काठमाडौँ, यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट आज बहिर्गमन भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज मनसुन बहिर्गमन बुलेटिन–२ जारी गरेर उक्त जानकारी दिएको हो।
गत २०८३ असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बहिर्गमनको सुरुवात भएको थियो।
नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए तापनि यस वर्ष मनसुन १२ दिन ढिलो गरी बाहिरिएको महाशाखाले जनाएको छ। मनसुनको बहिर्गमन भए तापनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।