काठमाडाैँ, कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ ।गौतमले सभामुख रहेकै बेला मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गर्नुभएको थियो । त्यहीबारेमा कानुनी प्रश्न लिएर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापाको सरकार नै ढलेको थियो । सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न नपाउने अवस्था र सभामुखका रूपमा विवादमा तानिइसकेको अवस्थाका कारण आफूले सभामुख पद त्याग्ने निर्णय गरेको गौतमले बताउनुभएको छ ।
गौतमले मङ्गलवार दिउँसो उपसभामुख सृजना दनुवारलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाउनुभएको छ । उहाँले प्रमेद प्रमुखको कार्यालयमा पनि राजीनामा पत्र पठाउनुभएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादीका संसदीय दलका नेताले हस्ताक्षर गरी उद्धव थापालाई नै मुख्यमन्त्रीमा समर्थन गर्ने र थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।