spot_img

डोल्पालीको सडक सास्ती

spot_img

डाेल्पा, भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा १ सय १७ किलोमिटर कच्ची सडक छ । नेपालगन्जबाट भने दुनैसम्मको दूरी २ सय ७२ मिलोमिटर छ । तर यो बाटो पार गर्न डोल्पालीले कम्तीमा ६ वटा गाडी बदल्नुपर्छ भने भाडामा मात्रै करिब ५ हजार रुपैयाँ खर्च हुन्छ ।

डोल्पाको मुट्केचुलाका डिलप्रकाश रोकायले गत आइतबार नेपालगन्जबाट दुनै पुग्दा २४ घण्टाको सास्तीपूर्ण यात्रा गर्नुपरेको बताए । ‘कतिबेला दुर्घटना हुने हो भन्ने डरैडरमा दुनै पुगियो, बाटोमा ६ गाडी बदल्यौं,’ उनले भने, ‘बर्खामा बढेका खोला, बाढीपहिरोसँग पौठेजोरी खेल्दै भगवान भरोसामा यात्रा गरियो ।’

यसै पनि यो मार्गमा सिधा आवतजावत हुने अवस्था छैन । झन् बर्खामा डोल्पालीले धेरै सास्ती बेहोर्ने गरेका छन् । डोल्पाको खदाङका भक्तबहादुर रोकायका अनुसार दुनैबाट छलगाडसम्म पहिलो गाडी, त्यहाँबाट ५ सय मिटरजति हिँडेर चुगाड खोला तरेपछि दामाचौरसम्म दोस्रो गाडी, दामाचौरबाट रुकुम पश्चिमको मूलतरासम्म तेस्रो गाडी र मूलतराबाट रुकुम–जाजरकोट सिमानामा पर्ने भेरी नदीको झोलुंगे पुल गरेर तल्लुमा चौथो गाडी चढ्नुपर्छ । फेरि चौखाबाट पाँचौं गाडीमा तातरगाड र छैटौं गाडी चढेपछि बल्ल दुनै पुगिन्छ । ‘यहाँ ६ वटा गाडी त बर्खामा अनिवार्य हो । पानी धेरै परेपछि अरू पनि खोला बढ्छन् अनि त गाडी नै नपाउने अवस्था पनि आउँछ,’ उनले भने ।

जाजरकोट–डोल्पा सडक खण्डलाई राष्ट्रिय सडक सञ्जालसँग जोडिएको प्रचार गरिए पनि अझै अधुरै रहेको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली बताउँछन् । उनका अनुसार यो सडकखण्डअन्तर्गत जाजरकोट र रुकुम जोड्न तल्लु बगरमा पुल निर्माण नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । निर्माणको अन्तिम चरणमा रहेको तल्लुको बेलिब्रिज गत वैशाख ७ मा भाँचिएको थियो । पुल निर्माणको कामले थप समय लिने देखिएको उनले बताए ।

बर्खामा खहरे खोला बढ्दा र ठाउँठाउँमा पहिरो झर्दा डोल्पा पुग्न सास्ती भइरहेको त्रिपुराकोटकी रमिता बुढाले बताइन् । ‘सबै ठिकै हुँदा त ठिकै छ, जसोतसो गाडीमा बसौंला तर दुःख–बिराम पर्दा कसो गर्ने ?,’ उनले भनिन्, ‘बिरामी परिगए त गाडीभित्रै मर्ने नै होला नि, बर्खामा हामीलाई नेपालगन्ज र सुर्खेत पुग्न पनि अर्के मान्नमी (पृथ्वीको अर्को भाग) पुगेको जस्तो हुन्छ ।’ जाजरकोटको तातरगाडसम्म बस चल्छन् । त्यहाँमाथि जिपहरू चल्छन् । बर्खामा खोला बढेका बेला गाडी वारपार हुन नसक्दा पाँच वटा जिप फेर्दै तातरगाडसम्म बस चढ्न पुग्ने गरेका हुन् । जिपले मनपरी भाडा लिने गरेको छ । दुनैबाट नेपालगन्ज पुग्दासम्म भाडा र खाना खर्चमात्रै ५ हजार रुपैयाँ पुग्ने बुढाले बताइन् ।

सडक मार्ग सहज नहुँदा डोल्पामा विकल्पका रूपमा हवाई यात्रा छ । तर जुफाल विमानस्थलमा दुई सातादेखि जहाज आएको छैन । जसका कारण स्थानीयलाई सडक मार्गबाटै कष्टकर यात्रा गर्नुको विकल्प नभएको दुनैका राजेश बुढाले बताए । ‘हाम्रा लागि त गाडी आयो भन्नु मात्र हो,’ उनले भने, ‘सधैं भगवान् भरोसामा यात्रा गर्नुपर्छ ।’ सहायक प्रजिअ ज्ञवालीका अनुसार नेपाल एयरलाइन्स, तारा र समिट एयरले यसअघि नेपालगन्जसम्म उडान भर्ने गरेका थिए । तर मौसम खराब भनेर जहाज आउनै नमान्ने गरेको उनको भनाइ छ । जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत रत्नवीर सुनारले जहाज नचल्दा बिरामीलाई बाहिर पठाउन समस्या भएको बताए । ‘सबै बिरामीलाई यहाँ उपचार गर्न सम्भव छैन, यस्तो अवस्थामा रिफर गर्दा पनि बिरामीको बाटैमा ज्यान जाने जोखिम छ,’ उनले भने, ‘सौभाग्य नै भन्नुपर्छ अहिलेसम्म त्यस्ता जटिल बिरामी आएका छैनन् ।’

बर्खायाम सुरु भएसँगै असार अन्तिमबाट डोल्पाको आवागमनमा सास्ती थपिएको दुनैका व्यवसायी पदम शाहीले बताए । ‘५–६ ठाउँमा सामान एउटा गाडीबाट अर्को गाडीमा राखेर र कतै बोकाएर ढुवानी गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसैले सामान ढुवानी गर्नै समस्या भयो, यहाँ पुगेका सामान पनि भिजेका फुटेका अवस्थामा आउन थालेका छन् ।’ उनका अनुसार ढुवानी असहज भएपछि साविकभन्दा २५ प्रतिशत महँगोमा दैनिक उपभोग्य सामान बिक्री गर्नुपर्ने बाध्यता छ । यसअघि नेपालगन्जबाट प्रतिकिलो २० रुपैयाँ ढुवानी भाडा भए पनि अहिले ४० रुपैयाँसम्म तिर्नुपरिरहेको उनले बताए ।

अहिले बजारमा दैनिक उपभोग्य सामान महँगोमा बिक्री भइरहेको, छोटो दूरीमा चल्ने सवारीसाधनले महँगो भाडा लिएर क्षमताभन्दा धेरै यात्रु राखेकोजस्ता गुनासा बढिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले बताए । ‘यहाँका नागरिकलाई यातायातका कारण निकै सास्ती छ, हामीकहाँ आएका गुनासा समाधान गर्न अनुगमन सुरु गर्न लागेका छौं,’ उनले भने, ‘अहिले यहाँको सडक यातायात सेवा प्रभावकारी छैन, जहाजसमेत सञ्चालनमा नरहेको अवस्थामा आपत्कालीन रूपमा हेलिकोप्टरबाहेक अरू विकल्प छैन ।अाजकाे कान्तिपुर दैनिकमा खवर छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img