कोरोना महामारीमा विश्वभरिका देशहरूको सरकार प्रमुखको प्रवृत्तिका हिसाबले मूलतः दुईवटा प्रवृत्तिमा राखेर हेर्न सकिने मैले पाएँ । एउटा विज्ञानमा विश्वास गर्ने र तथ्य प्रमाणहरुको आधारमा आफ्ना नीतिहरु निर्माण गर्ने । यो महाब्याधिको विषयप्रति अत्यन्तै गम्भीर, अत्यन्त संवेदनशील । जो भाइरसभन्दा अगाडि दौडन सके सीमित स्रोत साधनका बाबजुद उनीहरूले पूर्वतयारी गर्न सके। रणनीतिहरू फरकफरक भएपनि यस्तो राजनीतिक नेतृत्व भएको ठाउँमा एकहदसम्म सफलता प्राप्त गरेको देखियो ।अर्को– विज्ञान तथा प्रमाण तथ्यमा विश्वास नगर्ने उट्पट्याङ कुराहरु गर्ने । कतिपय सन्दर्भमा भाइरससँग जोडिएका तथ्यहरुको विश्लेषण गर्न छाडेर मेरो देश वा नागरिकहरुसँग अद्भुत क्षमता भएकाले वा मेरो नेतृत्व भएको कारणले महामारीले ठूलो क्षति भएन भन्ने । कहिल्यै गम्भीर नबन्ने, आवश्यक संवेदनशीलता नराख्ने । यस्तो नेतृत्व भएका देशले कुनै न कुनै रूपमा असफलता ब्यहोरेका छन् ।
दुर्भाग्य ! हाम्रो नेतृत्व दोस्रो क्याटोगोरीमा पर्छ । विज्ञानमाथि उहाँको कहिल्यै विश्वास रहेन, संवेदनशीलताको कुरा गर्ने हो भने कोरोना महामारीको पहिलो लहरको समयमा हाम्रो प्रधानमन्त्रीको प्राथमिकता “दल विभाजन” आदिमा थियो । समयमै गर्नुपर्ने काम सरकारले गरेन तर अद्भुत काम गरिरहेको छ भनेर आत्मरतिमा रमाउनु भयो । जहिले पनि कोभिड महामारीका सन्दर्भमा हामी नेपालीहरुसँग एउटा अद्भुत क्षमता छ भनिरहनुभयो । कोरोनाको जोखिममा काम गरेका फ्रन्टलाइनरलाई समेत निरुत्साहित बनाउनुभयो ।
तत्काल जनस्वास्थ्य आपतकालको घोषणा गरेर त्यस अनुरूप सिंगो प्रणालीलाई परिचालन गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय व्याक बेञ्चर भएर आदेश पालना गर्ने अनि दिनको एकपटक संख्या गनेर प्रस्तुत गर्ने मात्रै होइन यो महामारीको नेतृत्वदायी भूमिकामा रहनुपर्छ।
मलाई स्मरण छ, हामीले नेपालभित्र एकजनामा पनि संक्रमण नहुँदादेखि कोरोना महामारीको सम्बन्धमा कहिले संसद्मा, कहिले सडकबाट, कहिले भेटेर, कहिले पत्र लेखेर प्रधानमन्त्रीलाई झक्झकाइरह्यौँ, सहयोगका हात अगाडि वढाइरह्यौं, रोकथाम र न्यूनीकरणका लागि उपायहरू बताइरह्यौं तर बिडम्बना, प्रधानमन्त्रीमा अरूका विचार सुन्ने धैर्य र कार्यान्वयन गर्ने प्रतिबद्धता दुवै भएन । आजसम्म पनि त्यो प्रतिबद्धता र प्राथमिकता छैन । यो महासंकटसँग जुध्नको लागि यस बीचमा सरकारले जे गर्नैपर्थ्यो त्यो गरेन, जे ग¥यो त्यो पनि पर्याप्त भएन, जसरी ग¥यो ठीक तरिकाले गरेन । आफैं विज्ञ, आफ्नै कुरा ठीक, आफ्नै अहंकार अनि आफ्नै अकर्मण्यताले उहाँलाई थिचिरह्यो ।
निश्चय नै त्यो बेला कोभिडको पहिलो लहरमा महामारीले नेपालमा जेजति क्षति गर्ला भन्ने प्रक्षेपण गरिएको थियो, हाम्रो भाग्य ! भएन । अनि प्रधानमन्त्रीलाई के चाहियो, उहाँलाई लाग्यो सबै गलत म ठीक । मैले भनेकै हो नि, कोरोना केही होइन, हामीसँग अद्भुत प्रतिरोध क्षमता छ अनि सरकारले अभूतपूर्व काम गरेकोले नेपालमा कम संक्रमण भयो । प्रधानमन्त्रीलाई जे लाग्यो सिंगो सरकारलाई त्यही लाग्यो, जनस्वास्थ्यको क्षेत्रमा काम गर्नेहरूले समय समयमा सचेत नगराएका होइनन् तर प्रधानमन्त्रीको त कान बन्द भइसकेको थियो ।
