काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् ।उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताए । ‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गल्ती हुन्छ’, उनले भने ।
सांसदहरुलाई स्वविवेकीय अधिकार दिनु लोकतान्त्रिक अधिकार भएको गौतमले बताए । ‘कुनै पनि संस्थाले आफ्ना सदस्यलाई स्वविवेकीय अधिकार दिन्छ भने त्यो उच्चस्तरको लोकतान्त्रिक अभ्यास मानिन्छ,’ उनले भने ।अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आइतबार विश्वासको मत लिंदैछन् ।