श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीले गत २१ फागुनको निर्वाचनमा भएको सहकार्यलाई एकतामा बदलेका छन् । पूर्वमन्त्री किरातीलाई श्रम संस्कृति पार्टीमा भित्र्याउन अध्यक्ष साम्पाङले सात बुँदे सहमति गरेका छन् । सहमति अनुसार, श्रम संस्कृति पार्टीमा सुदन किराती वरिष्ठ नेता रहनेछन् भने उनीसँग आउनेहरूमध्ये एक उपाध्यक्ष र एक सचिव गरी १५ जना केन्द्रीय सदस्य हुनेछन् । ती नामहरू टुंगो लाग्न बाँकी छ ।
तर एकता सहमति भने सार्वजनिक गरिएको छ । राजधानीस्थित होटल हार्दिकमा शुक्रबार एक कार्यक्रम राखेर पूर्वमन्त्री किरातीलाई साम्पाङले स्वागत गरे । किरातीलाई स्वागत गर्दै साम्पाङले यो एकतालाई दुधकोशी र तमोर मिलेपछिको सप्तकोशी नदीको संज्ञा दिए । ‘खुवालुङमा दुधकोशी र तमोर भेट हुन्छ, त्यसभन्दा मुनि एउटै नदी हुन्छ । छुट्याउन सकिन्न,’ साम्पाङले भने, ‘हाम्रो एकता त्यस्तै हो ।’ हर्कले जस्तै सुदनले पनि धेरै विमर्श र छलफल पछि एकताको निर्णयमा पुगेकाले शंका नगर्न आग्रह गरे ।
माओवादी पृष्ठभूमिका नेता किरातीले यो एकताको औचित्यबारे लामै सम्बोधन गरे । विशेषगरी कम्युनिष्ट आदर्शबाट आएका व्यक्तिले ‘हर्कवाद’ स्वीकार्ने अवस्थाबारे प्रष्टोक्ति दिएका थिए । उनको निचोड थियो– हर्कवाद स्थापित गर्ने प्रयत्न हुन्छ ।श्रम संस्कृति पार्टी स्थापना गर्दासम्मका हर्क साम्पाङको अभियान, अडान र कामको प्रशंसा गरेका किरातीले राष्ट्रिय राजनीतिमा अहिले यो पार्टीको अडानले पनि एकतामा आउन प्रेरित गरेको उनको तर्क थियो ।मुलतः जनताको दबावका कारण नै एकता सम्भव भएको किरातीको प्रष्टोक्ति थियो । ‘जनताको आदेशलाई हामीले पालना गरेका छौं,’ उनले भनेका छन् ।
नेताहरूका अनुसार गत निर्वाचनमा सहकार्य भएपछि एकताको दबाब दुवै नेतालाई थियो । ‘श्रम संस्कृति पार्टी बनाउन सहयोग गर्नेहरूमध्ये धेरैको चाहना सुदन किरातीलाई ल्याउनुपर्छ भन्ने थियो । सामाजिक सञ्जालमा लेखेर, भेटेर पनि एकता गर्नुपर्छ भनिरहनुभएको थियो,’ श्रम संस्कृति पार्टीका एक नेता भन्छन् ।शुभेच्छुकहरूको चाहना बुझेका हर्क आफैंले पनि सुदनलाई भित्र्याउन पहल बढाएका थिए । तर एकताले अन्तिम रुप लिन सकिरहेको थिएन । त्यसैबीच सुदन किरातीले कुलमान घिसिङसँग भेटेको तस्वीर सार्वजनिक भयो ।
कुलमानसहित सिके राउत, रेशम चौधरी लगायतसँग एकता वा सहकार्यको छलफल चलेको पनि सूचना आयो । यसपछि साम्पाङ दबाबमा परेको प्रष्ट बुझ्न सकिन्थ्यो । उनले स्टाटस लेखेरै सुदन किरातीसँग कुरा मिलिसकेको भनेर समर्थकहरूलाई आश्वस्त पारेका थिए । एकता गर्नैपर्ने दबाब भने गत निर्वाचनमा सुदन किरातीले श्रम संस्कृतिका उम्मेदवारहरूलाई सहयोग गरेका कारणले सिर्जना भएको बुझ्न सकिन्छ । पूर्वमन्त्री किरातीले भोजपुर, खोटाङ र सुनसरीमा श्रम संस्कृतिलाई समर्थन गरेका थिए । संयोग, यी तीन जिल्लामै श्रम संस्कृतिले जित्यो । ‘मेरो जितमा सुदन किरातीको ठूलो भूमिका छ । उहाँको समर्थनले माहोल आयो,’ भोजपुरबाट प्रतिनिधि सभा सदस्य जितेका धु्रवराज राई भन्छन् ।
भोजपुरबाट तीनपटक चुनाव जितिसकेका र माओवादीभित्र प्रभाव राख्ने नेता भएकाले पनि किरातीको प्रभाव स्वभाविक थियो । यही तथ्य बुझेकाले पनि श्रम संस्कृतिका समर्थकहरूले सुदनलाई पार्टीमा ल्याउन दबाब बढाएका थिए ।