काठमाडौँ,सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरेका छन् ।
‘मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ’ सोमबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर उनले भने, ‘यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्न सरकारलाई उनको आग्रह छ ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसको लापरबाही कारण झन्डै ५ सय विद्यार्थीको भविष्यमा नै प्रश्न चिन्ह खडा हुने स्थिति आएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने– ‘आर आर क्याम्पस भन्छ, त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो, त्रिविको परीक्षा नियन्त्रण कार्यालय भन्छ, हाम्रो गल्तीले कमजोरी भयो । एकले अर्कोलाई दोषारोपण गर्ने र ५ सयभन्दा बढी विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने काम भइरहेको छ । २ वर्षअघि ढिला गरी परीक्षा भयो, त्यसको १ वर्षपछि नतिजा आयो तर ५ सय विद्यार्थीको नतिजामा अनुपस्थित देखियो ।’
यस्तै आन्तरिक शिक्षकले दिने नम्बरमा पनि तलबितल गर्ने काम भएको गुनासो आएको सापकोटाले बताए । उनले सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषी उपर गम्भीर कारबाहीको माग गरेका छन् ।