काठमाडौं,आइतबार प्रतिनिधिसभाको वर्षे अधिवेशनको पहिलो बैठक सुरु हुँदानहुँदै नेकपा एमालेका ३ सांसदले सभामुखसँग बोल्न समय मागे । प्रतिनिधिसभा बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठकमा भने आइतबार आकस्मिक, शून्य र विशेष समय नराख्ने सहमति जुटेको थियो । तर सभामुख देवराज घिमिरेले बैठक सुरु नगर्दै एमालेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले समय मागे भने नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि समय मागे ।
सभामुख घिमिरेले बोल्न समय दिने भन्दै बैठक सुरु गर्न दिन आग्रह गरेपछि सांसदहरु बसे । सुरुमै समय पाएका एमाले प्रमुख सचेतक गिरीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणलाई प्रतिनिधिसभामा प्रवेश गराए । गत २२ भदौमा राष्ट्रियसभा बैठकमा एमालेकै सांसद पार्वती रावलले यो विषय उठाएको सम्झदै गिरीले अहिले मिडियामा आएको कुरा नौलो नभएको बताए ।
‘गत भदौ २२ गते राष्ट्रियसभामा एमालेकै सांसद पार्वती रावलले यस विषयमा गम्भीरताका साथ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस विषयलाई सरकारबाट सुन्ने काम भएन । आजका मितिसम्म ल्याउने काम भयो’, गिरीले भनेका थिए ।
यो प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ र हाल उनी फरार छन् । तर गिरीले अरु भ्रष्टाचार प्रकरण अगाडि बढाउन माग गरे । ‘जुनसुकै हिसाब र जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचारहरु हुन् । अनियमितताहरु हुन् । कानुनलाई हातमा लिने कुराहरु हुन्’, उनको माग थियो, ‘यी सबै विषयहरुलाई छानबिनको दायरामा ल्याउनुपर्छ । कानुनको दायरामा ल्याउनुपर्छ ।’
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली शरणार्थी ठगी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई इमानदारिताका साथ बुझाउन एमालेलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले प्रधानमन्त्री प्रचण्डले बोलेका कुरालाई एमालेले विषयान्तर गर्न खोजेको भन्दै भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिबद्ध हो भने टोपबहादुरलाई बुझाउन आग्रह गरे ।
प्रचण्डले भ्रष्टाचारी माथि सरकारले टेलर देखाएको अब फिल्म देखाउन बाँकी छ भन्ने अभिव्यक्तिलाई एमालेले खिसीटिउरी गरेको बताउँदै उनले भने,‘एमाले भ्रष्टाचारीलाई कारबाही गर्न इमानदार हो भने तपाईँहरू विषयान्तर नगर्नुस्, सम्माननीय प्रधानमन्त्रीले बोल्नुभएका कुरालाई जे खिसीटिउरी गरिराख्नुभएको छ, तपाईँहरूलाई नै त्यसले नाङ्गो बनाइराखेको छ । इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याएर बुझाउनुहोस्, त्यसैमा तपाईँहरूको कल्याण छ । म चुनौती दिन चाहन्छु विषयान्तर गर्ने, खिसिटिउरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्न खोज्ने तपाईँहरूको शैलीलाई राजनीतिक ढंगले प्रस्तुत गरेन ।’
नियतमाथि प्रश्न
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सांसदहरुले लगभग एकै शैलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका छन् । रायमाझीलाई पक्राउ पूर्जी जारी भएपछि प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिलाई उदाहरण बनाउँदै एमाले सांसदहरुले सरकारको नियतिमाथि प्रश्न गरेका छन् ।
‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं । बाइडबडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको पनि छानबिन गरौं’ प्रमुख सचेतक गिरीले चुनौतीको भाषामा भने ।
गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्नेकाम सुरु भइसकेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धान टे«लर मात्रै भएको टिप्पणी गरेका थिए । ‘यो ट्रेलर मात्रै हो । यो सिंगो फिलिम देखिन्छ । सिंगै फिलिम देखिनेवाला छ’ प्रचण्डले भनेका थिए ।
प्रचण्डको यही अभिव्यक्तिलाई लिएर एमाले सांसदहरुले अन्य भ्रष्टाचार प्रकरणमा छानबिन अगाडि बढाउन माग गरे । ‘क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यू’, एमाले सांसद सूर्य थापाले भने, ‘त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस् ।’ थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि प्रश्न गरे । ‘म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु, कमानसिंह लामा ठगी प्रकरणको फिल्म हेर्न चाहन्छु । त्यो फिल्म हेर्ने व्यवस्था गर्नुस् ।’
एमाले सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनप्रति नै प्रश्न उठाए । यो प्रकरणमा कसैलाई उन्मुक्ति दिने र कसैमाथि छानबिन अगाडि बढाउने नियत भएको हुनसक्ने बर्तौलाको भनाइ थियो ।
नक्कली शरणार्थीलाई अपराधीको संज्ञा
एमाले सांसद थापाले नक्कली भुटानी शरणार्थी भएर अमेरिका जाने नेपालीहरुप्रति धेरै रुवाबासी नगर्न आग्रह गरेका छन् । ‘नागरिक विदेशी भएर, नक्कली शरणार्थी भएर, देशको नागरिकता त्यागेर रुवासबासी गर्दै हिँड्न जरुरी छैन’, थापाले भने, ‘कोही नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान चाहने नागरिक हो भने त्यो अपराधी हो । अपराधीको बारेमा धेरै रुवाबासी नगरौं ।’
थापाको अभिव्यक्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद बैठकमै नियमापत्ति गरे । ‘एउटा नागरिकलाई बाध्यता पारिएको छ । नागरिकता त्यागेर, ५०÷५० लाख तिरेर शरणार्थी बन्न बाध्य पार्ने यी दलहरु, अझ अहिले उनीहरुलाई उल्टो कारबाही गर्नुपर्छ भन्ने ?’, शाहीले प्रश्न गरे ।
सत्तारुढ सांसदहरुले भने नक्कली भुटानी शरणार्थी प्रकरणलाई एमालेले विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । ‘प्रमुख प्रतिपक्षी भ्रष्टाचारीहरुलाई कारबाही गर्नका लागि इमानदार हो भने तपाईंहरु विषयान्तर नगर्नुस्, माओवादी केन्द्रका सांसद माधव सापकोटाले आग्रह गरे ।
बरु यो प्रकरणमा जोडिएका रायमाझीलाई प्रहरीकहाँ बुझाइदिन उनले सुझाव दिए । ‘इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुहोस् त्यसैमा तपाईंहरु (एमाले सांसदहरु) को कल्याण छ’, सापकाटाले भने, ‘विषयलाई विषयान्तर गर्ने, खिसिट्युरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्ने जे तपाईंको शैली छ । यसले तपाईंलाई राजनीतिक ढंगले प्रस्तुत गरेन ।’