काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखापरेको बताए ।
नेकपा एमालेप्रति लक्षित गर्दैप्रचण्डले संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरीतिर फेरि धकेल्ने कसरत गरिरहेको बताए । उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे । अध्यक्ष प्रचण्डले देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको बताउनु भयो । उहाँले आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने की हार्ने भन्ने कुराको निर्धारण गर्ने बताए ।
अध्यक्ष प्रचण्डले गठबन्धनविरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यसपटक मात्रै भएको झैँ नबुझ्न आग्रह गरे ।‘मंसिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै हुँदैछैन । किनकी केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखा परे । संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरीतिर फेरि धकेल्ने कसरतहरु भए । त्यो प्रवृत्ति, विचारका विरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो । अहिले दुई वटा विचार, प्रवृत्ति आमनेसामने भएका छन् । एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर । एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर ।
एउटा लोकतन्त्रका विरुद्ध अर्को लोकतन्त्रका पक्षमा । त्यसकारण ४ गतेको निर्वाचन सामान्य छैन । देशले जित्ने हो कि होइन, संविधानले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचनले । यसलाई गम्भीरतापूर्वक आत्मसाथ गरी जनताको बीचमा बुझाउन आग्रह गर्दछु । यहाँ विभिन्न प्रचारबाजी भएका छन् । गठबन्धन अहिले मात्रै बनको जसरी बुझ्नुपनि उचित हुँदैन,’दाहालले भने ।अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर–७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईलगायतका युवा नेतृत्व संसद्मा पुगेको खण्डमा ऐन, कानुन निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे ।