काठमाडाैँ, पछिल्लो सुन तस्करी प्रकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीमाथि प्रश्न उठेपछि सरकारले सुधार प्रक्रिया अघि बढाएको छ । केही दिनभित्र कार्यदल गठन गरी विमानस्थलको सुरक्षा–प्रबन्धमा हेरफेर गरिँदै छ । सरकारले राज्यका निकायहरूबीच अन्तरनिकाय समन्वयमा जोड दिन चाहेको छ ।
यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बुधबार उच्चस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा विमानस्थलको सुरक्षा–प्रबन्ध, अन्तरनिकाय समन्वय र सरकारले चाल्नुपर्ने कदमबारे छलफल भएको थियो ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थलको सुरक्षामा सुधारका लागि कार्यदल बनाइने र त्यसले दिने सुझावका आधारमा विमानस्थलको सुरक्षा–प्रबन्धमा हेरफेर गरिने बताएका छन् । ‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा–प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने वेला भएको छ,’ प्रधानमन्त्री प्रचण्डले बैठकमा भने, ‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ । कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र उसले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा–प्रबन्धमा हेरफेर ल्याउनुपर्छ । हामी छिट्टै एउटा निर्णयमा पुग्छौँ ।’
गत २ साउनमा विमानस्थलबाट तस्करी भएर बाहिरिएको करिब ६० केजी सुनको विषयमा विमानस्थलस्थित भन्सार कार्यालय, प्रहरीलगायत निकायमाथि प्रश्न उठ्दै आएको छ । यो घटनाले सिंगो विमानस्थलकै सुरक्षा प्रणाली उदांगो भएपछि सरकारले त्यहाँ रहेका निकायहरूबीच प्रभावकारी समन्वय गरी सुरक्षा मजबुत बनाउने प्रयास थालेको हो ।
बैठकमा सहभागी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ–नयाँ प्रविधिको प्रयोग भएको बताउँदै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरूबीच अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्नेमा जोड दिँदै राज्यका सबै निकायमा दण्ड र पुरस्कारको व्यवस्था गरेर जानुपर्ने बताए ।
बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले त्रिभुवन विमानस्थललगायत देशभरिका विमानस्थलको अवस्था, सुरक्षा व्यवस्थापन, विमानस्थलमा कार्यरत कार्यालय र निकायहरूको कार्यजिम्मेवारीबारे ब्रिफिङ गरेका थिए । उनले अन्तर्राष्ट्रिय विमानस्थलको आगमनमा सुरक्षा निकायलाई पहुँच नहुने भएकाले यसले पनि समस्या भएको बताएका थिए ।
स्रोतका अनुसार आगमन र भन्सारमा पनि नेपाल प्रहरी वा सशस्त्र प्रहरी खटाउनेबारे छलफल भएको थियो । आगमनमा सुरक्षा निकायलाई जाँचमा सहभागी नगराउँदा विमानस्थलमा पटक–पटक सुरक्षा त्रुटि हुँदै आएको छ । तर, अर्थ मन्त्रालयको असहमतिका कारण आगमनको जाँचपासमा सुरक्षा निकायले अनुमति पाएको छैन । विमानस्थलमा अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन बुधबारको बैठक केन्द्रित भएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।
प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा रक्षामन्त्री खड्का र अर्थमन्त्री महतसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । त्यस्तै, प्रधानमन्त्रीका सल्लाहकारहरू, राष्ट्रिय सुरक्षा सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, राष्ट्र बैंकका गभर्नर, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकहरू सहभागी थिए ।
६० किलो सुन तस्करी प्रकरणमा थप चार चिनियाँ पक्राउ
६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप चार चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा टियान मी, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई छन् । पक्राउ परेकामध्ये मी महिला र अन्य तीन पुरुष हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले सुन प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ परेको बताए । ‘सुन तस्करी अनुसन्धानका क्रममा थप चार चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूविरुद्ध पाँच दिनको म्याद थप भएको छ । घटनामा उनीहरूको संलग्नता रहेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धान जारी छ,’ उनले भने ।
सिआइबीले सात दिनयता चप्पल कारखाना, सुकेधारा, सामाखुसी, बाँसबारी र बौद्धमा अवैध रूपमा खोलिएका सुनका गोदाम फेला पारेको थियो । गोदामबाट सिआइबीले सुन जोख्ने तराजु, गाल्ने मेसिनलगायतका सामग्री बरामद गरेको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ पर्ने हालसम्म २२ पुगेका छन् । जसमध्ये दुई चिनियाँ नागरिक ली जियाइलियन र लिउ फुयानलाई घटनामा संलग्नता नदेखिएको भन्दै छाडेको छ । स्वास्थ्यको कारण देखाउँदै पक्राउ परेकी रुक्मिना सुब्बालाई पनि हिरासतमुक्त गरिएको छ । बाँकी अभियुक्त भने हिरासतमै छन् ।
हिरासतमा अभियुक्त भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई, कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट, राजन श्रेष्ठ रहेका छन् । त्यस्तै, भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेमा खटिएका सरोज श्रेष्ठ, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र सुरेन्द्र तामाङ पनि हिरासतमा छन् । त्यस्तै, तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ पनि हिरासतमै छन् ।
उनीहरूविरुद्ध अहिले अवैध सुन चोरी पैठारी तथा संगठित अपराधअन्तर्गत अनुसन्धान भइरहेको छ । राजस्व अनुसन्धान विभागले गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट तस्करी भएर आएको सय केजी सुन बरामद गरेको थियो । विभागले ट्याक्सीचालक अशोक लामा र रेडी ट्रेडका सञ्चालक दिलीप भुजेललाई घटनास्थलबाट पक्राउ गरेको थियो । उनीहरूकै बयानका आधारमा विभागले थप १६ अभियुक्तलाई पक्राउ गरेको थियो । अनुसन्धानको १९ दिनपछि विभागले पक्राउ परेका अभियुक्तसहित घटनासँग सम्बन्धित सम्पूर्ण कागजात तथा दसी–प्रमाण सिआइबीलाई बुझाएको थियो ।अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ ।