लुभु,ललितपुर
ललितपुर जिल्लाको एउटा ऐतिहासिक बस्तीहरु मध्ये एक लुभू हो । यो स्थान किरातकालमा “हंसगृह दोङ“ नामले प्रख्यात थियो । कोयलाछी टोलमा रहेको ने.सं. ५६७ को नारायण मन्दिरमा रहेको शिलालेख अनुसार राजा यक्ष मल्लको पालामा लुभु कोटनायक हृदयराम मुल्मीको नेतृत्वमा एउटा बलियो किल्लाको रूपमा रहेको थियो ।
हंसगृह दोङ्गलाई लुभु भनिनुका आख्यानहरू मध्ये राजा सिद्धिनरसिंह मल्लका नाति राजा योगेन्द्र मल्ल ( नें. सं. ८०४–८२५ ) लाई एक पटक ललितपुरदेखि लुभुसम्म तुल विछ्याएर लगिएको थियो । राजाले लुभुमा ढकमक्क तोरीको फूल फुलेको देखेपछि खुशीले गदगद हुँदै “थ्व थायँ ला लुँ बुँ खनि“ (यी ठाउँहरू त सुनको खेत रहेछ) भनी ब्यक्त गरेछन् । त्यसैबेला देखि गाउँको नाउँनै लुँबुँ हुन पुगेको हो । लुँबुँ शब्द नै अप्रभंस भएर हाल लुभु भएको थियो भन्ने गरिन्छ । अर्को आख्यान अनुसार ने.सं. ६७२ मा गङ्गा महारानीले सुनको थाल बेची महालक्ष्मी महाभैरव जात्रा चलाउनुका साथै हंसगृह दोङ्ग वस्तीलाई ब्यवस्थित रूपमा विस्तार गरेको हँदा लुँ (सुन) र भुँ (थाल) शब्दबाटै लुँभुँ भन्ने गरेको बताइन्छ ।
कान्तिपुरका राजा शिवसिंह मल्ले ने.सं. ८०३ मा पाटन माथि विजय प्राप्त गरी निजका छोरा हरिहरसिंह मल्ललाई राजप्रतिनिधिको रूपमा शासन गर्न लगाइएको लुँभुँ दक्षिणमा श्रृङ्गमती खोला, पश्चिममा गोदावरी खोला, उत्तरमा ढुङ्गे खोलाले घरिएको छ। च्वहिटी, लाछी हिटी क्वय हिटी तीन खण्डमा विभक्त लुँभुँलाई पूर्वमा लुखाखिखा, मुगः पुखु, पश्चिममा क्वने लुखा, उत्तरमा मचालुख लाछी (जहाँ गंगा महारानीक दरबार छ) र दक्षिणमा नासः लुखा सहित चारैतिर पर्खालले घेरी शहर बसाएको बताइन्छ। तर हाल पर्खाल भग्नावशेषमा परिणत भएको छ।
नौ पिठ र चार तीर्थस्थलले रक्षा गरिएको मानिने लुँभु देशको इष्टदेवी महालक्ष्मी, महाभैरव हुन । महालक्ष्मी र महाभैरव मन्दिर तीन तल्ले झिँगटी छाना शैलीयुक्त मन्दिर प्राचीन दरबार नजिक रहेको छ। परापूर्व कालमा १२ बर्षसम्म पानी नपर्दा रातो मच्छिन्द्रनाथलाई लिन गएको टोलीमा ४ भैरब पनि थिए । ती मध्ये लुभूका हयग्रिब पनि एक हुन् । ‘त्यसैले मच्छिन्द्रनाथ जात्रा गर्ने बेला लुभूका भैरबको पनि जात्रा पर्छ । लुभूमा बैशाख शुक्ल अक्षय तृतीयादेखि ९ दिनसम्म महालक्ष्मी र महाभैरबको जात्रा मनाइन्छ । बाजागाजाका साथ बेलुका खट जात्रा गरिन्छ । खटमा मुख्यतः महालक्ष्मी र महाभैरबका मूर्ति हुन्छन्। एउटा खटमा गणेश, महालक्ष्मी र कुमार हुन्छन भने अर्कोमा गणेश, महाभैरब र कुमारीको मूर्ती हुन्छन । ने.सं. ६३२ मा भारो अर्थात श्रेष्ठ समाजले निमार्ण गराएको महालक्ष्मी महाभैरव देवस्थल लुँभुँका ९ पिठ मध्ये प्रमुख मानिन्छ। ने सं. ९९८ मा जीर्णोद्धार भएको महालक्ष्मी महाभैरव मन्दिर वरिपरि पोखरी, ढुङ्गेधारा रहेका छन्।
