spot_img

राेल्पा थवाङ कम्युनिस्ट क्रान्तिकाे इतिहासःहरेक क्रान्तिमा सहभागिता देखि युद्द पर्यटन र विकसित थवाङकाे चर्चा!

spot_img

रूपक कुलालःथवाङ,राेल्पा

विद्रोहको बिम्व मानिने राेल्पाकाे थवाङ गाउँकाे क्रान्तिकारी कम्युनिस्ट नेतृत्व र विचारको छुट्टै पहिचान छ। नेपालका हरेक क्रान्ति र परिवर्तनमा थवाङकाे भुमिका महत्पूर्ण छ। यस कारण पनि ठुला परिवर्तन देखि विभिन्न राजनीतिक घटना र चुनावमा पनि थवाङकाे चर्चा निकै हुने गर्छ। थवाङ बहिष्कारवादी कम्युनिस्ट गाउँको नामले मुलुकभित्र र बाहिर परिचित छ । नेपालको बाँकी भूगोल भन्दा सधैं भिन्न विद्रोही स्वभाव देखाउने  गाउँ हाे थवाङ!

थवाङ कम्युनिस्ट क्रान्तिकाे इतिहास

विद्रोही गाउँ थवाङको विद्रोही गाथा पनि पुरानो छ । बाइसे चौबीसे राज्यको बेला नै थवाङ सत्ता विरोधी रहेको त्यहाँका बुढापाकाहरू बताउँछन् । उनीहरूका भनाइमा, नेपाल एकीकरण पूर्व रुकुमबाट कर असुल्न थवाङ आएका लालु र कालु शाहीलाई थवाङीहरूले लखेटेको इतिहास छ । जो कालान्तरमा राजतन्त्र विरोधी मानसिकतामा बदलियो र जसले थवाङलाई सधैं विद्रोही बनाइरहृयो ।

नेपालमा कम्युनिष्ट क्रान्ति देखि जनयुद्दका पिता मानिने  मोहन विक्रम सिंहले वि.सं. २०१३ साल जेठ १३ गतेका दिन खगुलाल गुरुङ, रुमबहादुर र हेमराजले पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका हुन् (रोका मगर, पूर्णबहादुर क्रान्तिकारी इतिहास बोकेको थवाङ, गङ्गा जमुना प्रेस, काठमाडौँ, २०६८) । २०१३ सालमा कम्युनिस्ट पार्टी स्थापना भए पनि २०११ सालदेखि नै मुखिया, जिम्मुवाल र सामन्तहरूको विरुद्ध थवाङमा आवाज उठ्न थालेका रहेछन् । यसको अगुवाइ बरमन बुढाले गरेका रहेछन् । प्युठानमा पनि २०११।०१२ सालतिर किसान आन्दोलन भएको थियो । स्थानीय समाजसेवी ज्येष्ठ राजनीतिक अगुवा पूर्णबहादुर रोका मगरका अनुसार युवा नेता बरमन बुढाको नेतृत्वमा पहिलो पटक (२०११ जेठ १ गते) स्थानीय मुखिया कृष्णबहादुर झाँक्री मगरमाथि आक्रमण तथा कुटपिट नै पहिलो पटक राज्यसत्ता विरुद्धको प्रतिकात्मक घटना हो । यो घटनापछि थवाङमा शृङ्खलाबद्ध रूपमा राज्यसत्ता र थवाङीहरूका बीचमा हिंसात्मक लडाइँहरू हुँदै गए ।

