काठमाडौँ, चितवनकी १९ वर्षीया निकिता गौतम काठमाडौंको गौशालामा डेरा गरी बस्थिन् । घरभेटी मनोज गौतमका अनुसार उनी छतमा बसेर २४ भदौको प्रदर्शन हेर्दै थिइन् । त्यतिबेलै उनलाई गोली लाग्यो । प्रहरी वृत्तबाट चलाइएको गोली छतमा बसेकी निकिताको छातीमा लाग्दा मृत्यु भयो ।
काठमाडौं तारकेश्वर–४ का धीरज श्रेष्ठ २३ भदौमा बानेश्वरको आन्दोलनमा सहभागी भएका थिए । २४ भदौको प्रदर्शनमा पनि सहभागी हुन उनी घरबाट निस्केका थिए । बालाजु वृत्तका प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको बुबा नारायणले बताएका छन् । प्रहरीले हानेको गोली घाँटीमा लागेर छोराको मृत्यु भएको नारायणको भनाइ छ ।
२३ भदौको आन्दोलनमा बानेश्वरमा २५ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय श्रेयम चौलागाईंको टाउकोमा गोली लागेर मृत्यु भएको प्रहरीको आन्तरिक रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार वनस्थलीका इस्वत अधिकारी, सौरभकिशोर श्रेष्ठ र आयुष थापाको छातीमा गोली लागेर मृत्यु भएको छ । बझाङका सुवासकुमार बोहराको छाती र घाँटीमा गोली लागेको रिपोर्टमा उल्लेख छ । त्यसै दिन रसिद खतिवडा र निश्चिल सारू मगरको पेटमा गोली लागेको थियो ।
सुनसरीका साजन राईलाई पनि भक्तपुर थिमिमा गोली लागेको थियो । उनको पनि छातीमा गोली लागेर मृत्यु भएको परिवारको भनाइ छ ।
२३ र २४ भदौको प्रदर्शनमा गोली प्रहारबाट ३९ जना प्रदर्शनकारी मारिएकामा सबैजसोलाई कम्मरभन्दा माथि गोली लागेको पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले सरकारलाई दिएको प्रतिवेदनअनुसार मृतकहरूको टाउको, घाँटी, छाती र पेटमा गोली लागेको छ ।
प्रहरीको गोली लागेर पहिलो दिन २२ जना र दोस्रो दिन १७ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा गोली लागेर ३५ जना मारिएकामा १९ जनाको छातीमा, १० जनाको टाउकोमा, चार जनाको पेटमा र दुई जनाको घाँटीमा गोली लागेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरी भन्छन्, ‘सबैजसो मृतकको कम्मरमाथि गोली लागेको भेटियो । त्यसमा पनि धेरैको छातीमा गोली लागेको छ, टाउकोमा पनि गोली लागेको छ । एक जनालाई तीन वटा रबर बुलेट लागेको देखिन्छ, अरू सबैको शरीरमा मेटल बुलेट लागेको देखिन्छ । एउटा शवमा भने छाती र घाँटीमा ३ वटा रबर बुलेट लागेको पायौं ।’
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमअनुसार गोली लागेर मारिएका सबैलाई ‘हाई भेलोसिटी’ (राइफललगायत घातक) हतियारबाट गोली लागेको डा. चौधरीको भनाइ छ । ‘१ देखि २ वटा शवमा मात्र लो भेलोसिटी (पेस्तोललगायत छोटा) हतियारको गोली लागेको पाइयो,’ उनी भन्छन्, ‘लगभग सबै शवमा टाढाबाट आएको गोली लागेको देखिन्छ । नजिकैबाट गोली चलेको भए शवको छाला, रौं जलेको हुनुपथ्र्यो, त्यस्तो पाइएन ।’
