spot_img

सहज छैन यार्चा टिप्नः कर्णालीमा मात्रै ३ वर्षमा ३९ र यस वर्षमात्रै १२ जनाले गुमाय ज्यान,गरिविका कारण मृत्यु अगाल्न बाध्य

spot_img

काठमाडाैँ,कर्णालीमा यार्चा टिप्ने सिजन सुरु भइसकेको छ । जीवन बुटीका रूपमा चिनिने यही यार्चा टिप्न जाँदा भने धेरैले ज्यान गुमाउनुपर्ने तितो यथार्थ पनि उत्तिकै दर्दनाक छ ।

जीवनबुटीको खोजीमा ज्यानकै जोखिम

केही दिनअघि मात्रै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोतामकोट, विष्टगाउँकी २२ वर्षीया जमुना विष्टले पनि ज्यान गुमाएकी थिइन् । जेठ दोस्रो साता यार्चा संकलनका लागि डोल्पा हिँडेकी जमुनाको यार्चा टिप्न पाटन नपुग्दै काइके गाउँपालिकाको लैनीडाँडामा लेक लागेर ज्यान गयो । ‘गाउँबाट २ दिन हिँडेर त्यहाँ पुगेका थियौं, दिदीलाई लेक लागेपछि घरतर्फ फर्काउने बेला ज्यान गयो,’ दिदीसँगै यार्चा टिप्न हिँडेकी सरस्वतीले भनिन्, ‘यार्चा टिपेर घर खर्च चलाउँला भनेर गएका थियौं । न यार्चा टिप्न पाइयो न दिदीको ज्यान बच्यो ।’

यार्सा टिप्न पाटन पुगेकाहरूको मृत्युको शृंखला यत्तिमै सकिंँदैन । यार्चा टिप्न मुगुको मुगमकार्मारोङ गाउँपालिकाको पाटन पुगेका ४ जनाको पछिल्लो साता लेक लागेर ज्यान गयो । जसमा छायानाथ रारा नगरपालिका–१२ शोभागाउँका २९ वर्षीय मुनबहादुर बुढा, कम्फागाउँका २१ वर्षीय सोबान बुढा र २४ वर्षीय राजबहादुर सावत थिए । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मुगुकै पाटनमा पुगेका जुम्लाको पातारासी गाउँपालिका–३ का २६ वर्षीय सुर्ज रावतको पनि लेक लागेर ज्यान गुमेको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार लेक लागेर सिकिस्त परेका दुई जनालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यस वर्ष यार्चा टिप्न गएकामध्ये मुगुमा ६ र डोल्पामा ६ गरी १२ जनाले ज्यान गुमाएका छन् भने झन्डै १ सय यार्चा संकलक बिरामी परेका छन् । प्रदेश प्रहरीका अनुसार तीन वर्षको अवधिमा यार्चा टिप्ने क्रममा कर्णालीमा ३९ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना महामारीका बेला झन्डै २ वर्ष यार्चा संकलनमा प्रतिबन्ध लगाइए पनि त्यसअघि बर्सेनि १५ जनासम्मको ज्यान गएको प्रहरीको तथ्यांक छ । तीन वर्षको अवधिमा यार्चा संकलनका क्रममा जाजरकोटका ८, मुगुका १०, डोल्पाका ९, रुकुम पश्चिम र जुम्लाका ६–६ जनाले ज्यान गुमाइसकेका छन् ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारले यार्चा संकलकहरू नफर्कंदासम्मै ज्यानको जोखिम भइरहने बताउँछन् । ‘बाँदर लड्ने भीर छिचोल्दै पुग्नुपर्ने बाध्यता छ, त्यसमा पनि उचाइका कारण अधिकांश दीर्घरोगी, बालबालिका र महिला त बाटैमा मृत्युवरण गर्छन्,’ उनले भने, ‘पाटनमा पनि हिउँमै टेन्ट टाँगेर बास बस्नुपर्छ, बिरामी परे उपचारको व्यवस्था हुँदैन । कि हेलिकोप्टर चार्टर्ड गर्न सक्नुप¥यो, नत्र मृत्यु कुर्नुको विकल्पै छैन ।’

यार्चा संकलन गर्न पाटन पुगेकाहरूको मृत्यु भएका कैयौं परिवारको बिचल्ली त्यस्तै छ । गत वर्ष रुकुम पश्चिम आठबिसकोट–१ खदीका १९ वर्षीय कृष्ण नेपाली जेठ पहिलो साता यार्चा खोज्न डोल्पा पुगेका थिए । घरखर्च र पढाइखर्च जुटाउन पाटन पुगेका कृष्णले त्यहीं ज्यान गुमाए । जेठो छोराको मृत्युपछि यतिबेला शारीरिक रूपमा अशक्त बाबु वीरजित र ३ भाइको बिचल्ली छ । ‘१ रोपनी पाखोबारीमा लगाएको अन्नपातले परिवारलाई १ महिना पनि खान पुग्दैन,’ वीरजितले भने, ‘परिवारको आडभरोसा नै बितेपछि अशक्त भए पनि मजदुरी गर्नु परिरहेको छ, तैपनि खर्च कहिल्यै पुग्दैन ।’ यस्तै अवस्था बझाङको सुर्मा गाउँपालिका–१, विछाडाका प्रेम बोहराको पनि छ । २०७९ सालमा ब्यासीमारे हिमालमा गएको पहिरोमा परेर उनकी श्रीमती सिन्की बोहराको मृत्यु भयो । त्यसको एक वर्षअघि यार्चा टिपेर फर्किने क्रममा उनकी १३ वर्षीया छोरी कविताको अगाड खोलाले बगाएर ज्यान गएको थियो ।

निम्न आर्थिक अवस्था भएका प्रेम परिवारमा भएको लगातारको दुर्घटनाको शोकले विक्षिप्त छन् । ‘नजाऔं भने यार्चाकै कमाइले परिवार पाल्नुपर्छ । कमाइखाने अरू बाटो छैन,’ उनले भने, ‘जाउँ सालसालै ज्यान जान लाग्या । परार छोरी मरी, अहिले जोई (श्रीमती) मरी । मेरो त परिवारै यार्चाले लुट्यो ।’ श्रीमती र छोरी गुमाएका प्रेमले १६ र ८ वर्षका दुई छोरा र ११ र ४ वर्षकी दुई छोरी हुर्काउन समस्या भइरहेको बताए ।

यार्चा खोज्न गएका जाजरकोटको बारेकोट–६ धुमाका १८ वर्षीय रमेश चलाउनेको पनि पाटनमै ज्यान गएको थियो । वीरेन्द्र ऐश्वर्य मावि लिम्साबाट ११ कक्षाको परीक्षा दिएका उनी पढाइखर्च जुटाउन त्यता गएका थिए । गरिबीका कारण उच्च हिमाली क्षेत्रमा जोखिम मोलेरै यार्चा टिप्न जानुपर्ने बाध्यताले गर्दा भाइले ज्यान गुमाउनुपरेको प्रदीपले बताए । ‘यार्चाले हामी विपन्नको रोजीरोटी मात्र जुटाएको छैन, बर्सेनि ज्यान पनि लिइरहेको छ,’ उनले भने, ‘भाइको मृत्युपछि कोरोनाअघि म पनि बर्सेनि पाटन जान्थें तर अहिले त्यही घटनाले पिरोल्दा जान सकेको छैन ।’

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका महासचिव नरबहादुर नेपालीले यार्चा खोजेर कमाइ गर्न जाँदा पाटनमा ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको बताए । भने, ‘गरिबी, कृषि उत्पादनले वर्षभरिको खर्च नपुग्नु, बेरोजगारीलगायत बाध्यताका कारण यहाँका बच्चादेखि बुढाबुढीसम्म ज्यान हत्केलामा राखेर यार्चा खोज्न जान बाध्य छन् ।’ घरव्यवहार चलाउन र बालबालिकाको पढाइ खर्च जुटाउन उच्च जोखिम मोलेर बर्सेनि पाटन जानुपरेको जुम्लाको तातोपानी गाउँपालिका—३ की देउसरा बुढाले बताइन् । ‘एक महिना यार्चा खोजेको कमाइले वर्षभरिको खर्च टर्छ,’ यसै साता यार्चा टिप्न मुगुका पाटन जाने तयारीमा रहेकी उनले भनिन्, ‘यार्चा खोज्ने क्रममा कतिले उतै ज्यान गुमाउँछन्, कति बिरामी परेर फर्कन्छन् ।’ बझाङको सुर्माका दिलीप बोहरा यार्चा टिप्न जानुलाई मृत्युसँग जुध्न जानुसँग तुलना गर्छन् । भन्छन्, ‘आम्दानीको अरु माध्यम छैन । बाँचे एक वर्षलाई परिवार पाल्ने खर्च आउँछ, म¥यो भने कहानी खत्तम ।’

यस वर्ष डोल्पाका कागमारा, फूलबारी, धो, ताक्सी, सिसोल, नावरपानी, मुगुको कोइकी, रिमार, टाँकेलगायत पाटनमा झन्डै १५ हजार यार्चा संकलक पुगेको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठका अनुसार कतिपय संकलक अझै बाटोमा रहेकाले यकिन तथ्यांक अझै आएको छैन । गत वर्ष मुगु र डोल्पाका पाटनमा झन्डै ३३ हजार संकलक गएका थिए । ‘सिजन भर्खरै सुरु भएकाले कतिपय संकलक बाटोमै छन्,’ उनले भने, ‘स्थानीय तहमार्फत तथ्यांक संकलनको काम भइरहेको छ ।’ जेठ दोस्रो साताबाट यार्चा संकलनका लागि कर्णालीका पाटनहरू खुला गरिएका हुन् । विद्यार्थी पढाइ खर्च जुटाउन पाटन उक्लिएपछि मुगु, डोल्पा, जुम्ला, रुकुम पश्चिम, जाजरकोटलगायतका जिल्लाका ग्रामीण भेगका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ । कान्तिपुरमाे सहयाेगमा तयार पारिएकाे रिपाेर्ट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img