काठमाडाैँ, सत्तारुढ एमालेले कोभिड– १९ विरुद्धको तयारीलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले आवश्यक पूर्वाधार, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको प्रबन्ध गर्न र अन्य तयारीलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको हो ।प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले समग्र पार्टीपंक्तिलाई कोभिडविरुद्धको लडाइँमा स्वयंसेवी रूपमा परिचालित हुन पनि आह्वान गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकपछि ज्ञवालीले प्रेस वक्तव्य जारी गरी भनेका छन्, ‘बैठकले कोभिडका बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । साथै बैठकले समग्र पार्टीपंक्तिलाई कोभिडविरुद्धको यस कठिन लडाइँमा स्वयंसेवी रूपमा परिचालित हुन पनि आह्वान गरेको छ ।’