ललिपुरकाे महालक्ष्मी नगरपालिकाद्वारा अभिभावक प्रतिबद्धता अभियान सञ्चालन गर्दै
कक्षा ६ देखि १२ सम्मका सबै सामुदायिक विद्यालयका अभिभावकसम्म प्रतिबद्धता पत्र पुग्ने
ललितपुर, महालक्ष्मी नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ उपलब्धि, अनुशासन, सुरक्षा तथा समग्र विकासलाई थप प्रभावकारी बनाउन ‘अभिभावक प्रतिबद्धता अभियान’ सुरु गरेको छ।
यस अभियानअन्तर्गत नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका प्रत्येक विद्यार्थीका अभिभावक/संरक्षकको हातमा प्रत्यक्ष रूपमा पुग्ने गरी ‘अभिभावक प्रतिबद्धता पत्र’ वितरण गरिएको छ।
प्रतिबद्धता पत्रमा अभिभावकले आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउने, घरमा अध्ययनको वातावरण बनाउने, विद्यालयसँग निरन्तर समन्वय गर्ने, बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा मानसिक अवस्थाप्रति संवेदनशील रहने, सकारात्मक अनुशासन अपनाउने, डिजिटल तथा अनलाइन जोखिमबाट जोगाउने लगायतका महत्वपूर्ण विषयमा आफ्नो प्रतिबद्धता जनाउने व्यवस्था गरिएको छ।
नगरपालिकाले विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै विद्यार्थीको सिकाइ, व्यवहार, चरित्र निर्माण तथा जीवनोपयोगी सीप विकासमा अभिभावकको सक्रिय सहभागिता बढाउने उद्देश्यले यो अभियान सञ्चालन गरेको जनाएको छ।
शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार अभिभावकले हस्ताक्षरसहित प्रतिबद्धता जनाएपछि उक्त पत्र विद्यालयमा फिर्ता बुझाइनेछ। यसले विद्यालय, अभिभावक र स्थानीय सरकारबीच उत्तरदायित्व, सहकार्य र विश्वासको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ।
महालक्ष्मी नगरपालिकाले शिक्षा सुधारका लागि विभिन्न नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस अभिभावक प्रतिबद्धता अभियान बालिका शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा विभाग,युनिसेफ को सहयोग तथा एजुकेशन पेजको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। नगरपालिकाले यस अभियानलाई विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीहरूको सिकाइ उपलब्धि, सुरक्षा र सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
यस्ताे हुनेछ पत्रः


- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -