झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो । प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए । केवलकार निर्माण गर्ने निर्णय खारेजीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
पाथीभरा देवीको मन्दिरसम्म पुग्ने केबलकार निर्माण रोक्नुपर्ने मागसहित आन्दोलनरत संघसस्था र समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले सडक ठप्प पारेका छन् भने बजारमा समेत बन्दको प्रभाव देखिएको छ। माघ १० गते आन्दोलनरत समूहलाई सशस्त्र प्रहरीले गोली चलाएको विरोधमा माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात अवरुद्व गर्दै आएका आन्दोलनरत समूहले आइतबार अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेका हुन् ।
बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी र धनकुटा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रका मुख्य राजमार्गसँगै सहायक र भित्री सडकमा समेत बिहानैदेखि गाडी गुडेका छैनन् । पहाडी जिल्लामा बिहानैदेखि यातायात र ढुवानीका साधन ठप्प छन् भने झापाको विर्तामोड र सुनसरीको इटहरी लगायतका ठूला बजारमा आन्दोलनकारीले झण्डासहित सडकमा निस्केर बन्द गराइरहेका छन् । बन्द गराउने क्रममा प्रहरीले झापाको दमकबाट पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बूलाई आज बिहानै पक्राउ गरेको छ ।
पाथीभरा मन्दिरमा केबलकार निर्माण गर्ने ठेक्का पाएको प्राइभेट लिमिटेड कम्पनीले काम सुरु गरेपछि त्यो क्षेत्र अशान्त बनेको हो । पछिल्लो समय केबलकार निर्माण प्रक्रियालाई सघाउन तल्लो फेदी नजिक सशस्त्र प्रहरीको टुकडी स्थापना भएपछि पटक –पटक झडप भएका छन् । पछिल्लो पटक भएको झडपमा घाइते भएका आन्दोलनकारीको उपचार तथा पक्राउ परेकाहरुलाई रिहाइसँगै पाथीभरा क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गरी केबलकार निर्माण प्रक्रिया स्थगित गर्न माग गर्दै बन्दको आह्वान भएको हो । माघ २२ गते सम्ममा पनि मागको सम्वोधन नगरे आमहड्ताल गर्ने तयारी भइरहेको आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष सागर केरुङले बताए ।
आदिवासी जनजाति महासंघ, किराँत याक्थुङ चुम्लुङ, १ नम्वर प्रदेश पुनः नामाङ्कन संघर्ष समिति लगायतका संघ संस्था केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलनमा छन् । केबलकार निर्माण गर्दै प्रकृतिमाथि दोहन हुनका साथै त्यहाँको सांस्कृतिक सौन्दर्य गुम्मने आन्दोलनकारीको भनाइ छ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने उल्लेख छ । साथै मन्त्रालयले आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग अपिल गरेको छ ।