काठमाडौं,अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासनलाई आधुनिकीकरण, विद्युतीय माध्यमको पूर्ण उपयोग र समग्र पूर्वाधारलाई प्रविधिमैत्री बनाउन आवश्यकता रहेको बताएका छन् ।दिवसका अवसरमा शुभकामना सन्देशमार्फत अर्थमन्त्री शर्माले भनेका छन्, ‘सेवाग्राहीलाई झन्झटरहीत सरल र पारदर्शी सेवा आवश्यकता हो । भन्सार जाँच पासलाई सरल बनाउन आधुनिक उपकरण समेतको व्यवस्था गर्न जरुरी छ ।’
भन्सार प्रशासनमा कार्यरत कर्मचारीले केवल आफ्नो पेसाका लागि मात्र नभई देशकै अर्थतन्त्रलाई बलियो बनाउने जिम्मेवारी भएकोसमेत बोध हुनुपर्ने उनले उल्लेख गरेका छन् ।अर्थमन्त्री शर्माले विगत दुई वर्षदेखिको कोभिड(१९ संक्रमणलाई समेत न्यून गर्न भन्सार प्रशासनले निसंक्रमण तथा शीघ्र जाँच पासका उपाय अपनाएर आपूर्ति व्यवस्थालाई नियमित गर्न र वैदेशिक व्यापारलाई सहजीकरण गर्दै आएको बताएका छन् ।
भन्सार दिवसको अवसरमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीको दिगोपन कायम गरी भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीको व्यापार लागत घटाउन र व्यापार सहजीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्न सफलता मिलोस् भन्दै उनले शुभकामना दिएका छन् ।