spot_img

अन्तरजातीय बिहे गर्नेलाइ कानुनमा प्राेत्साहन तर व्यवहारमा अपराधःअन्तरजातीय विवाहको विवादले रुकुम पश्चिममा ४ वर्षअघि ६ युवाको हत्या देखि सत्येन्द्र र नेहासम्म त गृहमन्त्री लेखक र प्रहरीकै भुमिका संकास्पद

spot_img

अन्तरजातीय बिहे गर्ने सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारमाथि राज्यसंयन्त्रको दुरुपयोग गरेर अत्याचार गर्न निर्देशन दिने गृहमन्त्री रमेश लेखक र आइजिपी वसन्तबहादुर कुँवरमाथि छानबिन गरी कारबाही गर्न संसद्मा आवाज उठेको छ । सडकका आन्दोलनकारीले कांग्रेस केन्द्रीय कार्यालयमै पुगेर गृहमन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले जातीय विभेद निरुत्साहन गर्ने दायित्व रहेको राज्यसंयन्त्र र गृहमन्त्री लेखकको भूमिकाप्रति गम्भीर आपत्ति जनाए । बिहीबार पनि सांसदहरूले यो मुद्दा उठाएका थिए । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरविरुद्ध छानबिनको माग गरे । माओवादी सांसद नारायणी शर्माले अन्तरजातीय विवाहलाई अपहेलना गरेकोमा खेद प्रकट गर्दै सत्येन्द्र–नेहाको सुरक्षाको माग गरिन् । आम जनता पार्टीका सांसद प्रभु साहले बारा जितपुर सिमरा– ७ शान्तिटोलबाट तीन वर्षीय बालक रितेश चौधरी बेपत्ता भएको आठ दिन भइसक्दा पनि सरकार उदासीन रहेको आरोप लगाए ।

शुक्रबार पनि अधिकारकर्मीले सडकमा विरोध प्रदर्शन गरेका छन् भने सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यालयमा पनि प्रदर्शन गरिएको छ । संसद्मा समेत सांसदहरूले घटनालाई लिएर प्रश्न उठाएका छन् र गृहमन्त्री रमेश लेखक र आइजिपी वसन्तबहादुर कुँवरलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् । दलित अधिकारकर्मीले कांग्रेसको केन्द्रीय कार्यालय पुगेर प्रदर्शन गर्दै गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि ‘चेतावनीपत्र’ बुझाएका छन् । शरीरमा नेल लगाएर अधिकारकर्मी खगेन्द्र सुनार नेतृत्वको टोली माइतीघरबाट पैदल नै सानेपासम्म पुगेर चेतावनीपत्र बुझाए । उनीहरूले गृहमन्त्री लेखकमाथि छानबिन गरी कारबाही नगरे थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुसन्धान गरिरहेको छ । सर्लाही कांग्रेसका नेताहरूको दबाबमा गृहमन्त्री लेखकले प्रहरी लगाएर उनीहरूमाथि पक्राउ गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनीहरूलाई छुटाउनकै लागि पक्राउ गर्नेदेखि बालविवाहको मुद्दासमेत दायर गरिएको अधिकारकर्मीले बताएका छन् ।

सत्येन्द्र र नेहाको विवाहलाई सर्वाेच्च अदालतले वैधानिकता दिइसकेको छ । तर, सत्येन्द्रविरुद्ध बालविवाहको मुद्दा जिल्ला अदालत सर्लाहीमा कायमै छ । प्रहरीबाटै असुरक्षित भएको भन्दै उनीहरू अझै भूमिगत बस्न बाध्य छन् । गृहमन्त्री लेखकले उनीहरूको सुरक्षाको जिम्मा लिने भनेर संसद्मै बताउँदा पनि पीडितलाई त्यसको प्रत्याभूति दिन सकेका छैनन् ।

उनीहरूलाई छुटाउनकै लागि प्रहरीमा बालविवाहको मुद्दा दर्ता गराउनु, विवाह दर्ता भइसकेपछि अदालतमा बालविवाहको अभियोग लगाउनु तथा मुम्बईसम्म पुगेर पक्राउ गर्नुले यसमा प्रहरीले शक्तिको बलमा ज्यादती गरेको प्रस्ट भइसकेको छ । तर, यसमा आफूलाई ‘सामान्य जानकारी’समेत नभएको भनेर गृहमन्त्री लेखक पन्छिने प्रयास गरिरहेका छन् ।

