काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुगेका छन्। संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार बिहान ७ः३० मा त्यहाँ पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्डले सो कार्यक्रमलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। प्रधानमन्त्रीलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
अतिकम विकसित राष्ट्रहरुको अध्यक्षको हैसियतमा उक्त कार्यक्रमको उद्घाटन समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्। हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्युरोको अध्यक्षता ग्रहण गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल शनिबार इटालीतर्फ प्रस्थान गरेको थियो। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनको स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन् ।
यस्तै प्रधानमन्त्री दाहाल विद्यालय भोजनका बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन। यसैगरी उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफल समेतमा सहभागी हुनेछन्।

