२३ भदौमा २२ जना आन्दोलनकारी, २४ भदौमा ४१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना प्रहरी मारिएका थिए । प्रहरीको मृत्यु प्रदर्शनकारीको कुटपिटबाट भएको थियो भने कैदीबन्दी भाग्ने क्रममा प्रहरी र सेनाले चलाएको गोली लागेर मारिएका थिए ।
मारिएका १० कैदीबन्दीमध्ये चार जनालाई सेनाको गोली लागेको थियो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, कैदीबन्दी भाग्ने क्रम तीव्र भएपछि नियन्त्रणमा लिन सेनाले गोली चलाएको थियो । ‘त्यसक्रममा धादिङ र रामेछापमा दुई÷दुई जनाको मृत्यु भएको हो,’ उनले भने । कैदीबन्दी कारागारमा तोडफोड र आगजनी गर्दै बाहिर निस्कन थालेपछि गोली चलाउनुपरेको उनको भनाइ छ । ६ कैदीबन्दीलाई प्रहरीको गोली लागेको थियो ।
दोस्रो दिन ४१ जना प्रदर्शनकारी मारिएकामा १७ जनालाई गोली लागेको थियो, अरू २४ जना आगजनीसहितका घटनामा परेर मारिएका थिए । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा मात्र सात जनाको शव जलेको अवस्थामा भेटिएका थिए । त्यस्तै सुनसरी र मोरङको भाटभटेनीमा पनि पाँच जनाको शव त्यही अवस्थामा फेला परेका थिए । तर डेढ महिनासम्म पनि यी मृतकहरूको पहिचान खुल्न सकेको छैन, त्यसैले पोस्टमार्टम गरिएको छैन ।
चुच्चेपाटीस्थित भाटभटेनीमा फेला परेका कंकाल त्रिवि शिक्षण अस्पतालमा ७ वटा प्लास्टिकका पोकामा राखिएको छ । उनीहरूको अस्थिपञ्जर मात्र फेला परेको र मृत्युको कारणसमेत खुल्न नसकेको एसपी भट्टराईको भनाइ छ । ‘यी शव पूर्णतः जलेका अवस्थामा छन् । परिवार, आफन्त कोही दाबी गर्न पनि आएका छैनन्,’ उनले भने, ‘डीएनए परीक्षण गर्न सकिन्छ कि भनेर प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएका छौं, कुनै रिपोर्ट आएको छैन ।’
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरीमा फेला परेका ४ वटा शवको पनि पहिचान हुन नसकेको बताए । ‘लगभग खरानी भइसकेको अवस्थाका शव भेटिएका थिए । अहिलेसम्म आफन्त परेको भनेर एक जनाका परिवार मात्र आउनुभएको छ, अरू कसैको दाबी परेको छैन,’ उनले भने, ‘डीएनए परीक्षण गर्न काठमाडौंको प्रहरी ल्याबमा पठाएका छौं, रिपोर्ट आएको छैन । एउटा शवको दाबी गर्न आए पनि रिपोर्ट नआउँदा पुष्टि हुन सकेको छैन ।’
२४ भदौमा महाराजगन्ज, बालाजु, स्वयम्भू, कालीमाटी, कलंकी, बानेश्वर, दरबारमार्ग, कोटेश्वर, गौशालालगायत प्रहरी वृत्त र युनिटमा बिहान करिब ११ बजेअघि नै तोडफोड र आगजनी हुन थालेको थियो । तर प्रहरी कार्यालयहरू जलेकाले त्यहाँ वरपर भएका घटनाको मुचुल्का हुन नसकेको र सोही कारण गोली लागेको घटनास्थल पनि यकिन हुन नसकेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईको भनाइ छ । ‘मृतकका परिवारले प्रहरी वृत्त वरिपरि नै गोली लागेको दाबी गर्दै जाहेरी दरखास्त दिनुभएको छ,’ उनले भने, ‘त्यसलाई विश्लेषण गर्दै घटनास्थल यकिन गर्ने काम भइरहेको छ ।’
