काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आउने निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र योग्यतामा आधारित बनाउनुपर्ने बताएका छन्।
उनले निर्वाचनमा नेताको व्यक्तिगत तजबिज वा पहुँचका आधारमा उम्मेदवारलाई टिकट दिने परिपाटी अन्त्य भएको भन्दै योग्यतामा आधारित उम्मेदवार छनोट प्रक्रिया हुनुपर्नेमा जोड दिए।
रास्वपा ललितपुर महानगरपालिकाद्वारा बडादसैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै आगामी स्थानीय तहको निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने पनि बताए।
आगामी निर्वाचनमा सफल हुन पार्टीले मुख्यतः दुई विषयलाई प्राथमिकता दिनुपर्ने खरेलको भनाइ छ।
पहिलो, जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर कायम राख्दै उनीहरूका आवश्यकता, अपेक्षा र गुनासालाई नजिकबाट बुझ्नुपर्छ।‘जनतासँगको सम्बन्धमा कुनै पनि कमजोरी आउन नदिन पार्टीका नेता तथा कार्यकर्ता सचेत रहनुपर्छ,’ उनले भने।
दोस्रो, उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, व्यवस्थित र योग्यतामा आधारित बनाउनुपर्ने उनले बताए।‘नेताको व्यक्तिगत निर्णय वा पहुँचका आधारमा टिकट वितरण गर्ने परिपाटी अन्त्य भएको छ। उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड र योजनासहित अघि बढ्नुपर्छ,’ उनले भने।
खरेलले वर्तमान सरकारका कामबाट जनता आशावादी र उत्साहित बनेको दाबी गर्दै सरकारले सुशासनका क्षेत्रमा गरेका काम तथा उपलब्धि जनतासमक्ष पु¥याउन पार्टी सफल भएको बताए। यद्यपि, अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
सरकारका उपलब्धि जनतासमक्ष पु¥याउने, जनतासँगको सम्बन्ध बलियो बनाउने र सङ्गठनको मनोबल उच्च राख्ने कामले आगामी निर्वाचनमा पार्टीको सफलताको आधार तयार गर्ने खरेलको भनाइ छ।कार्यक्रममा सरकारका काम, पार्टीको सङ्गठनात्मक अवस्था र आगामी स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरिएको थियो।