काठमाडौँ,नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ । मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
यस्तै गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिएको छ । यस्तै लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा यथावत् राखिएको छ । सचिव लिलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि पोखरेल मधेस प्रदेशको इन्चार्ज थिए ।यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् । महासचिव माथिका पदाधिकारीले भूगोलको जिम्मा नलिने नीतिगत निर्णय गरेको पनि माओवादीले जनाएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको भेला गर्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । १२३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी माओवादीले नेतृत्व गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान चलाउने भएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले झापाको कचनकवचबाट अभियान सुरु गर्ने निर्णय गरेको हो ।
हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरेको उनले बताए । ‘पार्टीले हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्नेछ । यस्तै पार्टीले जितेका १२३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ’, बैठकपछि सापकोटाले भने । पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमको मध्य पहाडी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै सक्रिय राजनीतिमा फर्किएका छन् ।यही पुस २१–२४ मा बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी संगठनलाई उत्पादनमा केन्द्रित गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सोमबार बसेको माओवादी पदाधिकारी बैठकले पुनलाई आर्थिक तथा उत्पादन विभागको जिम्मा दिएको हो ।
यसअघि पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी भए पनि उत्पादन विभागको जिम्मेवारीमा ल्याइएको हो । उनी पदाधिकारी बैठकमा भने आमन्त्रित सदस्यका रूपमा उपस्थित हुँदै आएका छन् । माओवादीभित्र पूर्वउपराष्ट्रपति पुनलाई पार्टी राजनीतिमा पुनः भित्र्याउने विषयमा विवाद भए पनि पदाधिकारी बैठकले भने उत्पादन विभागको जिम्मेवारी दिएको हो ।