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल प्रहरीमा पर्याप्त तालिमको अभाव र सेवा विशिष्टीकरण नहुँदा प्रहरीबाट बारम्बार एउटै गल्ती दोहोरिने गरेको बताउँछन् । ‘भीड नियन्त्रणमा खटिने जनशक्ति लामो समयसम्म त्यहीँ बसेर काम गर्नुपर्छ, अपराध अनुसन्धान, ट्राफिकसहितका भूमिकामा खटिनेको सेवा विशिष्टीकरण हुनुपर्छ,’ उनी भन्छन्, ‘तर, अहिले एक ठाउँमा थन्किएर बस्यो भने करिअर बिग्रिन्छ भन्ने जुन भाष्य बनेको छ, त्यसले गर्दा प्रहरीलाई फिल्डमा खटिने दक्ष जनशक्तिको अभाव छ ।’
२३ भदौमा करिब ३ घण्टाको प्रदर्शनमा नै २२ जनाको मृत्यु हुने गरी बल प्रयोग हुनु नै गम्भीर घटना भएको उनको भनाइ छ । ‘प्रहरीले अहिले पनि युद्धमा प्रयोग गर्ने हतियार भीड नियन्त्रणमा चलाइरहेको छ, त्यसले क्षति धेरै गराउँछ, गैरघातक हतियार रबर बुलेटसहितका सामग्री खरिद पनि लामो समयदेखि भएको छैन,’ उनले भने, ‘अर्को महत्त्वपूर्ण कुराचाहिँ फिल्डमा खटिएको अधिकारी हतियारसँग कत्तिको अभ्यस्त छ भन्ने महत्त्वपूर्ण हुन्छ, जसमा समस्या देखिन्छ ।’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत पनि प्रहरीले जानाजान छाती वा टाउकोमा गोली नहानेको बताउँछन् । ‘पर्याप्त तालिम छैन, प्रहरी पनि हतियारसँग अभ्यस्त छैनन्, एकातिर हानेको गोली अर्कोतिर पनि पर्न गएका धेरै उदाहरण छन्,’ ती अधिकृत भन्छन् ।
स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति कायम गर्न नसकिने परिस्थितिमा अन्तिम विकल्पका रूपमा मात्र सुरक्षाकर्मीले गोली हान्न मिल्ने परिकल्पना गरेको छ । तर त्यसका लागि समेत ‘भीडलाई हट्दैनौ भने गोली चलाइनेछ’ भनेर बुझ्ने गरी पहिल्यै चेतावनी दिनुपर्छ । चेतावनी दिँदासमेत भीड नहटे घुँडामुनि लाग्ने गरी गोली चलाउन आदेश दिन सकिने भनिएको छ । तर जेन–जी आन्दोलनमा भने घातक हतियारबाट कम्मरभन्दा माथि गोली चलाउँदा यति ठूलो मानवीय क्षति भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले यसलाई गम्भीर रूपले लिएको छ । आयोगका सदस्य लिली थापाको नेतृत्वमा रहेको टोलीले राज्य पक्षले गरेको अत्यधिक बल प्रयोगबारे छानबिन गरिरहेको छ । ‘प्रारम्भिक चरणको अनुसन्धान सकेर अहिले यससँग सम्बन्धित व्यक्तिहरूसँग बयान लिने काम भइरहेको छ,’ आयोग प्रवक्ता डा. टीकाराम पोखरेल भन्छन्, ‘मानवअधिकारका दृष्टिले पहिलो दिनको गोली प्रहारका घटना बढी गम्भीर छन्, त्यसलाई प्राथमिकता दिएर अनुसन्धान गरिरहेका छौं ।’ आयोगको प्रतिवेदन ढिला हुँदा त्यसको औचित्य कम हुने भएकाले सकेसम्म छिटो ल्याउनुपर्छ भनेर काम भइरहेको पोखरेलले बताए ।
भ्रष्टाचारविरुद्ध उत्रिएका जेन–जी प्रदर्शनकारीमाथि गृह प्रशासनले अत्यधिक बल प्रयोग गरेको थियो । प्रहरीको आन्तरिक रिपोर्टअनुसार, देशभर दुई दिनमा १३ हजार १ सय ८२ पटक फायरिङ गरिएको थियो । तीमध्ये २ हजार ६ सय ४२ ‘लाइभ एम्युनिसन’ धातुका गोली प्रहार गरिएको थियो । अाजकाे कान्तिपुर दैनिकमा खवर छ ।