जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ घर भएकी पशुपती घर्ती मगर दाङको तुलसीपुरस्थितमा बस्थिन्। जाजरकोटकै पदमबहादुर सिंहको घरमा डेरा बस्ने २२ वर्षीया पशुपती लोक सेवा परीक्षाको तयारी गरिरहेकी थिइन्। त्यही घरमा जाजरकोटका अरू तीन युवा र तीन युवती लोक सेवा तयारीकै लागि बसिरहेका थिए।
डम्मरबहादुर र जदाकुमारीकी जेठी सन्तान पशुपतीका दुई भाइ र दुई बहिनी छन्।उनले पहिले पनि लोक सेवा परीक्षा दिएकी थिइन्। तीन पटक लिखितमा नाम निकाले पनि अन्तर्वार्तामा सफल हुन नसकेकी उनका बुबा डम्मरले बताए।उनी आमाबुबालाई भन्थिन् — जसरी पनि सरकारी जागिरे बन्छु। तपाईंहरूले मलाई पढाउन गरेको संघर्ष र दुःख बुझेकी छु। म जागिरे भइसकेपछि भाइबहिनीलाई पढाउँछु।
त्यसैले मगर परिवारकी आशा बनेकी थिइन् पशुपती।माघ २२ गते जंगलमा घाँस काटिरहेका डम्मरलाई इलाका प्रहरी कार्यालय, तुलसीपुर, दाङका प्रहरी प्रवक्ता विनोदराज खत्रीले फोन गरे।पशुपती गम्भीर बिरामी भएकाले तुरून्त आउन भने।डम्मर पनि तुरून्तै हिँडे। घरतिर मोटरबाटो नपुगेकाले डेढ घन्टा पैदल हिँडेर गाडी चढ्ने ठाउँसम्म आइपुगे। झिसमिसे साँझ भइसकेको थियो। एउटा गाडी भाडामा लिए। बाटोभरि डम्मरको मनमा अनेक कुरा आए।
मध्यरातमा उनी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुगे।’तर त्यहाँ छोरी बिरामी भएर बसेकी थिइन, उसको शव थियो,’ डम्मरले सुनाए।भक्कानिएका डम्मरलाई अरू मानिसले सम्झाए। राति साढे १२ बजेतिर छोरी बस्ने पदमबहादुरको घर पुगेर पशुपतीको मृत्युको कारण विस्तारमा बुझे।’छोरीको भाग्य यत्तिसम्म लेखेको रहेछ भनेर सम्हालिएँ,’ उनले भने।त्यस रात उनी तुलसीपुरमै बसे। भोलिपल्ट पोस्टमर्टमपछि दिउँसो साढे १२ बजेतिर पशुपतीको शव लिएर घर गए। रातको सवा १० बजे पुगे। शव आँगनमै राखेर गाउँसमाज जागा बस्यो। अनि माघ २४ गते अन्त्येष्टि गरे।
अन्त्येष्टि सकेर बेलुका ४ बजेतिर फर्किँदै गर्दा उनीहरूले थाहा पाए — स्थानीय कृषि सेवा पाँचौं तह प्राविधिक सहायक पदमा पशुपतीको नाम निस्किएछ।पुस ९ गते पशुपतीले पोखरामा परीक्षा दिएकी थिइन्। परीक्षामा सम्मिलित २२५२ जनामध्ये १३८१ जना उत्तीर्ण भएका थिए, जसमा पशुपती पनि एक थिइन्।’उसले आफ्नो खुसी साट्न नपाउँदै सदाका लागि अस्ताई,’ डम्मरले भने।
पशुपती आफ्नै उमेरकी अम्बिका घर्तीसँग एकै कोठामा बस्थिन्। त्यस दिन (माघ २२ गते) पशुपतीले घाम ताप्न छतमा जाऔं भन्दा अम्बिकाले लुगा धोइसकेर आउने भनिन्। त्यसपछि सोही घरमा बस्ने मिना सिंहलाई बोलाइन्। उनीहरू दोस्रो तलाको छतमा घाममा पढ्दै बसे।केही समयपछि दुवै निदाए। पछि पशुपती उठेर मुख धोइन्। मिनालाई पनि उठाइन्।
