काठमाडौंःअधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता अनिल अधिकारीका अनुसार उनीविरुद्ध प्रहरीमा केही दिनअघि जाहेरी परेको थियो।
तामाङ समुदायको अपमान गरेको र जातीय स्वाभिमानमा चोट पुर्याएको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो। जाहेरीमा उनले जातीय विभेद् गरेको भन्दै कारबाहीको माग गरिएको छ। पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मिने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने भन्ने आशयको विचार राखेकी थिइन्।
उनले नेपालका केही समुदायमा मामा र फुपुका छोराछोरीबीच विवाह हुने गलत प्रचलन रहेको बताएकी थिइन्। तामाङ र मगर समुदायले आफूहरूको संस्कृतिलाई अपमानित गरेको भन्दै पाण्डेको आलोचना गरेका छन्।