काठमाडौं, नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको बुधबार शल्यक्रिया गरिएको छ।आज बिहान करिब ११ बजेदेखि कीर्तिपुर बर्न अस्पतालमा शल्यक्रिया जारी रहेको उनका स्वकीय सचिव बोधराज कँडेलले बताए।
निवास बुद्धनगरमा गत फागुन ३ गते बेलुकी खाना पकाउने ग्यास लिक भई चन्द्र र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए।उपचारका क्रममा हरिकलाको गत फागुन ४ गते कीर्तिपुरस्थित अस्पतालमा निधन भएको थियो।सोही दिन थप उपचारका लागि सांसद भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न अस्पताल लगिएको थियो।
करिब तीन महिना उपचारपछि भण्डारी गत वैशाख १७ गते स्वेदश फर्किएका थिए। उनी गत जेठ १० गतेदेखि प्रतिनिधि सभा बैठकमा सहभागीसमेत भइरहेका छन्।भण्डारीका स्वकीय सचिव कँडेलका अनुसार जलन भएको दाहिने हात लगायतमा शल्यक्रिया गरी नयाँ छाला राखिएको छ। यसका लागि क्यानडाबाट एक जना डाक्टर पनि आएका छन्।
डाक्टरहरू बिडी झा, शंकरमान राई, किरणकिशोर नकर्मी, टिमोथी स्प्रौल, अनूप सुवेदी, प्रदीपराज भण्डारी, प्रवीन गिरी, निजिना ताम्राकार, मोहनकृष्ण डंगोलसहित चिकित्सक टोलीले सांसद भण्डारीको शल्यक्रिया गरेका हुन्।