डाेल्पा, डोल्पाको जगदुल्ला गाउँपालिकामा १५ वर्षीया नावालिक माथि पटक पटक बलात्कार भएकाे घटना बाहिरिएकाे छ। नाबालिका ६ महिना गर्भवती भएकाे पाइएपछि उनीमाथि पटक पटक बलात्कार भएकाे रहस्य खुलेकाे हाे । घटना भएकाे ६ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो ।
गाउँपालिकाकाे वडा नं ६ स्थायी घर भएकी बालिका नाबालिकामाथि स्थानीय युवाहरुले पटक पटक बलात्कार गरेको ९ जनाकाे नाममा किटानी जाहेरी परिवारबाट जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले ३ जनालाइ पक्राउ गरिएको र अन्यकाे खाेजी कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका २ मध्ये दुई जनालाई जुम्लाबाट र १ जनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । ६ जना युवा फरार रहेकाहरुको खोजी कार्य तिब्र रुपमा भइरहेको प्रहरीले जनाएको छ । फरार भएका युवालाई पक्राउ गर्न सजिलो होस् भनेर नियन्त्रणमा लिइएका युवाहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।
उता बलात्कार भएकी नाबालिकाको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको छ । गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नको लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ । पीडित नाबालिकाको परिवार निम्न वर्गका साेझा भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियो । पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ । बलात्कृत बालिका कक्षा ७ मा अध्ययनरत छिन् ।
मुलुकी अपराध संहिताको २१९ को उपदफा २ मा व्यवस्था गरिएको १८ वर्षभन्दा कम उमेरकी बालिकालाई मञ्जुरी लिएर गरिएको शारिरिक सम्पर्कलाइ पनि जबर्जस्ती करणी मानिने व्यवस्था छ। साेहि अनुसार मुद्दा दर्ता हुने प्रहरीले जनाएकाे छ।