उपल्लो डोल्पाका अधिकांश गुम्बा रित्तै
काठमाडौँ, उपल्लो डोल्पाको धो–तरपस्थित गाकार गुम्बाबाट ६ वर्षअघि चोरिएको शाक्यमुनि बुद्धको पुरातात्त्विक कास्यमूर्ति बेइजिङको निजी ग्यालरी ‘चाइना गार्जियन अक्सन’ मा लिलामीमा राखिएको समाचार सार्वजनिक भएसँगै डोल्पाबाट दर्जनौं सम्पदा हराएको खुल्न थालेका छन् ।नेपाल गुम्बा व्यवस्थापन समिति, पुरातत्त्व विभागसहितका निकाय पनि डोल्पाको सम्पदा अभिलेखीकरणमा जुर्मुराएका छन् । गाकार गुम्बाको सम्पदा लुटपाटबारे प्रहरी प्रशासनको अनुसन्धान भने जारी छ ।
नेपाल गुम्बा व्यवस्थापन समितिमा डोल्पाका १ सय १८ वटा गुम्बा दर्ता छन् । ‘तर, त्यसभित्रको सम्पदा वा बौद्ध सामग्रीको सूची अप्राप्य छ,’ समितिका कार्यकारी प्रमुख होमबहादुर दोङले भने, ‘त्यहाँका कतिपय पुरातात्त्विक गुम्बा अझै दर्ता भएका छैनन् ।’ गाकार गुम्बाको शाक्यमुनि बुद्ध बेइजिङमा भेटिनुअघि डोल्पाकै से–फोक्सुन्डोस्थित लाङ गुम्बामा रहेको चौंधौं शताब्दीमा निर्मित तामाधातुले बनेको शाक्यमुनि बुद्धको सुनौलो मूर्ति अमेरिकाको सिकागोमा भेटिएको थियो । सन् ९० दशकको सुरुवातमा हराएको मानिने उक्त मूर्ति सिकागो राज्यअन्तर्गत निजी संग्रह प्रिज्कर (टम) कलेक्सनमा भेटिएको बारे गत साउनमा मात्रै सूचना बाहिर आएको थियो । यो प्रतिमाको प्रामाणिकता पहिल्याउन स्वीस अध्येता उर्लिच भोन स्क्रोडरको ‘इन्डो–टिबेटन ब्रोन्जेज (१९८१)’ पुस्तकमा संकलित तस्बिरलाई आधार मानिएको थियो ।
डोल्पासहित हिमाली जिल्लाका गुम्बाहरूबाट विभिन्न समय हराएका र चोरी भएका बौद्ध प्रतिमा ।
प्राचीन लाङ गुम्बाबाटै हराएको बोधिसत्व अवलोकितेश्वरको सुनौलो मूर्ति अस्ट्रेलियाको सिड्नीस्थित आर्ट ग्यालरी अफ न्यू साउथ वेल्समा गत असोजमा भेटिएको थियो । लाङमा रहेका पुरातात्त्विक सम्पदाबारेमा कला अध्येता एमी हेलरको ‘हिडन ट्रिजर्स अफ द हिमालयज ः टिबेटन मेनुस्क्रिप्ट, पेन्टिङ एन्ड स्कलप्चर अफ डोल्पो (२००९) पुस्तकमा विस्तृत विवरण छ । उपल्लो डोल्पामा रहेका बौद्ध सम्पदा र गुम्बाबारेमा बेलायती शोधकर्ता डा. मिलिन स्मिथले अन्वेषण गर्दै आएकी छन् । स्मिथले सम्पदा संरक्षण अभियानमा सघाउ पुग्ने गरी ‘पेमा र डोल्पाबाट चोरिएको मूर्ति’ शीर्षकमा सचित्र पठनसामग्रीसमेत तयार पारेकी छन् ।
डोल्पाको से–फोक्सुन्डोस्थित येछेर जाङचुव–लिङ गुम्बासम्बद्ध रनग रिम्पोचेले आफूले आमाबुबाको पुस्ताबाट सुनेको आधारमा ‘डोल्पामा बोल्ने ताराका प्रतीक (मूर्ति)’ रहने गरेकामा अहिले ती सबै अप्राप्य भइसकेको जनाए । ‘३० वर्षअघिदेखि त्यस्ता पुरातत्त्व र महत्त्वका सम्पदा हराइरहेका छन्,’ उनले भने, ‘एउटा सम्पदा हराएपछि त्यहाँको संस्कृति र चिनारी पनि हराउँछ, सभ्यता र इतिहास पनि हराउँछ । डोल्पामा पुराना गुम्बाहरू संरक्षण अभावमा भत्काउँदै छन्, गुम्बाभित्रका मूर्तिहरू एकपछि अर्को गर्दै हराइरहेका छन् ।’
‘लस्ट आर्ट्स अफ नेपाल’ ले दिएको जानकारीअनुसार, लामा र बौद्ध प्रतीकसहितको महाकाल पानी रङको कपडाचित्र क्यालिफोर्नियाको नर्टन सिमोन म्युजियममा पाइएको छ भने बोन धर्म÷देवतासम्बन्धी १६ औं शताब्दीको कपडा–चित्राकृति जर्मनीको स्टुटगार्टस्थित नागेल अक्सनमा लिलामी हुने जनाइएको थियो । गत ६ डिसेम्बरमा लिलामी हुने उक्त कलाकृतिका बारे पछिल्लो ‘अपडेट’ आएको छैन । यस्तै, बुद्ध शाक्यमुनीको २० औं शताब्दीकै थाङ्काचित्र पनि गत नोभेम्बर ३० मा मार्कोपोलो एसियन आर्ट, इटालीमा लिलामीमा राखिएको थियो । बोन देवतासम्बन्धी ‘स्नेला ओकार’ को १६ औं शताब्दीको थाङ्का पनि गत ८ डिसेम्बरमै पेरिसमा लिलामीमा राखिएको थियो । डोल्पो क्षेत्रबाटै संकलित १४ औं शताब्दीको ‘क्राउन्ड बुद्ध’ पनि २०११ नोभेम्बर २ मा जुरिचको कोलर अक्सनमा लिलामी गरिएको प्रमाण ‘लस्ट आर्ट्स अफ नेपाल’ ले राखेको छ । यी सबै पुरातात्त्विक सम्पदाहरू डोल्पाबाटै संकलन गरिएको थिथाे।कान्तिपुर दैनिकबाट साभार
- Advertisement -![spot_img]()
- Advertisement -![spot_img]()
- Advertisement -![spot_img]()
- Advertisement -