काठमाडाैँ, नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइलमात्रै नभई फायर खोल्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नक्कली भुटानी शरणार्थी भ्रष्टाचारको फाइल खोलेर मात्रै नहुने भन्दै यसलाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्ध फाइलमात्रै होइन, राज्य फायर खोल्नुपर्छ । सँगै निर्दोष कोही फस्नुहुन्न । दोषी कोही बच्नु पनि हुन्न । भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हदम्यादको प्रस्ताव विरोधाभासपूर्ण छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खोलिएको फाइललाई निष्कर्षमा पु¥याउनुपर्छ ।’
सांसद शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले देशको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव पनि दिनुभयो ।
सांसद शर्माले नेपालको प्रशासनिक काममा अझै कायम झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरूको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिनुभयो ।
पुल बनाउने र सडक बनाउने कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उहाँले विश्वका सबैभन्दा ठूलो र अर्थतन्त्रमा शक्तिशाली राष्ट्र २०५० सम्म चीन र त्यसपछि भारत शक्तिशाली हुने भनिएको हुँदा नेपालले पनि भिजन ९५ लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा रोजगारीको सिर्जना गर्नुपर्ने खालको बजेट विनियोजना गर्नुपर्नेमा
जोड दिँदै उहाँले विवशताको आँसु बगाउँदै कोही पनि नेपालीमा विदेशमा जानुपर्ने वतावरणको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद शर्माले सत्तापक्ष र प्रतिपक्ष जो भए पनि कमजोरी र उपलब्धि सबै साझा भएको हुँदा प्रतिकूलतामा बाँचिएको भए पनि अबको हरेक क्षेत्रलाई समृद्ध बनाएर एकताका साथ अघि बढनुपर्ने सुझाव दिनुभयो ।