काठमाडौं,नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न तीन तहकै निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पराजित गर्ने दावी गरेका छन् । उनले पाँच वर्षका लागि शासन सञ्चालन गर्न जनमत पाएको एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए ।कांग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका–४ ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा नेता थापाले एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनमा बढार्ने दावी गरे ।
‘पाँच वर्ष आरामले सरकार सञ्चालन गर्नुपर्नेमा राज्य अस्तव्यस्त बनाउने काम भयो । त्यसकारण एमालेले दण्ड पाउनैपर्छ,’ उनले भने, ‘एमालेलाई माथिदेखि तलसम्म कुचो लगाएर बढार्ने हो । यसका लागि कांग्रेसका सबै नेता कार्यकर्ताहरुले एउटा संकल्प गर्नुपर्नेछ ।’उनले तीन वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा भद्रगोल अवस्था सिर्जना गरेको जीकिर गरे । सर्वोच्च अदालतमा देखिएको विवादको कारक पनि ओली सरकार भएको नेता थापाको दावी छ ।
आज अदालतमा जुन खालको परिस्थिति छ, त्यसमा पनि ओली नै दोषी हुन् । अदालतमा सेटिङ गर्ने ओलीको कार्यशैलीको परिणाम हो,’ उनले भने, ‘अख्तियारमा आफ्ना मान्छेहरु भर्ती गर्ने काम भयो । एमाले सरकारले राज्यका सबै ठाउँमा पछिल्ला तीन वर्षमा भद्रगोल अवस्था सिर्जना गरिदिएको छ ।’उनले एमाले पार्टी नभई ओली कम्पनी लिमिटेड भएको आरोप लगाए । ‘फरक मत राख्ने भीम रावल र घनश्याम भुसाल छन् । विचरा भिम रावल देख्दा माया लागेर हुन्छ । फरक मत राख्नेलाई ओलीले कुन दिन पार्टीबाट निकाल्छन,’ उनले भने, ‘त्यो नेकपा एमाले होइन, ओली प्राइभेट लिमिटेड हो । ओली प्राइभेट लिमिटेडले दण्ड पाउनैपर्छ ।’
केन्द्रदेखि सबै प्रदेश सरकार गुमाएको एमालेले कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई ढालिदिने धम्की दिनु हाँस्यास्पद भएको नेता थापाले बताए । एमाले अध्यक्ष ओलीले आफूले चाहे गठबन्धन सरकारलाई एक सातामै ढालिदिने अभिव्यक्ति दिएका थिए ।‘आफ्नो सरकार जोगाउन नसक्नेले तिम्रो सरकार ढालिदिन्छु भनेर फूर्ति नदेखाए हुन्छ । सबै सरकार ढलिसकेको छ । फेरि एक्लाएक्लै प्रतिस्पर्धा गरौं भनिरहेको छ । संघको सरकार गइसक्यो । प्रदेश सरकार गइसक्यो । सडकमा आइसक्यो,’ उनले भने, ‘एमालेले अहिलेसम्म कहिले एकल सरकार बनाएको छ ? एक्लाएक्लै लडे तेस्रो हुन्छ तर सिंगल–सिंगल आइज भन्छ ।