काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिक्रियावादीको उद्धेश्य माओवादीलाई सिध्याउने भएको बताएका छन्।बिहीबार ललितपुरको महालक्ष्मीस्थानमा नेपाल सम्वत् ११४२ को अवसरमा नेवा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले माओवादीलाई सकाउन खोजेको बताएका हुन्।माओवादीलाई कमजोर नपारेसम्म सामन्ती, दलाल र पुँजीपतिहरूको स्वार्थ पूरा नहुने उनले बताए।
’प्रतिक्रियावादीहरू बडो सचेत छन्। उनीहरूले ताकेर माओवादीलाई हिट गर्ने, उनीहरूको उद्धेश्य माओवादी नसिध्याएसम्म माओवादीलाई कमजोर नपारेसम्म उनीहरूको हिजोको सामन्ती भनौं या हिजोको दालाल, पुँजीपतिहरूको स्वार्थ पूरा हुँदैन,’ उनले भने।उनले थपे, ’त्यसकारण माओवादीलाई नसिध्याएसम्म देशले सुख पाउँदैनन् भन्छन्। हामी के भन्छौं– माओवादीबिना जनताले सुख पाउँदैनन्। ती प्रतिक्रियावादी जाली फटाहाहरूले दुःख पाउँछन् माओवादी बलियो भयो भने। त्यो साँचो कुरा हो। हामी तिनलाई दुःख परोस् भन्ने चाहन्छौं जनतालाई सुख होस् भन्ने चाहन्छौं।’
त्यस्तै, केही विद्वानहरूले पनि प्रचण्डलाई सिध्याउन खोजेको उनले बताए।’कतिपय ठूलो विद्वान, ब्युरोक्रेट, विज्ञ भन्नेहरूले बडो तल उत्रिएर माओवादी यो परिवर्तनको मुख्यबाहक पार्टीलाई तल्लो स्तरमा उत्रिएर टिप्पणी गर्दै यो सिध्दिन प¥यो रे देश बन्नलाई,’ उनले भने, ’अर्को एउटा प्रतिगामी प्रतिक्रान्तिकारी भनिएको छ। उसको टार्गेट चाहिँ फेरि माओवादी केन्द्रमा पनि प्रचण्डलाई सिध्याउने अभियानमा छन्। उनीहरूको उद्धेश्य अरू छैन। उनीहरूको उद्धेश्य अन्तर्राष्ट्रिय–देशभित्रका प्रतिक्रियावादी मिलेर सबैले प्रचण्डलाई हराउनेमा छन्।