“कर्णालीका सांसदकाे प्रश्न बाटाे छैन गाडी पनि नगुड्ने हवाइ सेवा पनि ठप्प पारेर कर्णालीका जनतालाइ मार्न खाेजेकाे”
काठमाडौं,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कर्णालीमा जहाज र हेलिकोप्टरमाथि लगाइएको प्रतिबन्ध हटाउन आफू तयार रहेको बताएका छन्। कर्णाली प्रदेशका प्रतिनिधिसँगको डेलिगेसनमा उनले कर्णालीलगायत दुर्गम क्षेत्रमा देखिएको समस्या ३ दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाएपछि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प भएको छ। जसका कारण त्यहाँका नागरिकहरू प्रत्यक्षमा मारमा परेका छन्। प्राधिकरणको नियमका कारण हवाइजहाज र हेलिकोप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्युसमेत भएको छ। त्यहाँको अस्पतालमा उपचार हुन नसकेपछि रिफर भएका उनीहरूको उपचार नपाएरै मृत्युवरण गर्न पुगेको भन्दै कर्णाली अगुवाहरू आक्रोशितसमेत बनेका छन्।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएपछि उनको चौतर्फी आलोचना भइरहेको छ। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री किराँतीलाई भेटेर कर्णालीबासीले प्राधिकरणको नयाँ नियमको कडा आलोचनासमेत गरे। पूर्वमन्त्री मोहन बानियाले प्राधिकरणको नेतृत्वले सनकको भरमा लगाएको नयाँ नियम खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए।
ञसडक यातायातसमेत नपुगेको कर्णालीमा जहाज र हेलिकोप्टरलाई समेत हतोत्साही गर्नेगरी नियम ल्याइएको छ। सडक नि नहुने, हवाई सेवा नि नहुने भएपछि त्यहाँका जनता भोकभोकै बस्ने? उपचार नपाएरै मर्नुपर्ने?,’ बानियाँले प्रश्न गरे। प्राधिकरणले तत्काल नयाँ नियम सच्याउनुपर्ने उनको माग छ।
त्यस्तै माओवादी नेतृ भीमा केसी बन्जाराले प्राधिकरण नेतृत्वले कर्णालीमाथि दमन गरेको आरोप लगाइन्। जनताको हितलाई केन्द्रमा राखेर समस्याको तुरुन्त समाधान गर्ने मन्त्री किराँतीलाई आग्रह गरिन्।
प्राधिकरणले सडक नपुगेको दुर्गम ठाउँमा हेलिकोप्टरले सामान झुन्ड्याएर गर्ने कार्गो सिलिङ फ्लाइटमा समेत रोक लगाएको छ। यसको प्रभाव विकास निर्माणमा पनि परेको कर्णालीबासीको गुनासो छ। माओवादी केन्द्र कर्णाली प्रदेशका पर्यटन विभाग प्रमुख मनराज सिम्खडाले महानिर्देशक प्रदीप अधिकारीले कर्णालीलगायत दुर्गम क्षेत्रको विकासमाथि धावा बोल्नुका साथै कर्णालीबासीको जीवनमाथि खेलवाड गरेको बताए। ञकर्णालीको जहाज र हेलिकप्टरमाथि लगाइएको प्रतिबन्ध तुरुन्तै फुकुवा गरियोस्, नत्र त्यसको जिम्मेवारी डीजी अधिकारीले लिनुपर्नेछ,’ आक्रोशित सिम्खडाले भने ।
प्राधिकरणले कहिलेकाही हेलिकप्टरहरूले सुरक्षाकर्मीको समन्वय र निगरानीमा दुर्गम ठाउँमा उडान र रात्रि विश्राम गर्ने गरेकोमा अहिले बास बस्नको लागि एयरपोर्टमै पुग्नुपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ। यसले गर्दा दुर्गमका सेवाग्राहीलाई थप आर्थिक भार परेको उनको भनाइ छ। कर्णालीबासीले आक्रोश पोख्दैगर्दा महानिर्शेक अधिकारी भने निरीह बनेका थिए।
कार्यक्रममा जुम्लाकी सांसाद छिरिङ लामा, प्रदेश सांसद कलबहादुर हमाल, पूर्वमन्त्रीहरू मोहन बानियाँ, छ्क्कबहादुर लामा, दल रावल, कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायालगायत सहभागी थिए। अन्नपुर्ण पाेष्टमा खवर छ।