सुर्खेत, कर्णाली प्रदेश अस्पतालले घरमै बसेका कोरोना सङ्क्रमितहरुको उपचार सहज गराउन टेलिमेडिसिन सेवा सुरु गरेको छ । घरमा होम आइसोलेशनमा बसेका सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्ने र परामर्श दिने उद्देश्यले बिहीबारदेखि सेवा सुरु गरेको हो ।
अहिले लक्षण नदेखिएका अधिकांश सङ्क्रमितहरु घरमै बसेकाले केही समस्या हुन सक्ने भन्दै टेलिमेडिसिन सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालका निमित्त निर्देशक डाक्टर गणेश थापाले घरमा बस्दा कतिपय सङ्क्रमित सल्लाह नपाउँदा तनावसमेत हुने गर्दा होम आइसोलेशन बस्नेलाई सहयोग गर्ने बताउनुभयो । उहाँले टेलिमेडिसिन सेवाका लागि सङ्क्रमितले प्रदेश अस्पतालको फोन नं. ९८५८०७०२४६ र ९८५८०७०२४८ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीले चिकित्सकहरुले टेलिमेडिसिनमार्फत सङ्क्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र केही समस्या आए तत्काल अस्पताल ल्याउन यातायातको व्यवस्था गर्ने जानकारी दिनुभयो । उहाँले होम आइसोलेशनमा बसेका सङ्क्रमितको दैनिक निगरानी गर्ने हुँदा जटिल प्रकृतिका बिरामीको उपचारमा समेत सहज हुने बताउनुभयो ।