोलनको जो कार्यक्रममा जाँदैछौं, त्यसमा अलिकति जुझारु बनाउन सकिएन भने संसद सजिलै, संविधानमा छैन, त्यसो भएर आइहाल्छ भन्न सकिने स्थिति छैन । अस्ति–अस्ति छलफल हुन्थ्यो, हामी लिडरहरुको बीचमा छलफल गर्थ्यौं, केही कमरेडहरु भन्नुहुन्थ्यो– संसद विघटन हुनै सक्दैन नि । कहीँ व्यवस्थै छैन नि । हामीले प्रष्ट ग¥या हैन, प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने भनेर ? कसले सक्छ भन्नुहुन्थ्यो, मलाई डर लाग्थ्यो ।

बामदेवजीले भन्नुभएको थियो क्या, स्थायी समितिको एउटा बैठकमा, मूर्खदेखि दैव डर‘ यो कस्तोखालको मान्छे प¥यो भनेर एकचोटि भाषण गर्नुभाथ्यो केपीजीका बारेमा । मलाई कहिलेकाहीँ यो मूर्ख ‘ के भन्न सकिन्छ र !

यो (संसद विघटन) बहादुरले गर्ने काम त होइन । मेरो विचारमा यो कायरले गर्ने काम हो । बहादुरले त बहादुरीपूर्वक संसदमा गएर ल ल्याउने हो त मेरो विकल्प भन्न सक्नपर्थ्यो नि । बहादुरी त त्यो हुन्थ्यो नि । अनि प्रतिक्रियावादीहरुको डिजाइनमा हाम्रो सार्वभौम संस्था विघटन गर्ने हदसम्मको कामलाई वीरता र बहादुरी त भनिँदैन । मूर्खता र कायरताबाहेक के भन्न सकिन्छ र !

तर, भइ त सक्यो पोलिटिकल्ली । हामीले भनिराख्या छौं छैन । संसदीय दलमा भन्या थिएँ, – हामीले मानेका छैनौं, हामी मरेका छैनौं भनेर भन्न पर्ने स्थिति आयो । मर्यो भन्या छ । मैले भन्या थिएँ, लखनउमा मैले देखेको– हम जिम्दा हे भनेर प्ले कार्ड लिएर हम जिंदा हे नारा जगाउँछन् के भएको होला भनेर बुझ्दाखेरि त सम्पति खानको लागि उनका नातागोताले मरेको प्रमाणित गरेर सम्पति जति सबै लगेको रहेछ । दुई तीन सय त्यस्ता मान्छेको जुलुस – हम जिंदा हे, हम जिंदा हे । मान्छे ज्युँदै छ, अड्डा अदालत गयो, तँ त मरिसक्या छस् भन्छ । कहिँ श्रेस्ता पनि छैन, केही पनि छैन ।

अब हामी यहाँ ज्युँदै केन्द्रीय समिति छौं । केन्द्रीय समिति हो कि होइन भन्याजस्तो । हामी ज्युँदै छौं भन्नपर्ने भयो भोलि गएर । हामी सिंगै ज्युँदै छौं, हामी केही भाको छैनौं भन्न पर्यो । हामी सांसद ज्युँदै छौं भन्नपर्ने स्थिति भयो । मेरो भनाइको तात्पर्य के हो भने, यो सामान्य छैन ।

तर, फेरि म के विश्वास व्यक्त गर्न चाहन्छु भने– तपाईं हामी यो पार्टीले, यो पार्टी अन्तर्गत रहेर हाम्रा जनसंगठनहरुले, हाम्रा तलसम्म भएका प्रदेश, नगरपालिका, महानगरपालिका, गाउँपालिकाका त्यहाँ रहेका पार्टी र हामी सबै संस्थाहरुले एकतावद्ध भएर दृढताका साथ अगाडि बढ्ने हो भने कुनै माइकालालको तागत छैन यो संविधान अपहरण गर्ने । म यो कुरा पनि भन्न चाहन्छु, असम्भव त छ । तर, हामीले जुझारु तरिकाले अगाडि बढेनौं भने खतराको घण्टी बज्छ ।

