डोल्पा जिल्लास्थित त्रिपुराकोट जल मापन केन्द्रमा ठुली भेरी नदीको जल स्तर सतर्कता तह पार गर्दै बढ्दो क्रममा पुगेको छ। आइतबार बिहान ४ः०५ बजे प्राप्त जानकारी अनुसार नदीको पानीको सतह निरन्तर बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सम्भावित बाढीको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी किनार आसपासका होचा भू–भागमा डुबानको सम्भावना रहन सक्ने भएकाले बिहानसम्म उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ।
पछिल्ला ३ घण्टामा उदयपुर जिल्लास्थित गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरू र सिराहा जिल्लास्थित लहान तथा सिराहा हाइड्रो वर्षामापन केन्द्रहरूमा भारी वर्षा मापन भएको छ। साथै, आगामी केही घण्टासम्म थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भारी वर्षाका कारण त्रियुगा खोला, चहकाखोला लगायत अन्य स–साना खोलाहरूमा बहाव बढ्ने खतरा रहेको हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।