काठमाडौं– भदौ १६ देखि तोकिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएको छ। महाधिवेशन उद्घाटन हुन ३५ दिन बाँकी रहँदा क्रियाशील सदस्यता छानबिन नै सकिएको छैन। असार ४ गतेको केन्द्रीय समितिले असार मसान्तसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर साउन १२ (मंगलबार) वडा तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका पास गरेको थियो।
तर कार्यतालिकाअनुसार काम हुन सकेन। क्रियाशील छानबिन समितिले अहिलेसम्म काम सकेर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छैन। क्रियाशील विवादकै कारण धनुषा, सर्लाही र बाराका नेताकार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन्। १६५ निर्वाचन क्षेत्रसहित २१० ठाउँबाट सफ्टवेयरमा प्रणालीमा क्रियाशीलको विवरण इन्ट्री गराएको कांग्रेसले ९ लाख क्रियाशील सदस्यता पु¥याएको छ। त्यसरी इन्ट्री गर्दा सभापति देउवा गुटका नेताकार्यकर्ताले मनोमानी गरेर सदस्यता थप गरी पार्टी कब्जा गर्न खोजेको आरोप इतर समूहले लगाउँदै आएको छ।
सदस्यता छानबिनका लागि बनाइएको समितिमा पाँच हजार उजुरी परेको थियो। तर, समितिले बारा र सप्तरीको विवाद हरेको छैन भने करिब १२५ वडाको विवाद समाधान गर्न नसकेको बताइएको छ। क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा साउन १२ (मंगलबार) का लागि तोकिएको वडा तहको अधिवेशनसमेत गत शनिबार बसेको पदाधिकारी बैठकले स्थगन गरिसकेको छ।
निर्वाचन समितिले महाधिवेशन गराउन कम्तीमा ५४ दिन आवश्यक पर्ने बताएको छ। तर, निर्धारित मितिमै महाधिवेशन हुने हो भने अबको ३५ दिनमा महाधिवेशन उद्घाटन हुनेछ। निर्वाचन समितिले वडादेखि जिल्ला तहको अधिवेशनका लागि मात्रै ३८ देखि लाग्ने बताएको छ। यस्तो अवस्थामा कांग्रेस महाधिवेशन अनिश्चिततातर्फ धकेलिँदै गएको छ। संवैधानिक व्यवस्थाअनुसार थप गरिएको ६ महिनाको अवधि (आगामी भदौ) भित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यात्मक अवस्थामा कांग्रेस छ। तर, तयारी हेर्दा भदौभित्र महाधिवेशन हुने संकेत देखिँदैन।
२०७२ सालमा भएको १३ औं अधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको म्याद ०७६ सालमै सकिएको थियो। तर, विधानअनुसार कार्यसमितिको म्याद ०७७ फागुनसम्म थपिएको थियो। थपिएको एक वर्षभित्र पनि महाधिवेशन हुन नसक्दा कांग्रेसले वैधानिकता जोगाउन संविधानको फेरो समातेको छ। संवैधानिक व्यवस्थाअनुसार थप गरिएको ६ महिनाको अवधि (आगामी भदौ) भित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यात्मक अवस्थामा कांग्रेस छ। तर, तयारी हेर्दा भदौभित्र महाधिवेशन हुने संकेत देखिँदैन।
तोकिएको समयमा महाधिवेशन नहुने खतरा बढ्दै जाँदा नेताकार्यकर्ता भने आक्रोशित बन्न थालेका छन्। निर्धारित समयमा महाधिवेशन नहुँदा पार्टीको वैधानिकता नै समाप्त हुने खरता बढेको भन्दै नेताकार्यकर्ता आक्रोशित बन्न थालेका हुन्। उनीहरुका असन्तुष्टि सामाजिक सञ्जालमा पोखिन थालेका छन्।
निर्धारित मितिमा महाधिवेशन हुन्छ वा सर्छ? यसको छिनोफानो मंगलबार हुनेछ। मंगलबार बिहान ९ बजे बस्ने पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यसबार निर्णय लिनेछ। सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा रमेश लेखक नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउनेछ। समितिले प्रतिवेदन पेस गरेपछि महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको बुझिएको छ।