प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति बनेको तर उक्त स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर आफूहरूले कामना गरेको बताएका छन्। २६६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन। संयमका लागि धन्यवाद छ।’
उनले सुरूदेखि नै नेपालले भारत र पाकिस्तानबीच तनावको स्थिति विस्तार हुन नपाओस् भनेको पनि बताए। ‘यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग¥यौं, उहाँहरूसँग पनि कुरा ग¥यौं। नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ। अर्थात् बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ,’ प्रधानमन्त्री ओलीले भने।
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरणःके गर्दैछ रुपन्देही प्रहरी ?
एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीको विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कानुनी प्रक्रिया अघि बढाउने भएको छ । प्रहरीले अदालतबाट आएको पत्र भेरिफाई गरेर कानुनअनुसार अगाडि बढ्ने बताएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले सांसद पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आफूलाई सोमबार मात्रै आधिकारिक जानकारी प्राप्त भएको बताउँदै अब कानुन अनुसार अघि बढ्ने जानकारी दिए ।
पक्राउ पुर्जी जारी भए पनि पन्थी भने खुलेआम सार्वजनिक कार्यक्रममा हिँडिरहेका छन् । आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा पनि उनी उपस्थित भएका थिए । यसैबीच पन्थीले आफू विरुद्ध मुद्दा परेको र पक्राउ पुर्जी जारी भएको विषय आफूलाई थाहा नभएको सामाजिक सञ्जालमा लेखेका छन् ।