लुँभुँमा रहेका प्राचीन सम्पदा मध्ये गोभ्रातेश्वर महादेव पनि एक हो। गोभ्रातेश्वर महादेवका सम्बन्धमा जोडिएको अनेकौँ अलौंकिक आख्यानहरू मध्ये कामधेनु गाईले पशुपतिनाथको आराधना गर्दा आफ्नै गोवरमा महादेवले दर्शन दिएको हुँदा गोभ्रातेश्वर भन्ने गरिएको सर्वाधिक छ। वैशाख शुक्ल अक्षय तृतीया र मंसिर पूर्णिमाका दिन चोमरी र दुवाल ज्यापुहरूले नुहाई धुवाई गरि पवित्र भै नङ काटी एक्लै सुति र सेतो जामा पहिरिएर जात्रा गर्नु पर्दछ । तर राणाकाल देखि भारतीय भट्ट ब्राम्हण झिकाएर हिन्दुस्तानी परम्परा अनुरूप पूजा गराउने प्रथा लादिएको कुरा स्थानीय बासिन्दाहरू बताउँछन् । लुँभुँ महालक्ष्मी महाभैरव र गोभ्रातेश्वर मन्दिरबाट सिन्नेरी जाने बाटो छेउमा रहेको लुँभुँ देवी पिठलाई महालक्ष्मी महाभैरवकी आमा भनी पुकार्ने गरिन्छ। कथा अनुसार गंगा महारानीको राज्यकाल ने.सं. ६०८ मा लुँभुँ देशभरिका जनतालाई गलगाँडले सताएछ । कारण पतालगाउँदा गोभ्रातेश्वर महादेवको शिरमा महालक्ष्मी पिठ रहेकोले हो भनी तान्त्रिकहरूले दिएको चेतावनीलाई मध्यनजर गरी सो पिठलाई हाल तीन तल्ले झिंगती शैलीको मन्दिर बनाई महाभैरव महालक्ष्मीलाई लायकु नजिक सारिएको बताइन्छ ।
पुरानो महालक्ष्मी महाभैरव पिठ खुल्ला रमणीय फाँटमा आयतकार भुइतल्ले शैलीमा रहेको छ। नौ पिठ मध्ये एक मानिने यस माता पिठको निमार्ण राजा हरिहर सिंह मल्लले अहिलेको रूप दिएको बताइन्छ। लुँभुँ धार्मिक, साँस्कृति, ऐतिहासिक पर्यटकीय दृष्टिकोणले मात्र नभई साहसिक खेलको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ।
लेख: GR Ranjit,Sabin Shrestha (झिंगु नेवा संस्कृति )
लुभूमा बैशाख शुक्ल अक्षय तृतीयादेखि ९ दिनसम्म महालक्ष्मी र महाभैरबको जात्रा मनाइन्छ । अहिले १ दिन बढेर १० दिन भएकाे छ। एक स्थानीयले भने जात्रामा हामी पाहुना बोलाउँछौं । खानपिन गराउँछौं । रमाउँछौं । बाजागाजाका साथ बेलुका खट जात्रा गरिन्छ । खटमा मुख्यतः महालक्ष्मी र महाभैरबका मूर्ति हुन्छन्।एउटा खटमा गणेश, महालक्ष्मी र कुमार हुन्छ भने अर्कोमा गणेश, महाभैरब र कुमारीको मुकुट । खट जात्रा १० दिनसम्मै चल्छ । नेवार समुदायका श्रेष्ठले धाँ, महर्जनले धिमे र शाहीले न्याँसी बाजा बजाउँछन्।
परापूर्व कालमा १२ बर्षसम्म पानी नपर्दा रातो मच्छिन्द्रनाथलाई लिन गएको टोलीमा ४ भैरब पनि थिए । ती मध्ये लुभूका हयग्रिब पनि एक हुन् । ‘त्यसैले मच्छिन्द्रनाथ जात्रा गर्ने बेला लुभूका भैरबको पनि जात्रा पर्ने एक स्थानीयले बताए।
जात्राभर श्रेष्ठ समुदायका मुल थकाली–थकाल्नीले अन्न नखाई, नुहाई–धुवाई गरी चोखो भएर बस्नु पर्छ । हामी लुभूबासिले पनि जात्राभर छाला जुत्ता लाउन, छाता ओढ्न, रूख÷छत चढ्न, घर बनाउन, विवाह–व्रत्तबन्ध आदि गर्नु हुँदैन भन्ने विश्वास छ । जात्राभरी लुभू छाडेर अन्यत्र बास बस्न मिल्दैन।