रूपक कुलाल,डाेल्पा
हिमाली जिल्ला डोल्पाकाे उत्तरी भेगमा पर्ने चिनसँग सिमाना जोडिएक मोरिम्ला र क्याटो नाका कोभिड–१९ काे संक्रमण देखि बन्द छन्। इतिहास देखि उपल्लाे डाेल्पाका जनता चिनबाट खाद्यान्न,लत्ताकपडा लगाएतका सामग्री ल्याउने र यार्सागुम्वा लगाएतका जडिजुटी बेच्ने गर्दथे। निश्चित समयका लागि खुलेपनि जनतालाइ निकै राहत मिलेकाे थियाे । तर काेराेना संक्रमणपछि नाकाहरू नखुल्दा स्थानीयले खाद्यान्न संकट झेल्नु परेकाे छ।
लामो समय देखि नाका नखुल्दा उपल्लो डोल्पाका जनताले खाद्यन्न लगायतका दैनिक उपभोग्य खाद्यान्नका सामग्रीकाे भाउ बुढानी खर्चका कारण महंगीकाे मार खेप्नु परेकाे छ भने सामान ढुवानीमा समेत चरम सास्ती खेप्नु परेकाे शे फाेक्सुण्डाे गाउँपालिका उपाअध्यक्ष पेमा वाङ्गछेन गुरूङले जानकारी दिए । विशेष गरी डोल्पाबासीले नुन,तेल,चामल, मोटरसाइकल,लत्ताकपडा लगायतका बस्तुहरु आयात गर्ने गरेकाे र जडिबुटी लगाएतका सामग्री बेच्ने गरेकाे उपाअध्यक्ष गुरूङकाे भनाइ छ।
नाका खाेल्ने विषयमा विभिन्न माध्यमबाट सरकार समक्ष आग्रह गरेपनि हालसम्म सुनुवाइ नभएकाे उपल्लाे डाेल्पावासीकाे गुनासाे छ। यस्तै बुधबार डोल्पाका सांसद धन बहादुर बुढा र शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङ्ग सहितको टोलीले परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलाइ भेटेर नाका खोल्नेबारे सरकारले पहल गर्दिन ध्यानाकर्षण गराएका छन्।
चिनको स्वसासित क्षेत्र तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टिले ब्यापारीक नाका केही दिनकालागि खुल्ने भएकाेले यताका मोरिम्ला र क्याटो नाका १ महिनाका लागि भएपनि खोलिदिन आग्रह सहित अनुरोध पत्र दिएर ध्यानाकर्षण गरेकाे सांसद बुढाले जानकारी दिए।
नाका खुले उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो,डोल्पोबुद्व र छार्काताङ्सोङ् गाउँपालिकामा जनतालाइ केहि राहत हुनुका साथै ब्यापारिक नाका भएकाेले राज्यलाइ समेत टेवा पुग्ने देखिन्छ।



















