(जुम्ला) — डोल्पाको सिमाना जोड्ने जुम्लाको अन्तिम गाउँ हो, चोत्र । यही गाउँकी तेजआङ्मु महतारालाई धेरैले लोक विरहका भाका गाउने स्वरकी धनीका रूपमा चिन्छन् । तेजआङ्मुले अहिलेसम्म कुनै स्टुडियोमा गीत गाएकी छैनन्, न त उनको गीत इन्टरनेटको दुनियाँमा भेटिन्छ । अहिलेसम्म उनको स्वरको तारिफ चोत्रा गाउँमै सीमित छ ।
१० कक्षा पढ्दापढ्दै १७ वर्षमा बिहे गरेकी तेजआङ्मु आफूले हिँडेको दुःखको यात्रा गीत बनाएर गुनगुनाउँछिन् । स्कुलमा पढुन्जेल मञ्चहरूमा उनको स्वर गुन्जिन्थ्यो । स्कुल छुटेसँगै दुनियाँले तेजआङ्मुको स्वर सुन्नुप¥यो भनेर सम्झिने मञ्चहरू पनि छुटे । त्यसपछि उनले वनपाखा, खोला किनारलाई मञ्च बनाइन् । दुःख र वेदनाका गीतहरू गुनगुनाउन थालिन् । उनी हिजोआज घाँसदाउरा र स्याउलापात गर्ने बेलामा मन बहलाउन गीत गाउँछिन् ।
उनको जीवनमा दुःखमाथि दुःखको खात लागेजस्तो लाग्छ । माइतमा उनका बुबा र आमा दुवै अपांगता भएका छन् । ससुरा अपांगता भएका थिए, गत वैशाखमा खुट्टा भाँच्चिएर राम्ररी उपचार नहुँदा सासू पनि हिँडडुल गर्न नसक्ने भएकी छन् । ‘माइत र घर दुवैतिर उस्तै छ । जता सम्झ्यो बैरागमात्रै लाग्छ,’ उनले भनिन्, ‘रुवाइ छुट्छ । जीवनमा निराशाको घनघोर बादल मडारिरहेजस्तो लाग्छ । अनि पीर भुलाउन गाउँछु ।’
तेजआङ्मुका श्रीमान् भारतमा व्यापार गर्थे । व्यापारमा डुबेपछि उनी यार्चाको कारोबारमा लागे । त्यसमा पनि घाटा खाए । तेजआङ्मुले ऋणको भारीले परिवार नै दुःखमा परिरहेकाले आफ्नै खर्चले गीत रेकर्ड गर्ने सम्भावना नभएको र ऋण थपेर गीत रेकर्ड गर्ने आँट नआएको सुनाइन् । ‘ऋण तिरेर सकिन्जेल स्वरले साथ दिएछ भने मनको धोको पूरा होला,’ उनले भनिन्, ‘नभए यत्तिकै हुने भयो ।’
उनी अरूले गाएको सुनेर दुरुस्तै गाउन सक्छिन् । कहिलेकाहीं ती लयमा आफ्ना शब्द हालेर पनि गाउँछिन् । पुस्तान्तरण हुँदै आएका शब्दहरू उनले पनि टिपेर राखेकी छन् । तिनमा लय हालेर गीत रेकर्ड गराउने उनको धोको पूरा हुन्छ÷हुँदैन उनी आफैंलाई थाहा छैन । तर, चोत्रागाउँदेखि मनिसांगुसम्मका वनपाखाले उनको स्वर रेकर्ड गरिरहेका छन् ।
गुठीचौर गाउँपालिका–१ चोत्राका वडाध्यक्ष अर्जुनकुमार महताराले उनमा रहेको अद्भुत प्रतिभालाई बाहिर ल्याउन सहयोगको खोजी भइरहेको बताए । ‘तेजआङ्मुको स्वर दुनियाँलाई सुनाउन जरुरी छ,’ उनले भने, ‘उनमा रहेको अद्भुत प्रतिभालाई बाहिर ल्याउन सहयोगी मन भएकाहरूबाट सहयोग हुने विश्वास लिएको छु ।’