२०१५ सालको निर्वाचनमा थवाङीहरूले कम्युनिस्ट उम्मेदवारको पक्षमा एकछापे मत खसालेका थिए । राजा महेन्द्रले २०१७ पुस १ गते दलमाथि प्रतिबन्ध लगाउँदा थवाङेहरूले त्यसको सशक्त विरोध गरे । २०३७ सालको जनमत सङ्ग्रहमा सबै थवाङेहरूले बहुदलको पक्षमा एकछापे मत खसालेका थिए । २०३८ सालमा सम्पन्न भएको राष्ट्रिय पञ्चायतको निर्वाचन सशक्त बहिस्कार गरे । २०३८ सालमा ५०० नेपाली सेनाका फौजले ब्यापक सैनिक अपरेसन । बहुदलपछि (२०४८) को आम निर्वाचनलाई क्रान्तिकारी उपयोग । २०५८ सालमा पुनः सैनिक अपरेसन ।

१० वर्षे जनयुद्धको क्रममा धेरै पटक अर्ध सैनिक तथा सैनिकबाट विभिन्न प्रकारका अपरेसनहरू थवाङमा राजयसत्ताले सञ्चालन गरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा थवाङबाट ३ मत बाहेक सबै मत पुष्पकमल दाहाललाई खसेको थियो । रोल्पा क्षेत्र नंं १ बाट नेकपा माओवादीको तर्फबाट जयपुरी घर्तीमगरले २६ हजार ५०५ मत प्राप्त गरी विजयी हुँदा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका सोही पार्टीका पुष्पकमल दाहालले ३४ हजार २२० मत ल्याई विजयी भएका थिए । २०६९ सालमा नेकपा माओवादी पार्टीमा आएको विभाजन पछि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा थवाङले शून्य मतदान गरेको थियो । थवाङले शून्य मतदान गर्दा एकीकृत नेकपा माओवादीबाट क्षेत्र नंं १ बाट उम्मेदवार बनेका कृष्णबहादुर महराले ११ हजार ४०७ र क्षेत्र नंं २ की उम्मेदवार ओनसरी घर्तीमगरले १४ हजार ९६४ मत प्राप्त गरी विजयी भएका थिए ।

“थवाङीहरूले सशस्त्र युद्धमा ठूलो मात्रामा धनजनको क्षति व्यहोरे । स्थानीय शान्ति समिति रोल्पाको अभिलेख अनुसार, १० वर्षे युद्धमा ३९ जना थवाङीले ज्यान गुमाए । जसमध्ये ३२ जना राज्य पक्षवाट र ७ जना विद्रोही पक्षबाट मारिएका थिए । १ जना अझै बेपत्ता छन् । उनलाई राज्य पक्षले बेपत्ता पारेको थियो । द्वन्द्वका क्रममा ३१ जना अंगभंग भए ।”

कम्युनिस्ट पार्टीको एकल वर्चस्वसहित एक ढिक्का रहने थवाङ माओवादी फुटपछि विभाजित अवस्थामा छ । माओवादी फुटेर प्रचण्ड, बाबुराम, मोहन वैद्य र नेत्रविक्रम चन्दको समूहका रूपमा मुख्य चार टुक्रामा विभाजित रहँदा थवाङले प्रचण्ड र विप्लवलाई साथ दिइरहेका छन्। तिनै थवाङी जनताको त्याग र बलिदानीबाट प्राप्त भएको परिवर्तनमा नेताहरू रमाएका छन् तर थवाङीहरूले परिवर्तनको अनुभूति गर्न नपाएको, सहिद घाइते र अपाङ्गलाई राज्यले उचित सम्मान गर्न नसकेको दुःखेसो रहेछ थवाङीहरूको केन्द्र सरकारसँग अहिले पनि गरिरहेका छन्।

हिजाे र आजभोलिकाे थवाङमा धेरै अन्तरछःअहिले माेटर बाटाे,अस्पताल,विद्यालय देखि प्रसस्तै पर्यटन विकास पूर्वाधारहरूकाे विकास भएकाे छ। 

थवाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार हिजाे र अाजकाे थवाङमा धेरै परिवर्तन छ। पहिलाे लिवाङबाट ३ दिन बढि हिडेर अाउँनु पर्थ्याे। अहिले माटरवाबाट पुगेकाे छ र सडक स्तरउन्नतीकाे काम पनि धमाधम भइरहेकाे छ। प्रत्यक गाउँमा कच्ची भएपनि माेटरबाटाे पुगेकाे छ केहि बाहेक। थवाङमै ठुलाे अस्पताल बनेकाे छ,विद्यालयहरू पर्यटन पूर्वाधार,बत्ति देखि साेलार र जनताकाे जिवनमा पनि धेरै परिवर्तनकाे अाभाष भएकाे अध्यक्ष मगरकाे भनाइ छ।

 थवाङ अहिले ग्रामीण पर्यटनको विकासमा जुटेको छ । पर्यटनकै विकासको लागि पछिल्लो समय थवाङमा पूर्वाधारको विकास हुन थालेको छ । आजभोलि कच्ची भएपनि सबै वडामा मोटरमार्ग पुगेको छ । परम्परागत शैलीका घर ढुङ्गाका छाना एउटै गाउँमा तीन सय ३४ घर भएको थवाङ गाउँ अहिले मौलिक घरहरू धेरै परिवर्तन हुन थालेका छन् । थवाङको मौलिक संस्कृति जोगाउन चुनौती हुन थालेको छ । संस्कृति हरेक जातिको पहिचानसँग जोडिएको हुन्छ । त्यसको संरक्षण भएन भने थवाङबासीले गाउँमा जाने पर्यटकहरूलाई के देखाउने ? मौलिक संस्कार र संस्कृतिलाई पर्यटन विकासको लागि थवाङबासीले जोगाउन पर्दछ ।

थवाङ ऐतिहासिक साँस्कृतिक महत्व भएको अठार मगरातको बसोबास भएको पर्यटकीय गाउँ हो । थवाङका मगर जातिहरूले खाम भाषा बोल्दछन् । रोल्पालाई खाम भाषामा उताको बस्ती भनिन्छ । खाम भाषीहरूको बाहुल्यता भएको कारण थवाङ गाउँपालिकाको क्षेत्रमा मात्र नभएर रोल्पाका अधिकांश गाउँ, ठाउँको नामको पछाडि वाङ शब्द जोडिएको छ । खाम भाषामा वाङ अर्थ हुन्छ चौर । थवाङ पनि खाम भाषाकै नाम हो । मगरखाम भाषामा थवाङको अर्थमाथि उठेको अथवा पहाडको काखको चौर भन्ने हुन्छ । मगर खामको बाहुल्य क्षेत्र रहेकाले थवाङ गाउँको जनजीवन, भाषा, संस्कृति हेर्न पर्यटकहरूको आकर्षण बढदै गएको छ ।

मगर समुदायको बाक्लो बसोबास भएको थवाङ, जेलवाङ, उवा, मिरूल लगायतका गाउँमा युद्धबाट प्रत्यक्ष प्रभावित भएका थिए भने सबैभन्दा बढी मानवीय क्षति पनि तीनै गाउँमा भएको थियो । ती गाउँमा मगर खाम भाषा संस्कृति, रहनसहन र चालचलन एउटै छ । थवाङ पुग्ने ग्रामीण पर्यटकहरूको लागि यी सबै कुराहरू रूचिका साथ सोधखोज गर्ने गर्दछन् । थवाङमा अहिले होमस्टे सञ्चालनमा आएको छ । गाउँमा पुग्ने ग्रामीण पर्यटकहरूलाई खाना बस्नको कुनै समस्या हँुदैन ।

