काठमाडौँ — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी बुधबार साँझदेखि सम्पर्कविहीन छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका उनलाई पक्राउ गर्न प्रहरीले अदालतबाट पुर्जी लिएको केही घण्टामै फरार भएका हुन् ।
गृहजिल्ला अर्घाखाँचीमा बुधबार आयोजित कार्यक्रममा रायमाझी सभामुख देवराज घिमिरेसँगै अतिथि थिए । उनी फर्किएलगत्तै नियन्त्रणमा लिने काठमाडौं प्रहरीको तयारी थियो । काठमाडौं प्रहरीले रूपन्देही, कपिलवस्तु र अर्घाखाँची प्रहरीलाई पनि पक्राउ पुर्जीबारे जानकारी गराइसकेको थियो । तर उनलाई अर्घाखाँची र कपिलवस्तु प्रहरीले अवरोध गरेन । दिनभर सुरक्षा घेराबीच भएको कार्यक्रम सकेर रूपन्देही झरेपछि रायमाझी सम्पर्कविहीन भएका हुन् । उनले नेपाल प्रहरीका पीएसओलाई काठमाडौंमै छाडेर गएका थिए ।
अर्घाखाँचीको कार्यक्रममा सँगै रहेका सभामुख घिमिरे भने काठमाडौं फर्किएका छन् । नेपाल प्रहरीका एक अधिकारीले बुधबार साँझबाट रायमाझी सम्पर्कमा नरहेको र खोजी जारी रहेको जानकारी दिए । बुधबार बुटवलमा पक्राउ परेका छोरा सन्दीपलाई भने काठमाडौं ल्याइएको छ । उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिइसकेको छ ।
शरणार्थीका नाममा ठगी धन्दा चलाउन गिरोह सक्रिय रहेका बेला टोपबहादुर ऊर्जामन्त्री थिए ।