त्यसपछि अगाडि रहेको टरिगाउँ एयरपोर्टमा के भइरहेको छ हेरौं भनिन्।फागुन २१ मा हुने चुनावका लागि त्यहाँ नेपाली सेनाको एक टुकुडी बस्न थालेको थियो। एयरपोर्ट र कारागारको सुरक्षा सेनालाई दिइएको छ। जम्मा ७५० मिटर धावनमार्ग कालोपत्रे भएको यो एयरपोर्टमा सानो ट्विनअटर विमान मात्रै चल्न सक्छ। त्यो पनि नियमित छैन। एयरपोर्ट सुरक्षाको जिम्मा पाएपछि सेनाले आसपासको झाडी र बस्ने घर सरसफाइ गरिरहेको थियो।
पशुपतीलाई त्यो हेर्न रमाइलो लागिरहेको थियो। तर उनी बस्ने घरको तेस्रो तलाको छतमा उक्लिएर मात्र एयरपोर्टको दृश्य देखिन्थ्यो।त्यसैले पशुपती र मिना दुवै माथि उक्लिए।त्यो बेला घरधनी पदम कामले मालपोत कार्यालय पुगेका थिए।’सबभन्दा माथिल्लो तलामा दुइटा कोठा छन्, एउटा कोठा एक खुड्किलो अग्लो र अर्को होचो छ। त्यहाँ जान त्यति सजिलो छैन। रेलिङ र पानीको पाइप समात्दै तलमाथि गर्नुपर्छ,’ पदमले भने।
केहीबेर एयरपोर्ट हेरेर बसेपछि पशुपतीले मिनालाई जाऔं अब भनिन्।दिउँसो साढे ३ बजे थियो।सुरूमा मिना रेलिङ र पानीको पाइप समात्दै ओर्लिन्। सिँढीको तेस्रो खुड्किलो पुग्दा पनि पशुपतीलाई पछाडि नदेखेपछि मिना फर्केर हेर्न गइन्। पशुपती त्यहाँ थिइनन्।
मिनाले यताउती हेरिन्। माथिबाट तल हेर्दा पशुपती तल भुइँमा रगताम्मे अवस्थामा छट्पटाउँदै गरेको देखिन्।आत्तिएर कराउँदै, चिच्याउँदै मिना तल ओर्लिन्। पदम फर्केर ठ्याक्कै घरअगाडि आइपुगेका थिए।मिना कराएको सुनेर पदमले सोचे — ओहो, सर्प पसेर कसैलाई डस्यो कि?
फेरि सोचे — कसैलाई करेन्ट पो लाग्यो कि?
मिनालाई भेटे, तर उनी बोल्नै सकिरहेकी थिइनन्। ’पशुपती…पशुपती’ मात्रै भनिरहेकी थिइन्।पदम त्यसपछि दगुरेर यताउता गरे। जमिनमा घोप्टो अवस्थामा रगताम्मे पशुपतीलाई देखेपछि उनी पनि आत्तिए।हातखुट्टा समातेर पशुपतीलाई घर अगाडि ल्याए। आइरहेको यात्रुवाहक गाडी रोके र त्यसैमा हालेर अस्पताल पु¥याए।दिउँसो ३ः५५ बजेतिर चिकित्सकले पशुपतीको मृत्यु भइसकेको बताए।
’मेरी छोरीले पनि केही वर्ष पहिले यसैगरी लोक सेवामा नाम निकालेकी थिई। एकाएक बिरामी भई र रोग नै पत्ता नलागी काठमाडौंमा उपचार क्रममा मृत्यु भयो,’ पदमले भने, ’पशुपती साह्रै मेहनती र अनुशासित थिइन्। उनको मृत्युले मेरी छोरीको यादको घाउ थप बल्झिएको छ। म आफैलाई सम्हाल्न मुस्किल परिरहेको छ।’पशुपतीले पनि अप्ठ्यारो पर्दा पदमले सहयोग गर्ने र छोरी समान हेरचाह गर्ने भएकाले बुबा डम्मरलाई चिन्ता नलिन भन्थिन्।’पदम अंकल हुनुहुन्छ, यहाँ मेरो चिन्ता नलिनू भन्थी। म सरकारी जागिरे भएपछि तपाईंहरूले यति धेरै दुःख गर्नु पर्दैन, भाइबहिनीलाई मै पढाउँछु भन्थी। सबै सपना चकनाचुर भयो,’ डम्मरले भने।
पशुपतीले गाउँकै स्कुलबाट एसइई पास गरेकी थिइन्। त्यसपछि कालीकोटको दल्लीबाट तीनवर्षे कृषि–जेटिए उत्तीर्ण गरेर लोक सेवा परीक्षाको तयारीमा लागेकी थिइन्। ’घरकी जेठी छोरी, आशा र भरोसा थिई। एकाएक घरको छतबाट लडेर अस्ताई। उसकी आमा, भाइबहिनीलाई सम्झाउन कठिन भइरहेको छ,’ पशुपतीको किरिया बसेका डम्मरले भने। सेताेपाटीकाे सहयाेगमा