यो घटनामा प्रहरीकै उच्च अधिकारी नै संलग्न रहेकाले छानबिन हुन नसकेको हो । छानबिनतर्फ कुनै प्रगति नहुँदा दलित अधिकारकर्मी थप आक्रोशित बनेका छन् । उनीहरूले दोषीहरूमाथि तत्काल छानबिन र कडा कारबाहीको माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै कांग्रेस मुख्यालयमा अधिकारकर्मीको नाराबाजी

अन्तरजातीय विवाह गरेका जोडीमाथि राज्यसंयन्त्रको चरम दुरुपयोग गर्दै अत्याचार गरेको भन्दै दलित अधिकारकर्मीहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार नाराबाजीसहित प्रदर्शन गरेका छन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार नेतृत्वको टोली माइतीघरबाट पैदल मार्च गर्दै सानेपा पुगेको थियो । उनीहरूले ‘जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’, ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर’, ‘दलित हिंसा गर्ने गृहमन्त्री राजीनामा दे’लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए । उनीहरूले गृहमन्त्री लेखकलाई कारबाहीको माग गर्दै चेतावनीपत्र पनि कांग्रेसलाई बुझाएका छन् । सत्येन्द्र–नेहाले आपूmहरूमाथि गृहमन्त्रीकै निर्देशनमा राज्यबाट पटकपटक पक्राउ गर्दै ज्यादती गरिएको बताएका छन् । गृहमन्त्री लेखक र आइजिपी कुँवरकै निर्देशनमा मुम्बई घुम्न गएका सत्येन्द्र र नेहालाई पक्राउ गर्न नेहाका बुबा सुरेन्द्र रौनियारको खर्चमै तत्कालीन डिएसपी रुगम कुँवरको नेतृत्वमा विशेष प्रहरी टोली पठाइएको थियो । जबकि यस्तो टोली गम्भीर अपराधमा संलग्न फरार अभियुक्तलाई पक्राउ गर्न गृहमन्त्री र आइजिपीको निर्देशनमा मात्रै पठाइने गरिन्छ ।

नेपालको संविधान २०७२ मा छुवाछुत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकअन्तर्गत राखिएको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐनअनुसार अन्तरजातीय विवाहमा रोक लगाउन पाइँदैन । तर, व्यवहारमा पटक–पटक समस्या आएका छन् । यतिसम्म कि अन्तरजातीय विवाह अस्वीकार हुँदा त्यसले अपराधसमेत निम्त्याउने गरेको छ । कतिपयले अन्तरजातीय विवाहकै कारण ज्यान गुमाएका छन् ।

अन्तरजातीय विवाहमा समस्या आउनुमा समाजमा विद्यमान मनोसामाजिक र मनोसांस्कृतिक कारण मुख्य रहेको मानव अधिकारीवादी अभियन्ता जेबी विश्वकर्मा बताउँछन् । ‘सुरुमा युवायुवती भावनामा बहकिएर विवाह गर्छन् । कतिपय सन्दर्भमा यी नैसर्गिक अधिकारका सवाल पनि होलान् । तर, यसले उनीहरूको सम्बन्धमा बिस्तारै समस्या पैदा गराउँदै लैजान्छ । व्यक्तिभित्र अन्तरनिहित विभेदका अंश प्रस्फुटन हुनु यसको मुख्य कारण हो,’ उनी भन्छन्, ‘उसले भन्न त जात मान्दिनँ भन्छ, तर जब आफैँलाई पर्छ अनि ऊ जाति प्रथामा समाहित हुन्छ । यस किसिमको मनोसामाजिक र मनोसांस्कृतिक पक्ष समाजमा अझै जीवित छ । अहिले भएको त्यही हो ।’

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा ११ मा उमेर पुगेका वरबधुबाट मञ्जुर भएको अन्तरजातीय विवाहलाई रोक लगाउन नहुने उल्लेख छ । कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । तर पनि अन्तरजातीय विवाह सामाजिक रूपमा कहीँकतै अस्वीकार्य छ र यसले गम्भीर अपराधसमेत निम्ताएका उदाहरण छन् ।

अन्तरजातीय विवाह विवादमा रुकुममा भएको थियो ६ जनाको हत्या
अन्तरजातीय विवाहको विवादले रुकुम पश्चिममा चार वर्षअघि ६ युवाको हत्या भएको थियो । जाजरकोट भेरी– ४ का नवराज विक रुकुम पश्चिम चौरजहारी– ८ सोतीकी किशोरीसँग प्रेममा थिए । तर, दुईबिचको सम्बन्ध किशोरीको परिवार रुचाइरहेका थिएन । नवराज १० जेठ ०७७ मा बेहुली लिन किशोरीको घर पुगे । उनीसँग गाउँका अन्य युवा पनि थिए । जब नवराज गाउँ प्रवेश गरेको खबर किशोरीका परिवारले थाहा पायो, उक्त खबर चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ललाई सुनाइयो । मल्लले गाउँका युवालाई भेला हुन लगाए । दुवै पक्षबिच विवाद भयो । घटनाअनुसार स्थानीयले नवराज र उनीसँगै गएका युवालाई आक्रमण गरे । घाइते भएका र उनीसँगै गएका युवामाथि लखेटी–लखेटी आक्रमण भयो । र, घाइतेलाई भेरी नदीमा धकेलियो । घटनामा नवराजसहित ६ युवाले अनाहकमा ज्यान गुमाए ।

परिवारले अस्वीकार गर्दा अन्तरजातीय विवाहले निम्त्याएको थियो हत्या र आत्महत्या
परिवारको सहमतिविनै स्याङ्जा किचनासका सञ्जीव नेपाली र पौवेगौडेका सोनम रेग्मीबिच विवाह भयो । विवाहको तीन वर्षपछि सञ्जीव वैदेशिक रोजगारका लागि दुबई गए । यही मौकामा सोनमका परिवार दुईबिचको सम्बन्ध टुटाउन सक्रिय बन्यो । सोमनलाई अस्ट्रेलिया पठाउने प्रलोभन दिइयो । सोनम पोखरामा कोठा लिएर छुट्टै बस्न थालिन् । सम्बन्ध जोगाउन सञ्जीव बिदा लिएर नेपाल आए, तर सफल भएनन् । दिमागमा अपराधको मनोविज्ञान जन्म्यो । उनले ३२ साउन ०७३ मा धारिलो हतियार प्रहार गरी सोनमको हत्या गरे र आफूले पनि आत्महत्या गरे ।

अन्तरजातीय विवाहका कारण सप्तरीका मनोज राम कारागार पु¥याइएका थिए
एक वर्षअघि सप्तरीका मनोज राम र बबिता इसरले अन्तरजातीय विवाह गरेपछि उनीहरू सामाजिक अन्यायको सामना गर्न बाध्य भएका थिए । विष्णुपुर गाउँपालिका– ६ का मनोजकुमार रामले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसरसँग ०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए । तर, बबिताका परिवारले अन्तरजातीय विवाह अस्वीकार गर्दै बबिताको किर्ते जन्मदर्ता बनाएर मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरे । यस आधारमा सप्तरी जिल्ला अदालतले मनोजलाई पुर्पक्षका लागि कारागार चलान ग¥यो । जबकि कपिलवस्तु जिल्ला अदालतले मनोज र बबिताको विवाह विधिसम्मत रहेको भन्दै विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिसकेको थियो । अन्ततः पीडितले सर्वोच्च अदालतबाट न्याय पाए ।

प्रेमविवाह असफल भएपछि सप्तरीमा दलित युवतीले गरेकी थिइन् आत्महत्या
परिवारबाट प्रेमविवाह अस्वीकार भएपछि सप्तरीको सुरुंगा नगरपालिका– ७ पोखरियाकी २० वर्षीया दलित युवतीले प्रेमविवाह अस्वीकार भएपछि आत्महत्या गरेकी थिइन् । तीन वर्षअघि उनी गाउँकै कृष्ण मिश्रासँग प्रेममा थिइन् । प्रेममा रहेकी २० वर्षीया ज्योति पासवानलाई गाउँकै कृष्ण मिश्राले ९ फागुन ०७७ मा घरबाटै भगाएर मन्दिरमा विवाह गरेका थिए । तर, विवाहपछि कृष्णको परिवारले अन्तरजातीय सम्बन्ध अस्वीकार ग¥यो । परिवारको दबाबका कारण कृष्णले समेत बेवास्ता गर्न थालेपछि ज्योतिले गम्भीर मानसिक तनाव भोग्नुप¥यो । ज्योतिका बुबा प्रमोद पासवानका ६ असार ०७८ मा कृष्णले ज्योतिलाई लहानस्थित पुष्पाञ्जली गेस्टहाउसमा छाडेर ‘कोठा खोज्न जान्छु’ भन्दै हिँडेका थिए । तर, धेरै दिनसम्म कृष्ण सम्पर्कविहीन भएपछि ज्योति परिवारको सम्पर्कमा आइन् । अभिभावकले प्रहरी र महिला अधिकारकर्मीको सहयोगमा उनलाई उद्धार गरे । तर, मानसिक तनाव झेलिरहेकी ज्योतिले अन्ततः २३ साउन ०७८ मा घरमै झुन्डिएर आत्महत्या गरिन् । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img