यो (संसद विघटन) बहादुरले गर्ने काम त होइन । मेरो विचारमा यो कायरले गर्ने काम हो । बहादुरले त बहादुरीपूर्वक संसदमा गएर ल ल्याउने हो त मेरो विकल्प भन्न सक्नपर्थ्यो नि । बहादुरी त त्यो हुन्थ्यो नि ।
त्यसकारण केन्द्रीय समितिको यो बैठकलाई गम्भीरतासाथ पहिलो चरणको आन्दोलनको कार्यक्रमले मात्रै पुग्छ भन्ने हामीलाई लाग्या छैन् । हामीले स्थायी समितिमा पनि छलफल ग¥यौं । हामी अलि जुझारु नै खालको जानपर्ने परिस्थिति छ । दोस्रो चरणको कार्यक्रम हामी योभन्दा जुझारु ढंगले, अलि दबावमूलक दिन जरुरी छ । नत्र सात दशक लामो हाम्रो संघर्षबाट प्राप्त भएको हाम्रो उपलब्धीमाथि प्रहार भएकै छ, कडा प्रहार भएको छ । प्रतिक्रान्तिले टाउको उठाउन खोजेकै छ ।

मैले पार्टीलाई अस्तिका दिन हामी सबै नेताहरु भएका बेलामा ३र४ वटा कुरा राखेको छु । एउटा त हामी सबै माननीय सदस्यहरुले हस्ताक्षर गरेर, त्यसो गर्दा झण्डै २ सय हस्ताक्षर हामीले जम्मा पार्न सक्ने अवस्थामा हामी रहेछौं । त्यो हस्ताक्षर लगेर सर्वाेच्च अदालतलाई निवेदन दियो भने त्यसले एउटा अर्थ राख्छ । अत्यधिक बहुमतचाहिँ यसको खिलापमा छन् भन्ने कुराको राष्ट्रिय अन्तराष्ट्रियरुपमा बुझिने प्रमाण हुन्छ । हामीले आ–आफ्नो ढंगले गर्ने कार्यक्रम त छँदैछ, गरौं । संयुक्तरुपले गरिने कार्यक्रम पनि गरौं । संयुक्तरुपले गर्ने कार्यक्रमले दिने सन्देश अर्काे हुन्छ, त्यो गरौं । अर्काे, आउने दिनमा हामी यो पार्लियामेन्टलाई कसरी लैजाने र सरकार कसरी गठन गर्ने र कसरी अघि बढाउने भन्ने बारेमा पनि सोच्न थालौं । मैले यी तीन चारवटा कुरा राखेको छु र पार्टीहरूले यसलाई आ–आफ्नो केन्द्रीय समितिमा राखेर आ–आफ्नो ढंगले निर्णय गरेर अघि बढ्ने भन्ने कुरा भएको छ ।

म ती पार्टीहरूलाई पनि यो मञ्चबाट गम्भीरताका साथ अपिल गर्न चाहन्छु, यो कुनै, हुन त यो भन्दाखेरि कुनै क्षेत्र वा लिंगका लागि अनुकुल नहोला । बुढा म¥यो भन्ने भन्दा पनि काल पल्कियो भन्ने चिन्ताको विषय हो । यो काल पल्किने कुरामा सबैजना सतर्क हुनु जरुरी छ ।

यो अब कम्युनिस्ट पार्टी फुट्यो, अब चुनाव हामीले चित्छौं र अब हामी मजाले खान्छौं भन्ने सोचियो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ । मैले भनेको छु । किनभने यो नजिर स्थापित भयो, यो संविधानअनुसार पनि प्रधानमन्त्रीले मनखुसी तरिकाले संसद विघटन गर्न सक्छ भन्ने नजिर स्थापित भयो भने, भोलि निर्वाचित भइहालियो भने पनि‘. ।