परिणाम, हाम्रो सरकार तयारीमा लाग्नुको सट्टा अद्भुत क्षमता र कार्य कौशलताका कारण कोरोनालाई जित्यौं भनेर महिमा मण्डनतिर लाग्यो । हाम्रो दुर्भाग्य त्यहीबाट सुरु भयो ।
मलाई लाग्छ हाम्रो स्वास्थ्य मन्त्रालय यहाँनेर नराम्रोसँग चुक्यो । गएको कात्तिक मंसिरतिर अवस्था हामीले अनुमान गरे जस्तो जटिल भएन । एक प्रकारले संक्रमण दबाबविहीन अवस्थामा पुग्यौं । मेरो विचारमा त्यो बेलामा प्रधानमन्त्री लगायत सबैले आत्मसन्तुष्टि लिएर ल ठीक छ भनेको भएपनि स्वास्थ्य मन्त्रालय जाग्नुपर्थ्यो । महामारी गएको छैन है ! तथ्य प्रमाणलाई हेर्दा ठाउँ ठाउँमा सेकेण्ड वेभ आइरहेको छ, नेपालमा पनि आउनसक्छ भन्नुपर्थ्यो।पूर्वाधार बनाउने, स्रोत साधन विनियोजन गर्ने गर्नुपर्थ्यो । किनकि केही विज्ञहरूले दोस्रो लहर त अवश्यम्भावी छ भनेर ठोकुवा गरिरहेका थिए । मलाई याद छ, १९ माघ मा त चैत र वैशाखमा दोस्रो लहर आउँछ आउँछ भनेर केही संख्यासहित प्रक्षेपण नै सार्वजनिक भएको थियो । तर स्वास्थ्य मन्त्रालय यसमा चुक्यो । मन्त्रालयले एकै पटक चैत ८ गते वक्तव्य निकालेर भन्यो– सभा जुलुस नगरिदिनुहोला, स्वास्थ्यको मापदण्ड पालना गरिदिनुहोला । हामीले सोचेको जस्तो अवस्था छैन । त्यो बेला ढिला तयारीका लागि भइसकेको थियो ।
पुष ५ गते संसद विघटन पश्चात् राजनीतिक दल, नागरिक समाज, संचार माध्यम हामी सवै अलमलियौं । सबैको ध्यान अन्य विषयमा नै गयो । पुष देखिको समय विघटन वाला बाटोमा नलागेको भए सायद स्वास्थ्य मन्त्रालयले पनि संसदको आड भरोसा पाउँथ्यो होला भने हाम्रो पनि सरकारमाथि निरन्तर दबाब रहन्थ्यो होला, यहाँनेर हामी सबै पनि चुक्यौं ।अहिले हामी धेरै अफ्ट्यारो अवस्थामा पुगिसकेका छौं । स्वास्थ्य मन्त्रालयले वैशाख १७ गतेको वक्तव्यमार्फत थेग्न नसक्ने भयौं भनेर हात उठाउन खोजेको जस्तो ग¥यो भने त स्थिति झन् बर्बाद हुन जान्छ । सुझबुझ पु¥याएर केही गर्नुपर्ने छ, गरिहालौं । के गर्ने ? कसरी गर्ने ? यो सम्बन्धमा केही धारणा राख्छु ।
१. प्रधानमन्त्री ड्राइभिङ सिटमा हुनुहुन्छ। जुन बेलासम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ त्यो बेलासम्म यो भाइरसविरुद्धको लडाइँको हाम्रो सेनापति उहाँ नै हो । उहाँ नसुध्रिकन, उहाँको प्राथमिकतामा यो महामारी नपरेसम्म हामीले जति नै प्रयास गरेपनि धेरै कुरा बदलिँदैन । प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ न उहाँ चामत्कारिक हो न उहाँले दाबी गरेजस्तो हामी नेपालीसँग अद्भुत प्रतिरोध क्षमता भएर पहिलो लहरमा कम क्षति भएको हो । प्रधानमनत्रीले आत्मसाथ गर्नुप¥यो हामी अत्यन्त अफ्ठ्यारो अवस्थामा आइपुगेका छौं, यो बेला कोरोनाभन्दा अर्को कुनै प्राथमिकता हुनसक्दैन । त्यसैले प्रधानमन्त्रीलाई मेरो विनम्रतापूर्वक आग्रह छ– ‘यो लडाइँको कमाण्ड एण्ड कन्ट्रोल समालेर सिंगो देशलाई साथमा लिएर हिँड्ने साहस गर्नुहोस्, मुख बन्द गरेर कान खुला राख्नुहोस, सबैको विज्ञ आफैँ बन्न नखोज्नुहोस्, सबैको कुरा सुन्नुहोस् अनि सबैलाई समन्वय गर्नुहोस् र सबैको साथ लिएर नेतृत्व गर्नुहोस् । ७ प्रदेश, ७५३ स्थानीय सरकार, प्रतिपक्ष, निजी क्षेत्र सबैलाई साथमा लिएर हिँड्नुहोस् ।’ यसरी संकटको महसुस प्रधानमन्त्रीलाई हुन सकेमात्रै तल्लो तहसम्म सञ्चार हुनसक्छ । सबैमा उत्साह र आत्मबल बढ्न सक्छ ।अनलाइनखबरमा खबर छ ।