सप्तरीको राजगढ गाउँपालिका–२ का वडाध्यक्ष जितेन्द्रकुमार यादव पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका छन्।कुटपिट घटनामा आरोपित वडाध्यक्ष यादवसहित पाँच जनाविरुद्ध गत सोमबार पक्राउ पुर्जी जारी भएको हो।
२१ कार्तिक २०८१ मा सोही वडाको बनैनियाँस्थित सार्वजनिक जग्गामा वडाध्यक्ष यादवलगायतले घर बनाउन लाग्दा स्थानीय ललनकुमार सिंहलगायतले विरोध जनाएका थिए। त्यसपछि आक्रोशित बनेका वडाध्यक्ष यादव र सोही ठाउँका शिवन खंग, टुनु खंग, पशुपति खंग तथा श्रीराम खंगले सिंहमाथि रड प्रहार गरेका थिए। कुटपिटबाट सिंहको हात भाँचिएको थियो।
सिंहले कुटपिट गरी अंगभंग पारेको कसूरमा २५ कार्तिकमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर प्रहरीले जाहेरी लिन नमानेको आरोप छ।
पछि सिंहले ९ माघ २०८१ मा जिल्ला सरकारी वकिल कार्यालयमार्फत प्रहरीमा जाहेरी पठाएका थिए। त्यसबेला पनि प्रहरीले सनाखतसहितका कानुनी प्रक्रिया पूरा गर्न आनाकानी गरेको बताइएको छ। त्यसपछि सिंहले ५ चैत २०८१ मा उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेशको रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाइ गर्दै १४ जेठ २०८२ मा न्यायाधीशद्वय पूर्णप्रसाद राजवंशी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयका नाममा न्याय प्रशासन ऐन, २०७३ को दफा ८(१) बमोजिम परमादेश जारी गरेको थियो।
वडाध्यक्ष यादव मंगलबार वडा सदस्य सुमित्रादेवी खंगलाई निमित्त तोकेर सम्पर्कविहीन बनेका हुन्। चार दिनअघि वडाध्यक्षले खंगलाई निमित्त वडाध्यक्षको जिम्मेवारी तोकेको वडासचिव रामकुमार यादवले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले घटनाबारे अनुसन्धान भइरहेको बताए।