पहिलो कुरा त निर्वाचन हुने भन्ने कुरा नै ठूलो अनिश्चयको भूमरीमा गई नै सक्यो । त्यसैले निर्वाचनमा निर्वाचित भइहालिन्छ, के गर्नुप¥यो र भन्ने सोचाइ नै हाम्रो नादानी हुन्छ भनेको छु मैले साथीहरुलाई । त्यो कहाँ त्यति सजिलै हुन्छ ? यो एउटा डिजाइनमा छिरिसकेपछि र गइसकेपछि त कहाँ निर्वाचन हुन्छ र ? त्यसकारण त्यतातिरबाट सोच्ने होइन ।

त्यसकारण, भएको वा हुँदाखाँदाको संसदलाई जिउँदो हो भनेर स्थापित गरियो भनेदेखि मात्रै भोलि त्यस्तो नजिर दोहोरिँदैन । अन्यथा नजिर यस्तो बस्छ कि जो प्रधानमन्त्री हुन्छ, उसलाई अलिकति अप्ठ्यारो प¥यो कि उसले संसद भंग गराइदिन्छ । उसलाई संसदमा जानु पनि परेन, विकल्प खोज्नु पनि परेन । त्यसकारण हामी बेलैमा सचेत भएर यो रोगको निदान खोज्नुपर्छ भनिएको छ ।

मलाई विश्वास छ अरु पार्टीहरुले पनि गम्भीर छलफल गरेका छन् । उनीहरुभित्र पनि गम्भीर बहस भइरहेको हामीले थाहा पाइरहेका छौं । म अपिल गर्न चाहन्छु– इतिहासको यो मोडमा हामीले जसरी युद्धलाई शान्तिमा ल्याउन भूमिका खेल्यौं, जसरी विस्तृत शान्ति सम्झौता हुँदै संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याउन हामीले सहकार्य ग¥यौं । यसको रक्षाका लागि यही गम्भीरताको साथ सहकार्य गर्न म नेपाली कांग्रेस, जसपा र सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार सबैसँग यो मञ्चबाट अपिल गर्न चाहन्छु ।

हिजो हामीसँगै लडेका साथीहरु, जो अहिले विभिन्न ठाउँमा छरिनुभएको छ । उहाँहरुलाई पनि इतिहासको यो घडीमा हामीले यो चुनौतीको रक्षा गर्नका निम्ति एकजुट हुन अपिल गर्न चाहन्छु । हाम्राबीचका अरु मत मतान्तर इतिहासमा हुन आँटिरहेको प्रतिक्रान्तिका अगाडि केही पनि होइन । यसकारण हामीले त्यसरी जानु छ । यस चरणको आन्दोलन पनि हामीले युद्धस्तरमा अघि बढाउनु छ । अरु सबै युद्धहरु हाम्रा लागि सहायक हुन् । संगठनलाई जीवित तुल्याउने र आन्दोलनलाई सशक्त बनाउने कुरा र यो डिजाइनलाई असफल पार्ने कुरा सर्वाधिक प्रमुख जिम्मेवारी हो हाम्रो, हाम्रो पार्टीको ।

त्यसैले कामरेडहरु, दिमागमा कुनै पनि किसिमका बोझहरु छन् भने हटाइदिनु । यो प्रतिक्रान्तिको खतरालाई चाहिँ हामीले जसरी पनि रोक्नु छ । यसलाई हामीले रोक्न सक्यौं भने इतिहासमा हामीले फेरि एउटा नयाँ कीर्तिमान कायम गर्ने पार्टीका रुपमा, आन्दोलनका रुपमा र कार्यकर्ताका रुपमा हाम्रो गौरव प्राप्त हुनेछ । म यही अपील अलि गम्भीरताका साथ राख्न चाहन्छु ।

आन्दोलनको यहाँ हामीले जसरी घोषित गरेका छौं, हिजोका मन्त्रीहरु एवं स्थायी समितिका साथीहरुलाई पनि आ–आफ्नो प्रदेशहरुसँग जोडिएर आन्दोलन गर्ने टीम हामीले बनाइसकेका छौं । ती कामरेडहरूलाई र जिल्लामा पनि यसको नेतृत्व गर्ने टिम बनाउने प्रस्ताव यहाँ जसरी गरिएको छ, ती कमरेडहरुलाई सबै जनसंगठन र हाम्रा सबै संस्थाहरुलाई पनि इतिहासको यो घडीमा अरु सबै कामलाई थाती राखेर यो प्रतिक्रान्तिलाई रोक्ने र क्रान्तिका उपलब्धिको रक्षा गर्ने काम हाम्रा लागि ‘लाइफ एण्ड डेथ’ हो भन्ने बुझाउनका लागि अपील गर्छु ।

