रूपक यात्री,लुभु
काठमाडौ उपत्यकाको एउटा ऐतिहासिक बस्ती हो ललितपुरको लुभू । किरातकालमा हंसगृह दोङ नामले प्रख्यात थियो लुभू। किँवदन्ती अनुसार किरातीहरु बिहाबरको बाटो भएर लुभू हुँदै काठमाडौं पसेका थिए । र, त्यस ठाउँमा ढकमक्क तोरी देखेपछि तिनले सुन जस्तै फल्ने खेत रहेछ भनेछन् ।त्यही बेलादेखि लुँबुँ भन्न थालियो । नेपाल भाषामा ‘लुँ’ को अर्थ सून हो भने ‘बुँ’को अर्थ खेत । लुँबुँ भन्दाभन्दै पछि लुभु भनिएको भनाई छ।
अर्को कथा अनुसार गंगा महारानीले नेपाल संवत ६७२ तिर सूनको थाली बेची महालक्ष्मी र महाभैरब जात्रा चलाउनुका साथै हंसगृह दोङलाई व्यवस्थित गरेकी थिइन् भनिन्छ । लूभूमा तिनै महारानीको दरबार छ जुन जिर्ण भैसक्यो। लुभू चक्रपथको ग्वार्कोबाट ५ किमि पूर्वमा पर्छ । यो नेवार वस्तीमा देवदेवीका मन्दिर र चैत्य छन् । त्यस्तै महत्वपूर्ण सम्पदा हुन् महालक्ष्मी र महाभरैब मन्दिर। लुभूमा बैशाख शुक्ल अक्षय तृतीयादेखि ९ दिनसम्म महालक्ष्मी र महाभैरबको जात्रा मनाइन्छ ।
अहिले १ दिन बढेर १० दिन भएकाे छ। एक स्थानीयले भने जात्रामा हामी पाहुना बोलाउँछौं । खानपिन गराउँछौं । रमाउँछौं । बाजागाजाका साथ बेलुका खट जात्रा गरिन्छ । खटमा मुख्यतः महालक्ष्मी र महाभैरबका मूर्ति हुन्छन्।एउटा खटमा गणेश, महालक्ष्मी र कुमार हुन्छ भने अर्कोमा गणेश, महाभैरब र कुमारीको मुकुट । खट जात्रा १० दिनसम्मै चल्छ । नेवार समुदायका श्रेष्ठले धाँ, महर्जनले धिमे र शाहीले न्याँसी बाजा बजाउँछन्।परापूर्व कालमा १२ बर्षसम्म पानी नपर्दा रातो मच्छिन्द्रनाथलाई लिन गएको टोलीमा ४ भैरब पनि थिए । ती मध्ये लुभूका हयग्रिब पनि एक हुन् । ‘त्यसैले मच्छिन्द्रनाथ जात्रा गर्ने बेला लुभूका भैरबको पनि जात्रा पर्ने एक स्थानीयले बताए।जात्राभर श्रेष्ठ समुदायका मुल थकाली–थकाल्नीले अन्न नखाई, नुहाई–धुवाई गरी चोखो भएर बस्नु पर्छ ।
हामी लुभूबासिले पनि जात्राभर छाला जुत्ता लाउन, छाता ओढ्न, रूख÷छत चढ्न, घर बनाउन, विवाह–व्रत्तबन्ध आदि गर्नु हुँदैन भन्ने विश्वास छ । जात्राभरी लुभू छाडेर अन्यत्र बास बस्न मिल्दैन।हामी आँगनमा जुनबेला खट आइपुग्छ त्यही बेला पूजा गर्छौं । लुभू जात्राकै अबसरमा आकाश भैरब जात्रा पनि हुन्छ । जात्राको तेस्रो दिन भने कागजमा कोरिएका चित्रको आकाश भैरबलाई छुट्टै खटमा राखेर जात्रा गरिन्छ ।
हामी बिरामी हुँदा आकाश भैरबलाई सम्झेर रखवालाका रुपमा पूज्छौं । आकाश भैरबलाई जात्राभर जमिनमा नछोइ राख्नुपर्छ।यसमा महर्जन थरका पूजारी हुन्छन् । पाटनका चित्रकारले कागजमा बनाउने आकाश भैरबलाई जात्राको अन्तिम दिन लुभू बसपार्कमा सेलाइन्छ।जात्रा चलाउन महालक्ष्मी महाभैरब गुठी व्यवस्था गरिएको छ ।यसपटकको लुभू जात्रा साेमबार साँझ सकिएकाे छ। जात्राको एउटा सुखद पक्ष के हो भने अचेल साँस्कृतिक कार्यक्रममा युवा अघि सर्छन् । बाजा बजाउन होस् या खट बोक्न युवा नै अघि हुन्छन् । यसले नेवा समुदायकाे संस्कृति बचाउन मद्धत गरेको छ।विभिन्न लेखहरूबाट साभार