काठमाडाैँ,जनता र पार्टी कार्यकर्तालाई राजनीतिसँगै दैनिक जीविकासँग जोड्ने आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको अभियान यतिखेर रुकुम पश्चिममा देखिएको छ । जिल्लास्थित छरपष्ट सहकारीलाई सुदृढ र जागृत गराउँदै किसानको हितमा लगाउने दीर्घकालीन अभियानअन्तर्गत नेकपा खटिएको हो । विशेष गरी नेकपाको पहलमा जिल्लाका कृषकलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी कार्यक्रम सञ्चालन गरिएको बताइन्छ ।
संघीय सांसद तथा पूर्वमन्त्री जनार्दन शर्माको योजना, निर्देशन र सक्रियतामा उक्त अभियान शुरु भएको हो । उनले यसबीच विभिन्न बैंक तथा वित्तीय संस्थालाई सहुलियत ब्याजदरमा किसानलाई ऋण उपलब्ध गराउन आवश्यक पहल गर्दै एमओयुको चरणमा पु¥याएका छन् ।
यस अभियानको लागि चौरजहारी नगरपालिकामा कर्णाली प्रदेश सांसदसमेत रहेका नेकपा जिल्ला अध्यक्ष गोपाल शर्मा खटिएका छन् भने मुसिकोट नगरपालिकामा पार्टीसचिव विमल पुनको कमाण्ड । आठबिसकोट नगरपालिकामा केन्द्रीय सदस्य जिल्ला सह इञ्चार्ज वसन्तकुमार शर्मा खटिएका छन् भने त्रिवेणी गाउँपालिकामा जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले जिम्मेवारी पाएका छन् ।
त्यसैगरी बाँफिकोट गाउँपालिकामा कर्णाली प्रदेश सदस्य महेन्द्र केसीले कमाण्ड गरेका छन् भने सानीभेरी गाउँपालिकामा केन्द्रीय सदस्य शेरबहादुर केसी हर्ताकर्ता छन् । झण्डै तीन दशकअघि विद्यालयको प्रधानाध्यापक रहेका केसी पेन्सन हुन केही महिना बाँकी छँदै तत्कालीन महासचिव मदन भण्डारीको राजनीतिक लाइनको पूर्ण समर्थन गर्दै राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका थिए ।
यस अभियानअन्तर्गत जनार्दन शर्माले विभिन्न ६ वटा बैंकबाट जिल्लाका ६ वटा पालिकासँग सम्झौता हुने वातावरण मिलाइदिएका छन् । प्राप्त जानकारीअनुसार यसै आर्थिक वर्ष ती बैंकले कृषकहरूको लागि करिब ६ अर्ब लगानी गर्नेछन् । लगानी फलफूल खेती, मसलाबाली, नगदेबाली, अन्नबाली, मासु तथा दुग्ध उत्पादनमा हुनेछ । लगानीको लागि मुसिकोटमा कृषि विकास बैंक, चौरजहारीमा राष्ट्रिय वाणिज्य बैंक, आठबिसकोटमा सेञ्चुरी बैंक, सानीभेरी गाउँपालिकामा सनराइज बैंकले सम्झौता गर्नेछन् । त्यसैगरी त्रिवेणी गाउँपालिकामा लक्ष्मी बैंक र बाँफिकोट गाउँपालिकामा ग्लोबल बैंक अग्रसर हुने । एक किसानलाई दुई लाख लगानी गरिनेछ भने उक्त कार्य सफल पार्नको लागि दश घरधुरी बराबर एक सहकार्य समूह बनाइनेछ ।
पार्टी एकतापश्चात् तत्कालीन एमाले तथा एमाओवादी दुवै तर्फको जिम्मेवारीमा नरहेका पुराना कार्यकर्तालाई सहकारी तथा कृषक अभियानमा जोड्ने काम जोडतोडसाथ भइरहेको छ । नमुना कृषि र कृषक बनाउने अभियानअन्तर्गत ड्रागन फ्रुट, किवी, ओखर र भुइँ स्याउको व्यावसायिक खेतीतर्फ आवश्यक पहल भइरहेको छ ।
पछिल्लो चरणमा किसानको संख्या बढेको छ भने जिल्लामा उत्पादित कृषि उपजहरूको लागि जिल्ला सदरमुकामको साथै दाङ, नेपालगञ्ज, बुटवल र राजधानी काठमाडौंसम्म बजारिकरण भइरहेको बताइन्छ । रुकुम पश्चिम विशेषगरी तरकारीको बीउ, बेसार खेतीको लागि पहिलेदेखि नै प्रख्यात छ । यहाँको मह पनि सबैले रुचाउने गरेको पाइन्छ । पहिले थोरै परिमाणको घ्यू बेच्न पनि सदरमुकाम नै पुग्नुपर्ने किसानको गाउँ गाउँमा दुग्ध डेरी स्थापना भएको छ । दुग्ध पदार्थ उत्पादन यसबीच निकै बढेको छ । घिउको सट्टा दूध बेच्न थालेपछि साना किसानको नियमित आम्दानीको स्रोत देखिन थालेको छ । जन आस्थामा खवर छ ।