फेरि अन्तिममा, केन्द्रीय समितिको यो बैठक ऐतिहासिक घडीमा सम्पन्न हुँदैछ । सम्पन्न करिब भयो । हामीले एकताका बाँकी कुरा छिटै टुंग्याउनु पनि छ । तर, पहिला फेरि पनि यो प्रतिक्रान्तिको खतरालाई रोक्नु छ । त्यसमा केन्द्रीय समितिको यो बैठक र यसले दिएका निर्णय व्यवहारमा उतार्नको निम्ति आ–आफ्नो ठाउँमा हिजो चाहे पञ्चायतविरोधी आन्दोलनमा होस्, चाहे राजतन्त्रविरोधी आन्दोलनका क्रममा होस्, चाहे जनयुद्धमा होस्, चाहे जनआन्दोलनमा होस्, मधेस आन्दोलन, जनजाति एकता आन्दोलन नै किन नहोस् । यी तमाम आन्दोलनहरु जे जति हामीले लड्यौं, अब त्यस्ता उपलब्धिको रक्षा गर्न त्योभन्दा कैयौं गुणा सक्रियता चाहिन्छ । कैयौं गुणा बढी त्याग गर्न तयार हुनुपर्ने खाँचो छ ।

मैले यो संघर्ष गर्दै गर्दा हामीले त्यतिबेला सचिवालयका पाँचजना कामरेडसँग छलफल गर्दै प्रस्ताव तयार पार्दैगर्दा मैले के सोचेँ भने अढाइ वर्षका तीता, मीठा, पीडा, अपमान, हीनताको विरुद्ध विद्रोहको प्रस्ताव गरेको हुँ । मैले कस्तो फिलिङ गरेको थिएँ भने हिजो क्रान्तिकारी र अवसरवादी भनेर कहिलेकाहीँ भनेर पढ्थ्यौं, मैले नेकपामा यो प्रस्ताव तयार पार्दै गर्दा ‘. नै हो कि यो ? भन्नेजस्तो फिलिङ । यसको असर कति ठूलो रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा फैलिएला भन्ने गर्दैगर्दा अहिले यहाँ आउँदा त विल्कुल ठीक गरिएछ ।

यो मौकामा सत्यलाई स्थापित गर्ने र उद्घाटित गर्ने साहस सचिवालयको टीमले गरेछ । नत्र त हामीलाई मन्द विष पिलाएर मार्न पो खोजिएको रहेछ । अहिले मलाई त्यस्तो महसुस भइरहेको छ ।

त्यसैले कामरेडहरु, अहिलेको यही स्पिरिटमा जाऔं । हामी चरणवद्ध कार्यक्रम, अर्काे चरणको कार्यक्रम अघि प्रवक्ताज्यूले पनि भन्नुभयो, हामी अलि सशक्तै हिसाबले जाऔं । नेपालबन्दसम्मै पनि पुग्न सक्छौं । तर, कडा कार्यक्रममा नगएसम्म हुँदैन । होइन भने हामी क्रान्तिकारी रहँदैनौं । हामी कम्युनिस्ट रहँदैनौं । हामीले हाम्रा उपलब्धिहरुको रक्षा गर्न सक्दैनौं । साहस गरौं, दिमागका गाँठाहरु सबै फुकाऔं । हाम्रो यो अहम र प्राथमिक काम हो । हामी एकजुट होऔं, केन्द्रित होऔं र दृढ होऔं ।

यही अपील गर्दै यो ऐतिहासिक बैठक यही सम्पन्न भएको घोषणा गर्दछु । अनलाइनखवरबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img