थवाङ पुगेपछि पर्यटकहरू जलजला, सुनछहरी र विवाङ दह पुगेनन् भने उनीहरूको यात्रा अधुरो हुन्छ । पर्यटकलाई जलजलाको मनमोहक दृश्य, सयौँथरिका फूल तथा दलदले जमिनले विशेष आकर्षण गर्दछ । अर्कोतर्फ सुनछहरी झरना र विवाङ दहले पनि पर्यटकहरू रमाउँछन् । द्वन्द्वकालमा सबैभन्दा धेरै शहिद भएको गाउँ जेल्वाङ, ऐतिहासिक गाउँ थवाङ, द्वन्द्वमा प्रयोग गरिएका वकर, युद्धकालमा तयार गरिएका जनवादी विद्यालय, जननमूना अस्पताल, जनसहकारी, जनकम्युन आदि स्थलहरू पर्यटकहरूले रूचिपूर्वक अध्ययन अवलोकन गर्ने गर्दछन् ।

थवाङ भ्रमणको लागि जाने ग्रामीण पर्यटकहरूले प्राकृतिक सौन्दर्यता अवलोकन गर्न मात्र नभएर रोल्पाको जनजीवन, भाषा, संस्कृति र जनयुद्वको समयमा घटना घटेका गाउँहरूको बारेमा पनि अध्ययन गर्न रूचि राख्दछन् । पछिल्लो समय गुरिल्ला पदमार्गबाट पनि धेरै ग्रामीण पर्यटकहरू थवाङ मात्र होइन रोल्पाका धेरै गाउँघरमा भ्रमण गर्ने गरेका छन् । रोल्पामा भ्रमणमा जाने पर्यटकहरूको पहिलो रोजाइनै थवाङ गाउँ र जलजला पहाड पुग्ने इच्छा हुन्छ । मगर खाम भाषाबाट जलजलालाई गोङ भनिन्छ ।

थवाङबाट चलावाङ र तिरिवाङ हँुदै करिवन पाँच घण्टाको यात्रामा जलजला पुग्न सकिन्छ । जलजला पहाड सामुन्द्रिक सतहबाट ३ हजार १९३ मिटरको उचाइमा रहेको छ । जलजला पहाडमा लोपोन्मुख सेतो लालीगुराँसका फूल पाइन्छ । पौराणिक कथाअनुसार बाह्रभाइ वराहको जन्म धौलागिरीमा भएको र त्यहिबाट जलजला पहाडमा २२ बहिनी बजुको आगमन भएको विश्वास गरिन्छ ।

जलजला पहाडमा दुर्लभ पन्छी र वन्यजन्तुहरूको बसोवास पनि छ । यहाँ पाइने डाँफे, मुनाल, कालिज, प्यूराजस्ता पन्छीहरूले जलजलालाई आफ्नो स्वरले त्यहाँ पुग्ने पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् । त्यसैगरी जलजलामा घोरल, थार, मृग, बदेल, भालु जस्ता जंगली जनावरहरू पनि पाइन्छ । जलजला पहाडलाई दुर्लभ मानिने जटामसी, पदमचाल्ना, केशरनिङ, जस्ता दर्जनौ जडिवुटीले पहाडको महत्व बढाएको छ । जलजला पहाड पछिल्लो समयमा नेपालको राजनैतिकसँग पनि गाँसिएको छ । आजभोलि जलजला पहाडलाई राजनैतिक र बलिदानीको केन्द्रको रूपमा लिने गरिएको छ । जलजला पहाडको शिरमा सहिद स्मृति स्तम्भ निर्माण गरिएको छ । जलजला पहाडमा राता हसिया हतौडाका झण्डा फरफराएको देखिन्छ । जलजलाबाट रोल्पाको भूगोल मात्र होइन रूकुम जिल्लाको सिस्ने हिमाल र अनगिन्ती लेकबेसी र प्राकृतिक सौन्दर्यताको आनन्द लिन सकिन्छ ।

जलजलाको झाँक्री थान अर्थात् कैलु ब्राह थानमा झाँक्री मगर पुजारी छन् भने अरू मन्दिरमा रोका मगर पुजारी छन् । जलजलामा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको रेडियो जनगणतन्त्र ९५.१ मेगाहर्ज दुई वर्षसम्म जलजलाबाट भूमिगत रूपमा प्रसारण गरिएको थियो । जलजला प्राकृतिक, धार्मिक र युद्ध पर्यटनको सम्भावना बोकेको पहाड हो । घाँसेमैदानी, दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकोले जलजला नयाँ पर्यटकहरूको लागि आकर्षणको गन्तव्य बन्दछ । केही वर्ष अगाडीदेखि जलजलामा स्थानीय समुदायले चरिचराउ बन्द गरी संरक्षण गरिएको छ ।

जलजला जाँदा बाटोमा ढकमक्क फूलेका फूलहरू, गुचुमुच्च मगर बस्ती, खोलानाला, पहाड र हरियाली वनजंगल यात्राको आनन्द बेग्लै हुन्छ । द्वन्द्वकालका अवशेषहरू, कम्युनहरू, गुरिल्लाहरूको तालिम स्थल, बंकर अनि द्वन्द्वका कथाहरू प्रशस्तै सुन्न र अवलोकन गर्न पाइन्छ । गुरिल्लाहरूले प्रयोग गरेका गोरेटोहरूमा यात्रा गर्दै विभिन्न थरिका फूलहरू, चराचुरूङ्गी, वनस्पति, छङछङ बग्ने खोलानाला, अग्ला पहाड र झरनाहरूले त्यहाँ जाने ग्रामीण पर्यटकहरूलाई आनन्द दिलाउँछ । जलजलाबाट सिस्ने, पूठा, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलाहरूको दृश्यावलोकन पनि गर्न सकिन्छ । ग्रामीण पर्यटकमध्ये धेरै प्राकृतिक दृश्य अवलोकन र मनोरञ्जनका लागि भ्रमण जाने गर्दछन् ।

अबको थवाङ भनेको पर्यटनको विकास सँगसँगै कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्दछ । पुरानो परम्परामा खेतीलाई विस्थापित गर्दै लानुपर्दछ । नयाँ प्रविधि प्रयोग गरेर कृषिको उत्पादन बढाउनुपर्दछ । कृषिमा आधुनिकीकरण गर्न नसक्दा थवाङमा किसान अर्ध वेरोजगार हुनुपरेको हो । मुख्य कुरा थवाङका ग्रामीण भेगका अधिकांश कृषकहरूलाई व्यवसायी कृषि प्रणालीको पर्याप्त जानकारी छैनभन्दा पनि हुन्छ ।

यसरी पुग्न सकिन्छ थवाङ!

थवाङ जान आजभोलि धेरै बाटोहरू छन् । थवाङ अहिले दाङ घोराही, रोल्पाको लिवाङदेखि र पूर्वी रूकुमको मध्यपहाडी राजमार्गमा पर्ने भूमे गाउँपालिकाको खवाङ बगरदेखि महत गाउँ हुँदै थवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । घोराहीबाट होलेरी, दहवन नुवागाउँ हुँदै सहिद मार्गबाट दारबोट, कोर्चावाङ, घर्तीगाउँ ओवाङ दुईखोली, कुरेलीको खरिबोट, मिरूलको टुटूबजार, र छेर्वाङ हुँदै १३४ किलोमीटरको यात्रामा थवाङ पुगिन्छ ।

लिवाङदेखि घर्तीगाउँ हुँदै ७४ किलोमीटरको कच्ची सडक यात्रामा पनि थवाङ पुग्न सकिन्छ । अर्को मार्ग हो सुलिचौर–फुलिवन, उवा हुँदै थवाङ ५७ किलोमीटरको दूरी । बुटवलतिरबाट आउने मानिसहरूको लागि थवाङ र जलजला पुग्नको लागि छोटो दूरी पर्दछ ।

विभिन्न लेख,किताव र मीडियाकाे समेत सहयाेगमा तयार पारीएकाे लेख।

थवाङका केही तस्वीरहरूःरूपक कुलाल

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img