काठमाडाैँ, सर्वोच्च अदालतले जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । सर्वोच्चले दुई दिनभित्रै प्रहरी कार्यालय जाने जानकारी दिएको छ । सँगै मातहतका अन्य अदालतले पनि आगजनीविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनेछन् ।
गत २४ भदौको आगजनी र तोडफोडपछि सर्वोच्च अदालतमा क्षति भएको छ । यसक्रममा सर्वोच्चका भवन, सवारीसाधन, जिन्सी जलेर नष्ट भएका छन् । सबै गरी एक अर्ब २१ करोड २१ लाख ९१ हजार ५१ रुपैयाँबराबरको सम्पत्ति नष्ट भएको सर्वोच्चको भनाइ छ । नष्ट भएका सम्पूर्ण सम्पत्तिको विवरणसहित प्रहरीमा जाहेरी लिएर जाने तयारी भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए । ‘जेन–जी आन्दोलनमा सर्वोच्चकोे ठुलो परिमाणमा सम्पत्ति जलेर नष्ट भएका छन् । त्यसको विवरण संकलन भइसकेका छन् । सोही आधारमा जाहेरी लिएर प्रहरी कार्यालयमा जाने तयारी भएको छ । सम्भवतः एक–दुई दिनभित्रै हामी जाहेरी लिएर प्रहरी कार्यालय जान्छौँ । दस्तावेजीकरणका लागि यो आवश्यक छ,’ उनले भने ।
सर्वोच्चका अनुसार मूल भवनमा मात्रै ५० करोड रुपैयाँबराबरको क्षति भएको छ । ४० करोड १९ लाख ५ हजार ७०८ रुपैयाँबराबरको सवारीसाधन (पूर्ण क्षति), २८ करोड ७३ लाख १५ हजार ९३० रुपैयाँको जिन्सी (खर्च भएर जाने), २४ लाख १९ हजार ४१३ रुपैयाँ बराबरको जिन्सी (खर्च भएर नजाने) र दुई करोड पाँच लाख ५० हजार रुपैयाँबराबरको सवारीसाधन (आंशिक) गरी कुल एक अर्ब २१ करोड २१ लाख ९१ हजार ५१ रुपैयाँबराबरको सम्पत्ति नष्ट भएका छन् ।
सूचना अधिकारी पाण्डेले सबै गरी सर्वोच्चको मात्रै एक अर्ब २१ करोडभन्दा धेरै मूल्यको सम्पत्ति नष्ट भएको बताए । ‘आन्दोलनपछि सर्वोच्चमा आगजनी भए । जसबाट ठुलो परिमाणमा धनसम्पत्ति नष्ट भए । हालसम्मको तथ्यांकअनुसार सर्वोच्चको मात्रै एक अर्ब २१ करोडभन्दा धेरैको सम्पत्ति नष्ट भएको देखिन्छ,’ उनले भने ।
तथ्यांकअनुसार सर्वोच्चको मात्रै ४३ थान चारपांग्रे, ७१ वटा मोटरसाइकल, ३८ स्कुटर गरी १५२ सवारी जलेर नष्ट भएका छन् । जसमध्ये १६ चारपांग्रे सवारीसाधन भने मर्मतपछि प्रयोग गर्न मिल्ने अवस्थामा छन् । त्यस्तै, डेस्कटप कम्प्युटर ७०९, ल्यापटप ५७७, प्रिन्टर ३८५, अभिलेख स्क्यानर २, सानो स्क्यानर ३४६, सिसिक्यामेरा १८४, भिडियो कन्फ्रेन्स सेट ६१, डिस्प्ले टिभी ९०, युपिएस ९१५, फोटोकपी ५, जेनेरेटर १, एसी ११२ र इ–हाजिरी ४२ वटा जलेर नष्ट भएका छन् ।
त्यसबाहेक मुद्दाका मिसिल, अभिलेख पनि जलेर नष्ट भएका छन् । सर्वोच्चका अनुसार चालू अवस्थाका २० हजार ३४ मिसिल जलेर नष्ट भएका छन् । सर्वोच्चमा चालू अवस्थाका मात्रै सबै गरी २४ हजार २३४ मिसिल थिए । त्यस्तै, अभिलेखमा राखिएका एक लाख ९७ हजार मिसिल जलेर नष्ट भएका छन् । सर्वोच्च संकलित सोही विवरण लिएर जिल्ला प्रहरीपरिसर काठमाडौंमा जाने तयारीमा रहेको सर्वोच्चका प्रवक्ता कोइरालाले बताए । ‘जाहेरी दिने जिल्लास्थित प्रहरी कार्यालयमै हो । हामी पनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर जाने हो । यसका लागि लगभग तयारी पूरा भएको छ । मातहतका अन्य अदालतमा पनि आगजनी, तोडफोड भएका छन् । उनीहरू पनि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमै जाहेरी लिएर जानेछन् । सर्वोच्चको जाहेरी दर्तालगत्तै उनीहरू पनि जाहेरी लिएर सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जान भनेका छौँ,’ उनले भने ।
सर्वोच्चका अनुसार उच्च अदालतका न्यायाधीश चढ्ने दुईवटा सवारीसाधनमा आगजनी भएका छन् । जिल्ला अदालतका न्यायाधीश चढ्ने २५ सवारीसाधन जलाइएका छन् । उच्च र जिल्ला अदालतका अन्य सवारीसाधनमा ३८ चारपांग्रे, १५२ मोटरसाइकल र ३२ स्कुटरमा आगजनी भएका छन् ।
उक्त अदालतका ७८३ डेस्कटप, ५८ ल्यापटप, ४६९ प्रिन्टर, २१ अभिलेख स्क्यानर, १६३ सानो स्क्यानर, २६१ सिसिटिभी, २५ भिडियो कन्फ्रेन्स सेट, १०५ डिस्प्ले टिभी, १९६ युपिएस, ३३ फोटोकपी मेसिन, ५ जेनेरेटर, २२७ एसपी र ३९ इ–हाजिरी जलेर नष्ट भएका छन् ।
सर्वोच्चका अनुसार चालू अवस्थाका ६ हजार ५३३ मिसिल जलेर नष्ट भएका छन् । अभिलेखमा राखिएका सात लाख ६ हजार ७१ मिसिलमा आगो लगाइएको छ । त्यसबाहेक तहसिल मिसिलतर्फका चार हजार १८५ मिसिल जलेर नष्ट गरिएका छन् । सूचना अधिकारी पाण्डेले उच्च र जिल्ला अदालतमा भएका क्षतिको एकमुस्ट क्षतिको विवरण भने तयार भइनसकेको बताए । ‘मातहतका उच्च र जिल्ला अदालतमा पनि ठुलो परिमाणमा सम्पत्ति जलेर नष्ट भएका छन् । त्यसको विवरण संकलन भएका छन् । तर, त्यसलाई मूल्यमा कन्भर्ट गर्ने काम पूरा भइसकेको छैन । सम्भवतः एक–दुई दिनभित्रै त्यो पनि पूरा हुनेछ,’ उनले भने ।अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ।